पछिल्लो केही हप्तादेखि हाइड्रोपावर समूहमा कुल कारोबार रकमको ७० प्रतिशतसम्म कारोबार हुँदै आएकोमा समग्र शेयर बजार बढ्दा भने यो समूहको कारोबार भने घट्दो क्रममा देखिएको छ । बिहीबार बजार बन्द हुँदा हाइड्रोपावर समूहको कारोबार कुल कारोबारमा ५० प्रतिशतभन्दा कम हुन पुगेको छ । तथ्यांक अनुसार हाइड्रोपावर सेक्टरबाट लगानीकर्ताहरु विकास बैंक, फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा समूहका कम्पनीहरुमा गएको ती समूहमा गएको कारोबार रकमको वृद्धिले देखाउँछ । अहिले पनि बजारमा नयाँ पैसा भित्रिनु भन्दा पनि बजारभित्रै रहेको पैसा एउटा सेक्टरबाट अर्को सेक्टरमा मात्रै सिफ्ट भएको रुपमा बुझ्नुपर्ने बजारका एक अनुभवी लगानीकर्ताले बताए ।
असार १२ गते ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार हुँदा हाइड्रोपावर समूहका कम्पनीहरु मात्रै ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो जुन कुल कारोबारको ७० दशमलब ९९ प्रतिशत थियो भने अन्य निकटतम धेरै कारोबार हुने समूहमा विकास बैंक समुह थियो । यो समूह असार १२ गते कुल कारोबारको ४.९७ प्रतिशत अर्थात ३८ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने लगानी समूह ४.८२ प्रतिशत अर्थात ३६ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा सबैभन्दा धेरै हिस्सा भको बैकिङ समूह ३.१३ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४० प्रतिशत तथा लाइफ र नन लाइफ इन्स्योरेन्स समूह ३ प्रतिशतभन्दा कम मात्रै कारोबार भएको थियो।
गत बिहीबार अर्थात असार १९ गतेसम्म आइपुग्दा भने हाइड्रोपावर समूहको हिस्सा ४४.१९ प्रतिशतमा सीमित भएको छ । असार १९ गते ९ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भएकोमा हाइड्रोपावर समूहको ४ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्रै हाइड्रोपावर समूहको कारोबार भएको छ । यो बीचमा विकास बैंक समूहको शेयर ११ दशमलब ३२ प्रतिशत कारोबार भएको छ । यो भनेको ९ अर्ब ३८ करोडको कारोबारमा १ अर्ब ६ करोड १८ लाख हुन आउँछ ।
विगत कैयौं कारोबार दिनदेखि हाइड्रोपावर समूह बाहेक कुनै पनि समूहको शेयर कारोबार १ अर्ब छुन नपाएकोमा बिहीबार हाइड्रोपावर समूहपछि १ अर्बको कारोबार हुने दोस्रो समूह बनेको छ विकास बैंक समूह। अन्य सबै समूहका कम्पनीको कारोबार १ अर्ब भन्दा मुनि नै छ । विकास बैंक समुहपछि लगानीकर्ता फाइनान्स, लाइफ र नन लाइफ इन्स्योरेन्स समूहमा छिरेको तथ्यांकमा देखिएको छ । गत असार १२ गते कुल कारोबारको १.४० प्रतिशत मात्रै कारोबार रकम भएको फाइनान्स समूहमा गत बिहीबार अर्थात असार १९ गतेसम्म आउँदा कुल कारोबारको ६ दशमलब १३ प्रतिशत बराबरको कारोबार भएको छ । नेप्सेमा ९ अर्ब ३८ करोडको कारोबार हुँदा फाइनान्स समूहको मात्रै ५७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
पछिल्लो समय लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्स समूहमा पनि लगानीकर्ताले पैसा खन्याउन थालेको तथ्यांकले देखाउँछ । गत असार १२ गते नन लाइफ समूहको कारोबार रकम कुल कारोबारमा १ दशलब ६८ प्रतिशत मात्रै रहेकोमा असार १९ गतेसम्म पुग्दा यो रकम ५ दशमलब ८९ प्रतिशतमा पुगेको छ । गत बिहीबार नन लाइफ इन्स्योरेन्स समूहका कम्पनीहरुको ५५ करोड २७ लाख रुपैयाँको भएको थियो । त्यसैगरी कुल कारोबारमा २.९१ प्रतिशत कारोबार हिस्सा रहेको लाइफ इन्स्योरेन्स समूहको हिस्सा वृद्धि भएर गत बिहीबार ७.८२ प्रतिशत पुगेको छ । गत हप्ताको बिहीबार २२ करोड ३१ लाख रुपैयाँ मात्रै कारोबार रकम पुगेको लाइफ इन्स्योरेन्स समूहमा पछिल्लो बिहीबार भने कारोबार रकम बढेर ७१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । धेरै समयदेखि साइडवेजमा रहेको लाइफ र नन लाइफ समूहमा विगत दुई कारोबार दिनदेखि भने कारोबार रकममा तेजी आउन थालेको हो ।
यता लगानी समूहमा गत हप्ता कारोबार रकममा अकस्मात वृद्धि देखिएकोमा साता अन्तिम दिन बिहीबार भने ह्वात्तै घटेर ५.२७ प्रतिशतमा सीमित हुन पुगेको छ ।