शिवश्रीको विवादले करिब एक वर्षदेखि लगानीकर्ताकाे सम्पत्ती बन्धक,नियामक निकाय मुकदर्शक

Sep 17, 2020 06:20 PM Merolagani



  • सुधा देवकोटा

सर्वसाधारणलाई शेयर निष्काशन गरेको झण्डै एक वर्ष भईसक्दा समेत शिवश्री हाइड्रोपावरको शेयर सूचिकृत भएको छैन। कम्पनीले निष्काशन गरेको शेयर सबै बिक्री नहुँदा कम्पनी र प्रत्याभूतिकर्ताहरु (मुक्तिनाथ क्यापिटल, सीआईबीएल क्यापिटल) बिच विवाद बढेपछि सूचीकृत हुन ढिलाई भएको हो।

केही नाफा कमाइन्छ कि भन्ने आशामा आईपीओ खरिद गरेका लगानीकर्ताहरुको सम्पत्ति यसरी बन्धक भएको अवस्थामा पनि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड मुकदर्शक बनेर बसेको छ।

कम्पनी र आईपीओ प्रत्याभूतिकर्ताहरु बीच उत्पन्न विवादलाई समाधान गर्नको लागि बोर्डको कुनै भुमिकाले निकास पाउन सकेको छैन। शिवश्री हाइड्रोपावरको शेयर सूचीकृतको सम्बन्धमा बोर्डसँग जिज्ञासा गर्दा पटक पटक कम्पनीको शेयर सकार्नको लागि प्रत्याभूतिकर्ताहरुलाई पत्राचार गरेको भनेर पूर्व तयारी उत्तर दिने गरेको छ। करिब १ वर्षकाे अवधिमा बाेर्डले न त कम्पनीलाइ कारवाही गरेकाे छ न त प्रत्याभुतकर्ताहरूलाइ नै केही कारवाही गरेकाे छ। लगानीकर्ताहरूकाे सम्पत्ती यति लामाे समयसम्म बन्धक हुँदा पनि कुनै ठाेस कदम चाल्न नसक्ने नियमक निकायबाट लगानीकर्ताहरूले के अपेक्षा गर्ने? धिताेपत्र बजार विकासकाे के अपेक्षा गर्ने?

सर्वसाधारण लगानीकर्ताको लगानीको सुरक्षा तथा रक्षक बन्नु पर्ने बोर्डले उल्टै कमजोर रेटिङ्ग प्राप्त कमजोर हाईड्रोपावर कम्पनीहरुलाई आईपीओ निष्काशनको अनुमति दिएर सर्वसाधारणको लगानी बन्धक बन्दा समेत कुनै ठोस कदम चाल्न नसक्नु बाेर्डकाे असक्षमता हाे कि लापरवाही? आफ्नो नियमनमा रहेको कम्पनी र प्रत्याभूतिकर्ताहरु बीच उत्पन्न समस्या तत्काल समाधान गरी सर्वसाधारणको लगानी डुब्नुबाट बचाउनु पर्नेमा यहाँ बोर्ड पत्राचार गरेकाे बहाना तेर्स्याउँदै आएकाे छ।

सर्वसाधारणले खरिद नगरेर बाँकी रहेको शेयर प्रत्याभूतिकर्ताले सकारेपछि छिट्टै सूचीकृत हुने बोर्डकाे जवाफ सुन्न थालेकाे पनि ६ महिनाभन्दा बढी बितिसकेकाे छ। तर, अहिलेसम्म न त कम्पनी र प्रत्याभुतिकर्ता बीच वार्ताकाे खबर आएकाे छ न त बाेर्डले कुनै ठाेस कदम चालेकाे देखिएकाे छ।

प्रारम्भिक निष्काशनमा बिक्री नभएको शेयर आफूले लिने बचन गरीसकेको हुँदा प्रत्याभुतकर्ताहरुले शिवश्री हाइड्रोपावरको शेयरको शेयर सर्कान पर्ने धितोपत्र बोर्डका सह प्रवक्ता रुपेश केसीले बताउँछन्। उक्त कम्पनीको शेयर प्रत्याभूत गर्ने सम्बन्धमा सरोकारवालाहरु सबैलाई बोलाएर उत्पन्न समस्यालाई छिट्टै समाधान गर्न दुवै पक्षलाई भनेको केसीले बताएका छन्।

