कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले कुल निष्काशनको ३ प्रतिशत अर्थात ४२ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले निष्काशन गरेको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि मंसिर २२ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट भएमा कुल १ लाख १४ हजार ८०० आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त हुनेछ।
औषत जोखिम जनाउने रेटिङ्ग
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। इक्रा नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।
इक्रा नेपालले कम्पनीलाई २०७९ माघ ६ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८० माघ २ गतेसम्म बहाल रहनेछ।
कस्तो कम्पनी हो?
कम्पनी ऐन, २०६३ बमोजिम स्थापित मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ विकास बैंक लगायत नेपालका सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले २०७५ सालमा स्थापना भएको पब्लिक कम्पनी हो।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३, बसुन्धारा, रिङ्गरोडमा रहेको छ। कम्पनीले आवश्यकता अनुसार स्वीकृति लिई अन्य स्थानहरुमा पनि रजिष्टर्ड कार्यालय सार्न वा शाखा कार्यालय विस्तार गर्न सक्नेछ।
कम्पनीले आफ्नो उद्देश्य अनुसार कृषक तथा कृषि व्यवसायिहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, विषादी, औजार उपकरण सहित अनुसन्धान, विकास, प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको कार्यहरु गरिरहेको छ। यसका साथै कृषि उत्पादनहरुको खरिद सुनिश्चितता गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरु पनि कम्पनीले गरिरहेको छ।
कम्पनीले आफ्नो आंशिक तथा पूर्ण लगानीमा निम्न सहायक कम्पनीहरुको स्थापना गरेको छः
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीका प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार यस विवरणपत्र मार्फत जारी पूँजीको २० प्रतिशत अर्थात १४ करोड रुपैयाँबराबरको प्रति शेयर मूल्य १०० रुपैयाँ अंकित दरका १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुको निमित्त छुट्टाइएकोमा सर्वसाधारणको समेत सहभागिता गराई लगानीको अवसर दिनु आईपीओ निष्काशनको मुख्य उद्देश्य रहेको छ।
यसका साथै देशको अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा रहेका कृषिमा सर्वसाधारणको लगानीलाई सुनिश्चित गर्न, सर्वसाधारणमा कृषि क्षेत्रको महत्व र यस क्षेत्रमा आवद्ध हुनको लागि अभिप्रेरित गर्न, कम्पनीको वस्तु तथा सेवाहरुलाई आम कृषक तथा उपभोक्तासम्मको पहुँचलाई सशक्तिकरण गर्न, कम्पनीको संस्थागत सुशासनलाई थप सबल बनाउँदै दिगो सेवा प्रवाह गर्न, कम्पनीको वित्तीय आवश्यकताको दायरालाई फराकिलो बनाउन तथा नीजि क्षेत्रको संस्थागत लगानीलाई आकर्षित गर्न पनि कम्पनीले आईपीओ जारी गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
कम्पनीले आईपीओ निष्काशन गरी संकलित रकममध्ये १० करोड रुपैयाँ कृषि सम्बन्धि उद्योगहरु स्थापनाका लागि जग्गा, उपकरण खरिद तथा संरचनाहरु निर्माण गर्न प्रयोग गरिनेछ। त्यसैगरी, बाँकी रहेको ४ करोड रुपैयाँ कम्पनीले कृषि सामाग्रीहरुको भण्डारण केन्द्र तथा कृषि अनुसन्धान सम्बन्धि फार्म उत्कृष्टता केन्द्रको स्तरोन्नति र परीक्षण सम्बन्धी ल्याब स्थापना तथा सञ्चालनका लागि प्रयोग गर्ने बताएको छ।
चालु आर्थिक वर्षमा करिब ६३ लाख सञ्चित मुनाफा कमाउने प्रक्षेपण
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ६२ लाख ७२ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ १८ पैसा पुग्ने प्रक्षेपण रहेको छ। पछिल्ला दुई आर्थिक वर्षमा कम्पनीको सञ्चित मुनाफा ऋणात्मक रहेको थियो।
![](https://images.merolagani.com/Uploads/Repository/638363505418530175.png)
कम्पनीले आगामी आर्थिक वर्षमा ५ करोड ६१ लाख सञ्चित मुनाफा आर्जन गरी प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३० पैसा पुर्याउने लक्ष्य लिएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ३९ पैसा रहने अनुमान गरिएको छ।
पूँजी संरचना कस्तो?
हाल कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी ७० करोड रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ।
आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ।
सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको संशोधित व्यवस्था अनुसार ६ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना रहने व्यवस्था रहेको छ।
कम्पनीको गत असोज ११ गते सम्पन्न सञ्चालक समितिको ६६ औँ बैठकको निर्णय अनुसार भरतराज ढकालले असोज १० गते कार्यकारी प्रमुखबाट दिएको राजिनामालाई स्विकृत गर्दै अर्को व्यवस्था नभएसम्मको लागि नायब महाप्रबन्धक रामशरण तिमल्सिनालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो।
कम्पनीका अन्य सञ्चालकहरुमा सिताराम काफ्ले, तुलसीराम ढकाल, शिखा मास्के, मोहन कुमार बस्नेत र गोविन्द बहादुर राउत रहेका छन्। कम्पनीको संस्थापक कम्पनी भने मुक्तिनाथ विकास बैंक लिमिटेड रहेको छ।
भावी योजना तथा रणनीति
उत्पादन तथा सेवाहरु विविधिकरण गर्ने, कृषिसंग सम्बन्धित विभिन्न समाग्रीहरु, उत्पादनका साधनहरुको अनुसन्धान तथा विकास गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धिको लागि आवश्यक बिउबीजन, मलखाद, रोग किरा व्यवस्थापन, औजार उपकरण इत्यादिको दीर्घकालिन रुपमा प्रबन्ध गर्ने, कृषिको क्षमता विस्तार गर्ने तथा उपयुक्त अन्य स्थानमा शाखा खोली वा व्यवसायिक साझेदारी गरी सञ्चालन गर्ने योजना कम्पनीको रहेको छ।
त्यसैगरी, कम्पनीले भावि योजनालाई व्यवस्थित गर्नको लागि “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण गर्ने” उद्देश्य सहित निम्न अनुसारको रणनीतिक योजना “भिजन २०८५” तयार गरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638363506322148193.png)
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्से ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ८१ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ७६ रुपैयाँ ८१ पैसादेखि २३० रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।