सेयर बजारमा आधा भन्दा बढी कम्पनीको मूल्य एक बर्ष अगाडि भन्दा सस्तो, के यो लगानीको अवसर हो ?

Sep 25, 2022 07:39 AM merolagani

तिलक कोइराला ।

सेयर बजार घट्यो, लौ न बर्बादै भईयो भन्दै हाहाकार मच्चिरहेको बेला बजारमा अनेक खालका लगानीका संभावनाहरु पनि देखा पर्छन ।

वास्तवमा लगानी गर्ने संभावना खोज्ने नै यस्तै हाहाकारको बेला हो । सेयरको मूल्य बढेर हाईहाई भएको बेला त सेयर फाईदामा बेचेर लगानी झिक्ने हो । यद्यपी लगानी गर्ने र झिक्ने भन्ने कुरा सम्बन्धित लगानीकर्ताको लगानी रणनीति र कौशल, स्वतन्त्र अध्ययन र निर्णय, जोेखिमबहन क्षमता, आबश्यकता, चाहना, बजारको अबस्था अनुसार हुनु जरुरी छ । यसमा अरुको लहै लहै एकदम हानिकारक छ ।

अहिले सेयर बजारमा कारोबार भईरहेका २२९ कम्पनी मध्ये आधा भन्दा बढीको मूल्य एक बर्ष भन्दा अगाडिको सस्तो मूल्यमा झरेको छ । यसमा १४ वटा बाणिज्य बैंक पनि छन् । यी मध्ये ६ वटा बाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा तल झरेको छ । स्टान्डर्ड चार्टड, नविल, एनएमबी, सानिमा जस्ता बैंकहरुको मूल्य पनि सस्तिएर एक बर्ष अघिकै दाममा आएका छन् । कतिपय बाणिज्य बैंकको सेयर मूल्य त प्रति सेयर नेटवर्थकै हाराहारीमा झरिसकेका छन् ।

चिलिमे, सानिमा माई, बुटवल पावर, अपी, अरुण भ्याली, माथिल्लो तामाकोशीसहितका हाईड्रोपावरहरुको मूल्य पनि एक बर्ष भन्दा अघिकै मूल्यमा खसिकेको छ । कतिपयको मूल्य त एक बर्ष भन्दा अगाडिको तुलनामा तीन गुणाले घटिसकेको छ ।

सर्बसाधारण लगानीकर्ताहरु कम फस्ने र ढुक्कको प्रतिफल पाईने सामुहिक लगानी कोष र बैंकहरुको ऋणपत्रहरुको मूल्य त आईपीओको भाउ भन्दा पनि सस्ता भएर गएका छन् । आबेदन खुल्दा १० रुपैयाँमा मुस्किलले किन्न पाईने सामुहिक लगानी कोषका ईकाईहरु अहिले दोस्रो बजारमा ७ रुपैयाँ ३० पैसासम्ममा किन्न पाईन्छ । १६ वटा सामुहिक लगानी कोषका ईकाईहरु १० रुपैयाँ भन्दा तल किन्ने अवसर मज्जाले छ । यो भनेको ती सामुहिक कोषहरुको प्रति ईकाई खुद मूल्य अर्थात नाभ भन्दा सस्तो हो । जस्तो कि मेगा म्युचुअल फण्ड १ को बजार मूल्य ७ रुपैयाँ ३० पैसा छ भने उसको गत साउनको नाभ ८ रुपैयाँ ६४ पैसा छ ।

निश्चित अवघिसम्म तोकिएको ब्याज पाईने गरी बिक्री गरिएका बैंकहरुको ऋण पत्र अर्थात डिबेन्चरहरु अहिले शुुरुको लागत मूल्य भन्दा २४० रुपैयाँ भन्दा तल किन्न पाईन्छ । यदि यही ऋण पत्र शुरुको बिक्रीमा आउँदा किनेको भए प्रति ईकाई १०१० भन्दा तलको लागतमा किन्न सकिने थिएन । एकातिर कम्तिमा ८ प्रतिशत दरले ढुक्कको ब्याज ६ । ६ महिनामा पाईने र अर्कोतर्फ ईकाईको खरिद बिक्री मूल्य बढ्यो भने पूँजीगत लाभ पनि हुने खालका कम्तिमा १२ वटा डिबेन्चरहरु सस्तोमा किन्ने अवसर अहिले दोस्रो बजारमा छ ।

कयौं बीमा कम्पनीहरुको सेयर मूल्य पनि उल्लेखनीय रुपमा घटेर एक बर्ष भन्दा अगाडि कै भाउमा आएका छन् । नेको, शिखर, नेपाल लाईफ जस्ता प्रतिष्ठित कम्पनीहरुको सेयर पनि एक बर्ष भन्दा अगाडिकै सस्तो मूल्यमा पाईन्छ ।

