चार दिनमा शेयर बजारले सेन्चुरी मार्‍यो, तल्लो बिन्दुबाट ३% को वृद्धि, के यो बुलको संकेत हो ?

Jul 02, 2025 05:43 PM merolagani



सुवास निरौला

गएको आइतबारदेखि बढ्न सुरु गरेको शेयर बजारले चार दिनमा झण्डै सेन्चुरी मारेको छ। गत साता बिहीबार २५९५.७४ को तल्लो बिन्दुमा झरेको सूचक बुधवार २६९४.८२ अंकमा उक्लिएको छ। जुन ९९.०८ अंकको वृद्धि हो। प्रतिशतमा हेर्दा सूचकले गएको चार दिनमा ३.८१ प्रतिशतको बृद्धि कायम गरेको छ।

बजारले छोटो समयमा  सेन्चुरी मारेपछि केही लगानीकर्ताले यसलाई बुल रन सुरु भएको संकेतकाे रुपमा लिनु पर्ने बताएका छन्। किनकि नेपालको शेयर बजारमा घट्न निक्कै समय लागे पनि बढ्न भने निक्कै छोटो समय लाग्ने गरेको छ। तीन चार महिना लगाएर घटेको बजार एक महिनामै बढेका धेरै उदाहरण छन्। तर पछिल्लो समय भने बजारले जम्मा तीन प्रतिशतको मात्रै बृद्धि कायम गरेकोले बजार बढ्ने अझै स्पेस बाँकी रहेको देखिन्छ। चार दिनमा बजारले बढेर झण्डै सेन्चुरी मारे पनि कतिपय कम्पनीको मूल्य भने अझै पनि तल्लो बिन्दुमा नै रहेका छन्। जसले गर्दा ती कम्पनीमा समेत चार्म आउन बाँकी रहेकोले पनि बजारमा बढ्ने स्पेस अझै रहेको बताइएको छ।

दोस्रो बजारले १० प्रतिशतको वृद्धि कायम गर्नु पूर्व बुल रन सुरु भएको भन्ने आधार हुँदैन। तर जसरी अहिले बजार बढिरहेको छ। त्यसले भने संकेत गरिरहेको बुझ्नु पर्ने शेयर बजारका जानकारहरू बताउँछन्। तल्लो बिन्दुबाट १० प्रतिशत बढेपछि मात्रै बजारले औपचारिक रुपमा बुल रन सुरु गर्ने छ।    

शेयर बजार बढ्दो लयमा जाँदै गर्दा लगानीकर्ताले सिजन सुरु भएको रुपमा लिन थालेका छन्। नेपालको शेयर बजार जुलाई महिनामा बढ्दो लयमा रहने गर्छ। गएको वर्ष पनि बजार जुलाई महिनाको पहिलो तारिखबाटै बढ्न सुरु गरेको थियो। जुन वृद्धि अगस्ट महिनाको १५ तारिखसम्म निरन्तर रहेको थियो। लगभग डेढ महिना बजार बढ्दो लयमा थियो। यसपटक पनि जुलाइ सुरु हुनु भन्दा अगावैदेखि बजारले बढ्दो लय समाएकोले लगानीकर्ताले यसलाई सिजन सुरु भएको रूपमा लिएका हुन्।

बजेट आउनु पूर्व र मौद्रिक नीति पूर्व दोस्रो बजारमा चमक देखिने गरेको छ। अहिले लगानीकर्ताले मौद्रिक नीतिलाई लक्षित गर्दै शेयर खरिद गरिरहेको बताइएको छ। “हरेक वर्ष जुलाई महिना शेयर बजारको लागि निक्कै महत्त्वपूर्ण हुन्छ। सोही क्रम यसपटक पनि दोहाेरिदै गरेको देख्न सकिन्छ। यति बेला लगानीकर्ताले मौद्रिक नीतिलाई लक्षित गर्दै शेयर किनिरहेका छन्। जसले गर्दा दोस्रो बजारमा कारोबार समेत बढ्दै गइरहेको छ। अहिले शेयर बिक्री गर्ने भन्दा बढी किन्ने हाबी भइरहेका छन्। जसले गर्दा सूचकलाई माथि लैजान सहयोग गरिरहेको छ। यदि बेच्ने हाबी भएको भए यसरी सूचक माथि जान सक्दैन थियो,” एक ब्रोकर कम्पनीका सञ्चालकले भने।

गएको चार दिन अघिसम्म लगानीकर्ता जलविद्युत कम्पनीको शेयरमा बढी झुम्मिने गरेका थिए। समग्र कारोबारमा ७० प्रतिशतको हाराहारीमा जलविद्युत कम्पनीको मात्रै शेयर कारोबार हुने गरेको थियो। तर गएको चार दिन यता भने जलविद्युत कम्पनीको पकड बिस्तारै घट्दै जान थालेको छ। अहिले समग्र कारोबारमा ७० प्रतिशतबाट घटेर ४५ प्रतिशतमा झरेको छ। त्यसले लगानीकर्ता जलविद्युत क्षेत्र बाहेकका कम्पनीतर्फ मोडिन थालेको संकेत बजारले गरिरहेको छ। तर स्मरण रहोस् अझै पनि समग्र कारोबारको आधा हिस्सा जलविद्युतको नै छ। तर जलविद्युत क्षेत्र बाहेकको समूहको पनि हिस्सा बढ्दै जाँदा भने त्यसले बजारलाई माथि लैजान सघाएको छ। सिजन सुरु भएकोले गर्दा लाभांशको लागि लगानी गर्ने लगानीकर्ताले लगानी बढाएका कारण पनि जलविद्युत बाहेकका क्षेत्रमा लगानी बढ्न थालेको हो। अर्कोतर्फ जलविद्युत क्षेत्र बाहेकका कम्पनीको मूल्य ५२ हप्ता यता कै न्यून बिन्दुमा परेका कारण पनि लगानीकर्ताको आकर्षण ती क्षेत्रमा बढ्न थालेको विश्लेषण बजारमा हुन थालेको छ।        




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।