के १० कित्ते नीति परिवर्तन गर्ने बेला भएकै हो? के भन्छन लगानीकर्ता?

Sep 24, 2020 08:46 AM Merolagani



कुनै पनि कम्पनीले निष्काशन गरेको आइपीओमा लगानीकर्तालाई न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्ने गरिएको छ। थोरै पूँजी भएका कम्पनीहरुले जारी गर्ने आइपीओमा लगानीकर्ताले १० कित्ता शेयर पाउन पनि गाह्रै छ। 

अहिले १९ लाख बढी डिम्याट खाता खुलिसकेका छन् भने आइपीओमा ६ लाख भन्दा धेरै लगानीकर्ताले आवेदन गर्न थालेका छन्। आइपीओमा आवेदन गर्ने लगानीकर्ता बढ्दै गएका छन् । सबै लगानीकर्तालाई १० कित्ता शेयर समेत नपर्ने भएकोले उक्त १० कित्ते नीतिलाई हटाउनुपर्ने आवाज एकथरी लगानीकर्ताले उठाउन थालेका छन्। 

तर केहि लगानीकर्ता भने १० कित्ते नीतिले पूँजी बजारको दायरा बढाएको र आम सर्वसाधारणलाई समेत केहि आम्दानी गर्ने स्रोत भएको कारण यसलाई हटाउन नहुने पक्षमा छन्।

दोस्रो बजारमा पनि १० कित्ता शेयरले धेरै कम्पनीको शेयरमूल्यमा अत्याधिक उतारचढाव आउने गरेको छ। ठुलाे पूँजी भएकाे कम्पनीमा थेरै कित्ताले शेयरको भाउ तल माथि भएको कारण दोस्रो बजारमा समेत न्युनतम ५० कित्ता शेयर कारोबार गर्ने व्यवस्था गर्नुपर्ने केहि लगानीकर्ताहरु बताउछन्।

शेयर बजारमा लगानीकर्ताको संलग्नता बढाउन धितोपत्र बोर्डले न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था गरेको छ। १० कित्ते प्रबृतिले लगानीकर्ताको संलग्नता बढाउन सहयोग पुर्याएको भए पनि वर्षै अघि गरिएको व्यवस्थामा अब बहस गर्नुपर्ने बेला आएको नेपाल शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउछन्। "धेरै वर्ष अघि गरिएको व्यवस्था अहिलेको अवस्थामा ठिक छ कि छैन। यसको राम्रो र नराम्रा पक्षहरु के-के हुन यसमा बहस चलाउनुपर्ने बेला भएको छ।" उनले भने।

बोर्डले बढी भन्दा बढी लगानीकर्ताकाे शेयरमा सहभागिता होस र बहुसंख्यक लगानीकर्ताको संलग्नता होस भनेर १० कित्ताको नीति अघि सारेको थियो। यसकै कारण समेत अहिले प्राथामिक बजारमा शेयर भर्ने लगानीकर्ता दिन प्रतिदिन बढ्दै गएका छन्। अहिले आइपीओ निष्काशन गर्ने कम्पनीहरुमा ६ लाख बढी लगानीकर्ताले आवेदन गर्न थालेका छन्। थोरै पूँजी भएका कम्पनीहरुले आइपीओ जारी गर्दा लगानीकर्तालाई १० कित्ता शेयर पनि गोलाप्रथाबाट वितरण गर्ने गरिएको छ। पछिल्ला केहि उदाहारण हेर्ने हो भने लगानीकर्ताले १० कित्ता भन्दा धेरै शेयर हात पार्न सकेका छैनन्।

आजभन्दा २० वर्ष अगाडि लगानीकर्ता २५ हजार मुस्किलले हुने बेलामा राखिएको १० कित्ताको नीति अहिले १९ लाख लगानीकर्ता पुगिसक्दा पनि निरन्तरता हुनुले कुनै अर्थ नराख्ने एक लगानीकर्ता बताउछन्। अब यस व्यवस्थालाई विस्तारै हटाउनुपर्ने र न्युनतम ५० कित्तामा सिफ्ट हुनुपर्ने ती लगानीकर्ताकाे भनाइ छ ।

यता नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार भने १० कित्ते प्रवित्ति ठिक भएको र यसलाई परिवर्तन गर्न नहुने बताउछन्। १० कित्ताको प्रबृत्तिले शेयर बजारको दायरा बढाउन सहयोग पुर्याएको उनको विश्लेषण छ।

हरेको नेपालीको हातमा शेयर होस भनेर ल्याइएको नीतिले आम नागरिकको आम्दानी केहि बढेको र जिवन स्तर उकास्न केहि सहयोग पुगेकाे उनको भनाइ छ।

"१० कित्ता दिँदा कस्को टाउको किन दुख्यो र? १० कित्ता शेयर दिएर त्यसको भाउ केहि बढ्यो भने उनीहरुलाई पनि आम्दानीको बाटो हुन्छ," उनले भने।

अहिले दोस्रो बजारमा पनि १० कित्ताले शेयरको भाउ धेरैतल माथि हुने गरेको भन्दै लगानीकर्ताहरु असन्तुष्टि ब्यक्त गर्दै आएका छन्। तर नियामक निकायहरुले नै न्युनतम १० कित्ता कारोबार गर्न पाउने व्यवस्था गरेकोले आइपीओमा १० कित्ता शेयर नदिए पनि दोस्रो बजारमा १० कित्ता शेयरले मूल्य घटबढ हुने उनले बताए।

"धिताेपत्र बाेर्डकाे नीति तथा कार्यक्रममा जानेको बुझेकै मान्छेहरुले नीति ल्याएको हो," उनले भने "अहिले बजारका ठूला बढा लगानीकर्ताले यो नीतिको विरोध गरेका हुन्। आम लगानीकर्ताले यो नीतिलाई राम्रो मानेका छन्। यो व्यस्थालाई हटाउनु हुँदैन।"




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।