‘ब्रा पेण्टी बेच्दा लाज लाग्दैन ?' भन्थे,अहिले युवाहरु आफ्नी प्रेमिकाकालागि उपहार दिन भित्री कपडा किन्न आइपुग्छन्

Mar 30, 2023 06:55 PM Merolagani

ज्याेति शाह

२ वर्ष अघि झम्सिखेलमा रहेको "ए मैचा द लञ्जरी स्टोर"मा एक वृद्ध छिरे । पसलमा बसिरहेका दुई युवतीलाई उनले सिधै भने,"तिमीहरुलाई लाज लाग्दैन ? ब्रा पेण्टी बाटोमा यसरी नराख । हामीलाई अप्ठ्यारो हुन्न ?" ती युवतीहरु अवाक् भए ।

ए मैचाका संचालिकाद्धय रुबिना र स्मारिका श्रेष्ठ त्यो घटना सम्झेर हाँस्छन् । कुनै समय यस्तो भनाइ खेपेका यी नन्द भाउजूको पसलमा अहिले भने किशोरहरु आफ्नी प्रेमिकाकालागि भ्यालेण्टाइन्स डे, एनिभर्सेरी वा जन्मदिनमा उपहार स्वरुप भित्री कपडा किन्न आइपुग्छन् ।"हामीले अपराध नै गरेको जस्तै गरी कतिले शंकाको दृष्टिकोणले पनि हेर्नुभयो," संचालिका स्मारिका भावुक हुँदै मेरोलगानीसँग भन्छिन् । छेवैमा बसेकी स्मारिकाकी नन्द रुबिना माहाैललाई हल्का बनाउँदै थप्छिन्, "तर अहिले टाइम चेन्ज भयो । कति जेन्स नै आफ्नो गल्फ्रेण्ड र वाइफकोलागि गिफ्ट किन्न आउनुहुन्छ ।"

पहिले भित्री वस्त्र भन्नासाथ सुस्केरा हालेर खुसुखुसु गर्ने,लुकेर खरिद गर्ने,नदेखिने ठाउँमा सुकाउने गरिन्थ्यो ।कसैले देख्छ कि भनेर डराउने र लुकाउने भित्री वस्त्रका विषयमा अहिले भने बिस्तारै समाज खुकुलो बन्दैछ । शहर बजारमा भित्री वस्त्रसहित डमीहरु पसलमा सजाइएका देखिन्छन् । समय बदलिएसँगै महिलाका भित्री लुगाहरु विभिन्न डिजाइन,रंग र ब्राण्डमा नेपालमा भित्रिन थालेका छन् । यसको माग पनि बढ्दो छ ।

"ए मैचा लञ्जरी स्टोर"ले महिलाहरुका आधुनिक लन्जरी बिक्री गर्दै आएको छ । विशेषगरी "ए मैचा" ब्राकोलागि चर्चित र विश्वासिलो मानिने संचाालिकाद्धयको भनाई छ ।

स्मारिका र रुबिनाले सुरुदेखि नै आफूले चाहे जस्तो सुहाउँदो र मिल्ने ब्रा भेट्दैनथे । साँच्चै नेपालमा शरीर सुहाउँदो ब्रा नभेटिने समस्या छ कि भनेर नन्द भाउजूको मनमा कुरा खेल्न थाल्यो । रुबिना भन्छिन्,"हामीले हाम्रो बडी र ब्रेस्ट अनुसार ब्रा पाउँदैनथ्यौ । यो कुरा हामीलाई खड्किइरहेको थियो । यहि अभावलाई पुरा गरौँ न भनेर लञ्जरीको व्यवसाय सुरु गर्ने सोच्यौँ । लकडाउनको समय थियो, हामी फुर्सदमा थियौँ । सुरु गरौँ न भन्ने भयो ।" उमेर पनि एउटै २६ बर्ष पुगेका नन्द भाउजुकाे यस बिषयमा कुरा पनि मिल्याे ।

"ए मैचा" नाम रुबिनाकी आमाले राखिदिएकी थिइन् । 'नेवारी भाषामा केटीलाई मैचा भनेर बोलाइने भएकाले केटीहरुकालागि खोलिएको स्टोरको "ए मैचा" सासु ममीले नाम राखिदिनु भयो,' स्मारिका खुलाउँछिन् ।

थान कपडाको व्यापार गरिरहेको बुवाको व्यवसाय सम्हाल्न रुबिनालाई मन परेन । उनी भन्छिन्, 'बुवाहरुले गरेको काम नै गर्नुपर्छ भन्ने छैन नि । नेपालमा लञ्जरीको धेरै ज्ञान थिएन । हाम्रा आमाहरुले नै सधैँ उस्तै खालको ब्रा पेण्टीहरुले लाउनुभयो । दाइलाई यस्ता कपडा चीनबाट कसरी मगाउने भन्ने बारेमा थाहा थियो । तर उहाँलाई पसल खोलेर बस्न अप्ठ्यारो भयो । महिला ग्राहकहरु पनि दाई भएको भए आउनुहुन्न थियो कि ? ब्याण्ड सानो र कप ठूलो भएको ब्राको माग त्योबेला बढी थियो र अहिले पनि छ ।'