यद्यपि, कम्पनी र प्रत्याभुतकर्ता बीच देखिएको विवाद भने तत्काल समाधान हुने छाँट देखिदैन। प्रत्याभुतकर्ताहरु कम्पनीहरुले शेयर निष्काशन गर्नु पूर्व बाढीले आयोजनामा पु¥याएको नोक्सानीबारे कम्पनीले क्यापिटलहरुलाई कुनै जानकारी नदिएका कारण सो शेयर सकार्न आफूहरु बाध्य नभएका बताउँदै आएका छन्।

बाढी पहिरोले निमार्णाधिन आयोजनामा करिब ९० प्रतिशत क्षती हुँदा समेत नियतबस जानकारी नगराएको प्रत्याभुतीकर्ताहरुको आरोप छ। जसको कारण देवानी संहिता २०७४ अनुसार आफूहरु शेयर खरिद गर्न बाध्य नभएको तर्क प्रत्याभुतकर्ताहरूले दिँदै आएका छन्।

आयोजनामा क्षती हुँदा पनि कम्पनीले पर्याप्त जानकारी नदिएको हँदा आफूहरुले मात्र असिमित जोखिम मोलेर त्यस्तो कम्पनीको शेयर प्रत्याभुत गर्नुपर्ने बाध्यता नरहेको उनीहरुको भनाई छ।

आईपीओ निष्काशन गर्नु ७ दिनअघि प्रकाशित विवरणपत्रमा प्रत्याभूतिकर्ताहरुले कुनै सवाल नउठाएको र कम्पनीको शेयर बिक्री नभएर आफूहरुले प्रत्याभूत गर्ने समयमा विभिन्न समस्या देखाउँदै पछि हट्न नमिल्ने बोर्डका सह– प्रवक्ता केसीको भनाई छ।

कुनै पनि कम्पनीहरुले सर्वसाधारणमा प्राथामिक शेयर निष्काशन हुने समयसम्ममा विभिन्न चरणको परीक्षण भएर मात्र सर्वसाधारणका लागि शेयर खरिदका लागि बिक्री खुल्ला हुन्छ। त्यसैको आधारमा साधारण लगानीकर्ताले पनि कम्पनी रेटिङ्ग, धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न दिएको स्वीकृती, प्रत्यभुतीकर्ताहरु र बिक्री प्रबन्धकले बनाउने विवरणलाई हेरेर नै लगानीको योजना बनाएको हुन्छन्।

यसरी विभिन्न चरणपार गर्दै सर्वसाधारणलाई शेयर बिक्री गरिसकेको कम्पनीको शेयरमा प्रत्याभुत हुने सम्बन्धमा उत्पन्न विवादले नेपालको धितोपत्र बजार प्रतिको विश्वसनियता माथि नै ठूलो प्रश्न उठेको छ। धितोपत्र बजारको सुधार यसैसँग सम्बन्धित रहेर काम गर्ने संस्थाहरु बीचमा नै देखिएको विवादले शेयर बजारमा एउटा नराम्रो संस्कार बस्ने होकी  भन्ने खतरा बढेको छ। 

प्रत्याभुतकर्ताहरुले भने जस्तो कम्पनीले झुट्टा विवरण पेश गरेको भए के हुन्छ?

नेपाल धितोपत्र बोर्डले यदि कुनै कम्पनीले आफ्नो कम्पनीको बारेमा झुट्टा विवरण बनाएर पेश गरेको रहेछ भने त्यसको लागि कानूनी उपचारको व्यवस्था पनि गरिएको छ।

धितोपत्र ऐन २०६३ अनुसार झुट्टो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व अनुमान सम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने, बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने, र बदनीयत साथ झुट्टा वा भ्रामक विवरण, प्रकाशित गर्नेलाई सजाएको व्यवस्था गरिएको छ।

धितोपत्र ऐनमा कुनै विवरण झुट्टो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद बिक्री गर्न उत्साहित गर्न नपाईने व्यवस्था छ।

यदि त्यस्तो गरेको पाइएमा यस्तो काम गर्ने कम्पनी वा व्यक्तिलाई एक लाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। यदि उक्त कारोबारबाट कसैलाई हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत सम्बन्धित कम्पनीले नै भरपाई दिनुपर्ने धितोपत्र ऐनमा व्यवस्था छ।

कम्पनीले शेयर निष्काशन तथा बाँडफाँड कहिले गरेको थियो?

शिवश्रीले २०७६ असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। कुल शेयरमध्ये ७ लाख २० हजार कित्ताका लागि आवेदन परेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये २६ लाख ३० हजारभन्दा बढी शेयर बिक्री हुन बाँकी नै छ।  




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।