पिपुल्स पावरको आईपीओमा आवेदन दिनु अघि कम्पनी कस्तो छ ? हेरौं

Aug 16, 2022 06:02 AM Merolagani

पिपुल्स पावर लिमिटेडले आज मंगलबार (साउन ३१ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात एक लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने २२ लाख ९४ हजार ६८२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड २६ लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ६ करोड ३२ लाख ६० हजार रुपैयाँ र सर्वसाधारणलाई २४ करोड ६७ लाख ४० हजार रुपैयाँ गरी ३१ करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा भदौ ५ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ १४ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा नेपाल बंगलादेश क्यापिटल र सिभिल क्यापिटल लिमिटेड रहेका छन् ।

औषत जोखिम रहेको जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

केयर नेपालले कम्पनीको आईपीओलाई २४ मे २०२२ मा रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्ष अर्थात २७ अप्रिल २०२३ सम्म कायम रहन्छ ।

कस्तो कम्पनी हो?

पिपुल्स पावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम स्थापित भएको छ । नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्ने र यस कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता बिस्तार गर्ने उदेश्यले २०७३ माघ १३ गते पव्लिक लिमिटेड कम्पनीमा दर्ता भई पिपुल्स पावर लिमिटडको नाममा कारोबार संचालन गर्दै आएको छ ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २, खुर्सानिटारमा रहेको छ । कम्पनीको जलविद्युत उत्पदान केन्द्र भने इलामको इलाम नगरपालिका वडा नं. १ र ४ मा रहेको छ ।

कम्पनीले ४.९६ मेगावाट क्षमताको पुन–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण सम्पन्न भइसक्दा आयोजनाको कूल लागत ९५ करोड ६ लाख ६९ हजार रुपैयाँ हुने र प्रति मेगावाट औसत लागत १९ करोड १६ लाख हुने अनुमान गरेको छ ।

साथै साधारण लगानी फिर्ता हुने अवधि ८.०५ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १४.६६ वर्ष रहेको छ ।

आईपीओ जारी गर्नुको उदेश्य

कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माण तथा विकासको लागि बैंकसँग सम्झौता भई लिएको ऋण चुक्ता गर्न तथा सर्वसाधारणलाई शेयरमा लगानी गर्ने अवसर दिन आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत र सर्वसाधारणलाई ३९ प्रतिशत गरी कुल ३१ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो ।

आईपीओ निष्काशन गरेर संकलन भएको ३१ करोड रुपैयाँ मध्ये ४ करोड रुपैयाँ बैंकबाट लिएको ब्रिज ग्याप भुक्तानी गर्न र २७ करोड रुपैयाँ बैंकबाट लिएको दिर्घकालिन कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

दुई वर्षमा सञ्चित नाफा ७ करोड माथि पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ७ करोड २० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनी १ करोड ६२ लाख रुपैयाँ नोक्सनीमा रहेको थियो ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै गत आर्थिक वर्षमा भने कम्पनी १ करोड ९१ लाख रुपैयाँ नोक्सानी पुगेको थियो ।

यस्तै आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ३९ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ २४ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ४६ पैसा नोक्सनीमा रहने प्रक्षेपण गरेको छ ।

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी ६३ करोड २६ लाख रुपैयाँ र जारी पूँजी ३२ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको चुक्ता पूँजी पनि ३२ करोड २६ लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ६ करोड ३२ लाख ६० हजार रुपैयाँ र सर्वसाधारणलाई २४ करोड ६७ लाख ४० हजार रुपैयाँ गरी ३१ करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको अधिकृत पूँजी ६५ करोड रुपैयाँ र जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँ रहेको छ ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।

सञ्चालक समिति को को छन्?

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालनक १ जना गरी ७ जना सञ्चालक समिति रहने व्यवस्था छ ।

हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट ५ जना सञ्चालकहरु मात्रै रहेका छन् ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीले सर्वसाधारणको प्रतिनिधित्व हुने गरी २ जना र थप एक जना विषेशज्ञ सञ्चालक चयन गर्नेछ । सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।

कम्पनी सञ्चालक समितिको अध्यक्ष भरत बहादुर खत्री रहेका छन् । यस्तै सञ्चालक समितिमा विरेन्द्र बहादुर न्यौपाने, टंकराज अर्याल, रमन अग्रवाल र सन्तोषराज नेपाल रहेका छन् ।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय वा सेवाको वृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने चरणवद्ध रणनीति बनाएको छ ।

कम्पनीको मूख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने योजना बनाएको छ ।

यसको लागि कम्पनीले नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्नेछ ।

यस्तै कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो लाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि ब्यवसायिक रुपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने रणनीति समेत बनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।