'आफ्नो व्यवसाय आफ्नै हो । चाहे घाटा होस् वा नाफा । आफ्नो काममा प्रेसर होला तर चाहिएको समयमा पैसा चलाउन पाइयो,' रुबिना खुलेर भन्छिन् ।

खासमा यहाँ धेरैलाई आफ्नो कप साइजको बारेमा ज्ञान पनि थिएन । पहिला हामीलाई पनि खासै थाहा थिएन तर धेरै रिसर्च गरेपछि हामीाई केहि ज्ञान भयो। विशेषगरी ब्रा किन्दा नाप थाह पाउनुपर्छ । ब्याण्ड र कपको बारेमा थाहा पाउन जरुरी भएको रुबिनाको धारणा छ ।

१० लाख रुपैयाँको लगानी

१० लाख रुपैयाँबाट सुरु भएको थियो"ए मैचा"को स्टोर।"ए मैचा"मा हरेक भित्री कपडा अनलाईनमार्फत चीनबाट मगाउने गरिन्छ ।

"ए मैचा"मा ब्रा,पेण्टी,नाइट ड्रेस,स्विमिङ कस्टम, बिकीनी, पजामा सेट पाइन्छ । ग्राहकहरुको चाहना र रोजाइ अनुसारको राम्रा ब्रा र अण्डरवेयर पाउने संचालिका रुबिना र स्मारिका बताउँछन् । "क्वालिटी र कम्फर्टमा हामी कुनै कम्प्रमाइज गर्दैनौँ । अन्य ठाउँमा पाइने भन्दा डिजाइन पनि फरक हुन्छ । धेरै भेराइटिज पाउनुहुन्छ," ए मैचाका बारेमा रुबिना बताउँछिन् ।

नेपालमा पहिलो पटक एनामोरको ब्रा भित्राउने "ए मैचा" रहेको उनीहरू दाबी गर्छन् । यस स्टोरामा जुलियट,एनामोर,एन्को लगायत चीनका र युरोपियन ब्राण्डको ब्रा पाउने गरेको छ ।

प्राय ३० वर्षमाथिका महिलाहरु "ए मैचा"का ग्राहक छन् । किशोरीदेखि प्लस साइजको भित्री वस्त्रहरु पनि रुबिना र स्मारिकाले बेच्ने गरेका छन् । एच कप भएको ५० साइजसम्मको ब्रा उनीहरुले बिक्री गर्ने गरेको रुबिनाले बताइन् ।

"ए मैचा"बाट ३४ सी डी र डबल डी अत्यन्त बिक्री हुन्छ । '३८ भन्दा माथि भने खासै बिक्री हुँदैन । पछिल्लो समय लञ्जरी र कर्ड सेटको माग धेरै छ,'उनीहरु सुनाउँछन् ।

बेशी शहर,बिराटनगर,पोखरा,हटौंडा,धरान,काठमाडौंबाट ए मैचामा भित्री वस्त्रकालागि अर्डर आउने गर्छ । स्टोरमा नै भने बुढालिनकण्ठ, भक्तपुर, बौद्ध, किर्तिपुर र बनेपाका ग्राहकहरु पनि आउने गरेका छन् ।

रुबिना र स्मारिकाले यद्यपि अनलाइन मार्फत ब्राको अर्डर लिने गरेका छैनन् । 'ब्रा हामी अनलाइन बेच्दैनौँ । त्यसकोलागि स्टोरमै आउनुस् नै भन्छौँ । आफूलाई मिल्ने र सजिलो ब्रा पाउनलाई सकेसम्म अनलाइन नलिनुस्,' स्मारिका सुझाउँछिन् ।

३,९०० रुपैयाँसम्मको ब्रा बिक्री

ए मैचामा २५० रुपैयाँदेखि ७५० रुपैयाँसम्मको अण्डर वेयर पाइन्छ । यसैगरी,ए मैचाले ब्रा भने ३ हजार ९०० रुपैयाँसम्मको बेच्ने गरेको छ ।

यहाँ लञ्जरी २ हजार ९०० रुपैयाँको पाइन्छ भने पाइजामा सेट २ हजार ९५० देखि ३ हजार ५५० सम्मको पाइन्छ । 'यति तिर्नुभयो भने,तपाईँहरुले धेरै भेराइटिज पाउनुहुन्छ,'रुबिना सुनाउँछिन् । यसबाहेक जाडो मौसममा थर्मल सेट,पोलार सेट र लेगिंग्सहरु किन्न सकिन्छ ।

समय समयमा "ए मैचा"ले सेलमा पनि ब्रा तथा पेन्टी राख्ने गरेको छ । 'तर हाम्रोमा छुट पाउन चाडपर्व कुर्नुपर्दैन । हामी बेलाबेलामा सेल र अफरमा राख्छौँ ।' चैत १६ गते, बिहीबार पनि ए मैचाले १० प्रतिशत छुट दिएको थियो ।