बजारमा महंगो सेयर मूल्य भएका लघुवित्तहरुको सेयर मूल्य पनि उल्लेखनीय रुपमा घटेर कयौंको मूल्य एक बर्ष भन्दा अगाडिकै तहमा आएका छन् । त्यस्तै तीन वटै होटलहरुको सेयर मूल्य एक बर्ष भन्दा अगाडिकै मूल्यमा छन् ।

यसरी हेर्दा बजारमा लगानी गर्नेहरुका लागि अवसर आएको पक्कै मान्नुपर्छ तर सेयरको मूल्य धेरै घटेको छ भन्दैमा खराब कम्पनीहरुको सेयरमा लगानी भने पछुताउपूर्ण हुने गर्छ । धेरै मूल्य घटेकाहरु मध्येमा पनि संस्थागत सुशासन भएको, प्रति सेयर नेटवर्थ धनात्मक भई लाभांश वितरण गरिरहेका वा गर्नसक्ने, बृद्धि र बिकास हुँदै गरेका, सेयरको आपुर्ति तुलनात्मक रुपमा कम रहेका, सहजै किनबेच हुनसक्ने खालका कम्पनीहरु छनौट गर्नु राम्रो हुन्छ । अहिले कम्पनीहरुले घोषणा गरेका लाभांश दर मात्रै हेरेर निर्णय गरियो भने एकांकी निर्णय हुनसक्छ तर भबिष्यमा हुने पूँजीगत लाभलाई पनि ध्यान दिनुपर्छ ।

सेयरको मूल्य अझै घटोस वा कतिसम्म घट्दो रहेछ भनेर खरिद गर्न चाहनेले हेर्नु त राम्रो हो तर न्युनविन्दु कुन हो भनेर पत्ता लगाउनु असंभव छ । कतिपय लगानीकर्ता त त न्युन विन्दु खोज्दाखोज्दैै सस्तो मूल्यमा सेयर किन्न चुक्छन् र सेयरको मूल्य बढ्न थालेपछि र तीब्र रुपमा बढेपछि महंगोे मूल्यमा पुगेर जाकिन्छन् । महंगो मूल्यमा किन्नेहरु लामो समयसम्म पछुताएर बस्छन् ।

सेयरमा दीर्घकालीन लगानी गर्ने कि सेयरको ब्यापार गर्ने भन्ने कुरा लगानी गर्नुपुर्व नै यकिन गर्नुपर्छ । लाभांश र पूँजीगत लाभ दुबै हेर्ने कि पूँजीगत लाभ मात्रै हेर्ने भन्ने कुरा पनि महत्वपूर्ण छ । लगानीयोग्य रकमको लागतको आधारमा कसरी जाने भन्ने कुरा निक्यौल गर्नसकिन्छ । सेयरको ब्यापार गर्नेहरु अहिले जस्तो निराशा छाएको बजारमा प्रबेश गर्न हिच्किचाउँछन् किनभने उनीहरु ब्याजमा पैसा लिएर बजारमा ब्यापार गर्न आउने हुँदा यस्तो नैराश्य बजारमा लगानी गरेर फाईदा हुन्न, सावाँमै घाटा खानुपर्छ र ब्याज तिर्ने रकम नहुँदा झन् समस्या पर्छ तर आफ्नै वा कम लागतको रकमले लामो समयका लागि लगानी गर्नेहरुका लागि घटेको मूल्यमा सेयर उठाउनु अवसर नै हो । अब बजार तल जान्छ कि माथि जान्छ कसैले ठेक्का लिन नसक्ने हुँदा कथित बजारिया विश्लेषकहरुको भरपर्नु बेकार छ ।

लगानीयोग्य रकमको अभाव, ब्याज दरको प्रभाव, चुनावी माहौल, चाडपर्वको घेराबन्दी, पूँजी बजारमा हुँदै गरेका सुधार र बिस्तारका कामहरु, लगानीकर्ताको मनोबिज्ञान, माग र आपुर्तिमा प्रभाव पार्ने अन्य कुराहरु समेत हेरेर विवेकपूर्ण लगानी गर्नु आबश्यक छ । कुनै ग्यारेन्टी नभएको र जोखिमै जोखिमले भरिएको बजार नै पूँजी बजार भएकाले यहाँ आउने प्रत्येकले बजारको संबेदनशिलता ख्याल गर्नेपर्छ ।

(लेखक पूँजी बजार अभियन्ता हुन्)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।