तर "ए मैचा"मा खरिद गरेका भित्री कपडाहरु साट्न,फिर्ता गर्न भने पाइँदैन । यस्तै,"ए मैचा"मा बार्गेनिङ गर्न पाइँदैन । 'यहाँ फिक्स प्राइसमा किन्नुपर्छ । तर कुनै ड्यामेज भयो भने हामी एक्सचेन्ज गर्छौँ । उहाँहरुको पैसाको सदुपयोग हुनुपर्यो । हाम्रालागि नियमित ग्राहक बनाउनु नै प्राथमिकता हो,' स्मारिका बताउँछिन् ।

उनी थप्छिन्, 'हाम्रो हाइ क्लासलाई मात्र प्राथमिकता त होइन । हाम्रोमा जुन सुकै वर्गको पनि आउन सक्नुहुन्छ ।'

'राम्रो प्रोडक्ट भए पनि हामी अफोर्डबल रेटमा दिइरहेका छौँ । ३ वटा सस्तो किन्नुभन्दा राम्रो एउटा क्वालिटिको लाएर हेर्नुस्,' त्यसमा रुबिना थप्छिन् ।

'सस्तो हुने भए हरेक ब्राण्ड सस्तो हुन्थ्यो होला । हामी सस्तो र नराम्रो सामान ल्याउँदैनौँ र बेच्दैनौँ। थोरै र महंगो ल्याउने तर क्वालिटिको ल्याउने हाम्रो सोंच हो,'उनी सुनाउँछिन् । 'केहि ग्राहकहरुले २ वर्षसम्म ब्रा टिकेको हुँदा किन्नु नपरेको समेत भन्नुहुन्छ,' उनीहरु हाँस्छन् ।

'बहिर सस्तो पनि पाइन्छ तर क्वालिटीको नहोला । हाम्रोलागि बजारमा टिक्नु जरुरी छ,'उनीहरू प्रतिबद्ध सुनिन्छन् ।

दैैनिक २० पिस अर्डर

नन्द भाउजूले दिनमा औसतमा २० पिस ब्रा बेच्ने गरेका छन् । रुबिनाका अनुसार "ए मैचा"को व्यापार सदाबहार उस्तै हुने गरेको छ । यद्यपि गर्मीमा धेरै डिजाइनका र धेरै प्रकारका पाइने भएकाले केहि बढी हुने उनीहरु मान्छन् । ए मैचामा टिसर्ट ब्रा खोज्ने पनि धेरै छन् ।

'हामीले धेरै कमाएका छैनौँ । खर्च र लगानी मात्र उठाइरहेका छौँ । तरलता अभाव र मन्दीले गर्दा अहिले पहिले जस्ताे खासै आम्दानी पनि छैन,' स्मारिका खुलेर भन्छिन् । तर पनि चाहे लकडाउन होस् वा आर्थिक मन्दी आत्तिनु पर्ने अवस्था नआएको भन्दै उनीहरु सन्तुष्ट छन् ।'भगवानको कृपाले आत्तिनुपर्ने अवस्था आएको छैन,'दुबै हाँस्छन् । 'ग्राहकहरुको रेस्पोन्स राम्रो छ र हामी टिकिरहेका छौं,' स्मारिका ग्राहकहरुलाई पनि श्रेय दिन्छिन् ।

"ए मैचा"ले अब छिटै अर्को स्टोर खोल्दैछ । रुबिना योजना सुनाउँछिन्,'हामी छिटै नयाँ स्टोर खोल्न ठाउँ हेदैँछौँ । क्वालिटीका अझै राम्रो सामान थप्मा नै जोड दिन्छौँ ।' खासगरी,प्लस साइज महिला र पुरुषहरुका भित्री कपडाहरु थप्ने योजनामा यी दुई छन् ।

उनी थप्छिन्,'कपडा भन्दा पनि धेरै जरुरी हो भित्री कपडा ।अहिले महिला पुरुषकाे सामिप्यताकोलागि पनि कतिले किन्नुहुन्छ । अर्को पहिरन अनुसारको फरक फरक भित्री लगाइन्छ । अनि सरसफाइकोलागि पनि भित्रीमा ध्यान दिनुपर्दा डिमाण्ड पनि छ । '

यसैगरी, ए मैचामा शुद्ध सुतीको अण्डर वेयर पाइन्छ । स्मारिका भन्छिन् ,'अण्डरवेयरमा जहिले पनि कटन भएको लाउनुपर्छ र राम्रो क्वालिटीको लाउनुपर्छ। ए मैचामा आएपछि उचित सल्लाह र सुझाव दिन्छौँ । ग्राहकलाई सजिलो नभएसम्म हामी उहाँहरुलाई सहयोग गछौँ ।'

याे स्टाेर आइतबारदेखि शुक्रबार साढे १० बजेदेखि ७ बजेसम्म खुल्छ भने शनिबार २ बजेपछि मात्र खुल्ने गरेको संचालिकाहरूले जानकारी दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।