तर, नेपालमा ‘अडियो काण्ड’को कारण पद गुमाउनेमा मन्त्री गुप्ता पहिलो व्यक्ति भने होइनन् । यस अगाडि पनि कैयौं व्यक्तिहरुले पद गुमाउन वाध्य भएका छन्, एकजनाले त आत्महत्या नै गरेका छन्, कतिपयको सामाजिक जीवन समाप्त भएको छ । त्यस्ता ‘अडियो काण्ड’हरु मध्ये प्रमुख काण्डहरुलाई यहाँ सर्सती उल्लेख गरिएको छ ।
बाँस्कोटाको ७० करोडको काण्ड
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा यस्तै ‘टेप–काण्ड’मा मुछिएका थिए। एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपा नेतृत्वको सरकारमा उनी मन्त्री थिए । त्यहीबेला बाँस्कोटा र नेपालले सेक्युरिटी प्रिन्टिङ प्रेस किन्न लागेको स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रबीच सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड ‘कमिसन’ मागेको अडियो सार्वजनिक भएको थियो । विरोध र आलोचना बढ्दै गएपछि बाँस्कोटाले २०७६ फागुन ८ गते ‘नैतिकताको कारण’ देखाउँदै राजीनामा दिए ।
त्यसक्रममा परेको उजुरीलाई अख्तियारले ‘अडियो फाइल सनाखत हुन नसकेको’ तर्क गर्दै मुलतबीमा राखेको छ । २०७९ को आम निर्वाचनमा पनि काभ्रे २ बाट निर्वाचित बाँस्कोटा अहिले पनि सांसद छन् ।
सांसद खरिद गर्न महराले चिनियाँ व्यापारीसँग मागेको ५० करोडको अडियो काण्ड
२०६७ भदौ १८ गते तत्कालीन एकीकृत नेकपा माओवादीका नेता (हाल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष) कृष्णबहादुर महराले परिचय नखुलेका एक चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको ‘अडियो टेप’ सार्वजनिक भयो।
त्यसबेला सार्वजनिक भएको अडियो संवादमा महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन ५० जना सांसद आवश्यक भएको र त्यसका लागि ५० करोड आवश्यक पर्ने भन्दै सहयोग मागेका थिए । सो रकम लिन चीनको छेन्दु वा सिंगापुर, नभए हङकङ नै सुरक्षित स्थान हुनसक्ने महराले बताएको पनि अडियो संवादमा सुनिन्छ ।
यो ‘टेप–काण्ड’ उजागर भएपछि सांसद खरिद–बिक्री गर्न महराले चिनियाँसँग ५० करोड मागेको भन्दै चर्को विरोध भयो। त्यतिबेला महरा संविधानसभा सदस्य थिए र माओवादी पार्टीभित्र शक्तिशाली भूमिकामा रहेका थिए। त्यो टेप सार्वजनिक भएपछि महराले आफ्नो आवाज नभएको दाबी गरे । अहिलेसम्म पनि उनले त्यही दाबी गर्दै आएका छन्। यो प्रकरणमा अनुसन्धान गर्न राज्यका कुनै निकायले चासो देखाएनन् । नेपाली कांग्रेस र नेकपा एमाले जस्ता प्रतिद्धन्दी पार्टीहरुले पनि चासो नदेखाएपछि यो काण्ड सामसुम बनाइयो ।
रास्वपा नेता ढाकाकुमार श्रेष्ठको २ करोडको अडियो काण्ड
विसं २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसंग मन्त्री बन्नको लागि पार्टी सभापति रवि लामिछानेको कोर टीमलाई बुझाउनु पर्ने भन्दै २ करोड सहयोग गर्न माग गरेको अडियो सार्वजनिक भयो । उक्त पार्टीले छानबिन गर्ने भने पनि वास्तविकता कहिल्यै बाहिर ल्याइएन । बरु श्रेष्ठलाई सांसद पदबाट हटाइयो ।
आरजु राणा मुछिएको २ करोडको अडियो काण्ड
एक वर्ष अगाडि २०८१ असारमा नेपाली कांग्रेस पाँचथरका सहसचिव सन्तोष श्रेष्ठ र फिदिम नगर सभापति प्रकाश गुरुङबीचको अडियो काण्ड सार्वजनिक भयो, जसमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा हालकी परराष्ट्र मन्त्री आरजु राणा पनि मुछिइन ।
उक्त अडियोमा भाञ्जा भनिएका श्रेष्ठ र मामा भनिएका गुरुङबीच भएको फोन वार्तामा २०७९ मा भएको स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाको प्रमुख पदको टिकट लिन २ करोड रुपैयाँको लेनदेन भएको संवाद छ । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले नेपाली कांग्रेसका सभापति देउवाकी पत्नी राणालाई प्रमुखको टिकट लिन २ करोड रुपैयाँ बुझाएको सो फोनवार्तामा भनिएको छ ।
यही अडियो प्रकरणका दुईमध्ये एक गुरुङलाई नेपाली कांग्रेस अनुशासन समितिले कारबाही गरेको छ । पार्टीको आन्तरिक विषय भएकोले यो काण्ड थप चर्किएन
।
अडियो काण्ड बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवद्धारा आत्महत्या
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले एउटा अडियो काण्ड बाहिरिएपछि आत्महत्या गरे ।
केही समय अघि पैसा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो। सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सहकारीको समस्या मिलाइदिने भन्दै १० लाख बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले विषय सेवन गरेको उनले सुसाइड नोटमा उल्लेख गरेका थिए ।
अख्तियारका आयुक्तको ७८ लाख वार्गेनिंगको अडियो काण्ड
२०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकको ७८ लाख घुस–काण्ड सार्वजनिक भयो ।
पाठकले र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेबीच ७८ लाखरुपैंया घुस लेनदेन सम्वन्धि वार्गेनिङ भएको अडियो सार्वजनिक भएपछि अख्तियारले उनीहरु विरुद्ध जनही ७८ लाख रुपैयाँ बिगो मागदाबीसहित २०७५ चैत १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले ३/३ वर्ष कैद सजायको फैसला गरेको थियो । अदालतको फैसला अनुसार कैद भुक्तान गरेर उनीहरु छुटेका थिए ।
बैंकरलाई छुटाउनको लागि न्यायाधीश र वकीलबीच घुस ‘बार्गेनिङ’
काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच भएको घुस–संवाद अर्को चर्चित ‘टेप–काण्ड’ हो । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ जोडिएको ठगी मुद्दामा उनलाई छुटाउने विषयमा न्यायाधीश कोइराला र वकील पोखरेलबीच भएको घुस लिनेदिने कुराकानी समेटिएको टेप २०७९ असार ७ गते सार्वजनिक भएको थियो । पोखरेलले तामाङलाई १० करोड धरौटीमा रिहा गरेमा २ करोड रुपैयाँ आउने ‘अफर’ कोइरालालाई गरेको अडियो संवादमा सुनिन्छ।
साढे ५ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले २०७८ असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । अधिवक्ता पोखरेलले उनलाई छुटाउन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइरालासँग गरेको घुस ‘बार्गेनिङ’मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र काठमाडौँ जिल्ला अदालतकै अर्का न्यायाधीश अम्बिकाप्रसाद निरौलाको नाम पनि जोडिएको थियो ।
यो प्रकरण सार्वजनिक भएपछि न्यायपरिषद्ले कोइरालालाई निलम्बन गरेर परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएर कारवाही गरेको थियो ।
सुदूरपश्चिममा एक पछि अर्काे अडियो काण्ड: मन्त्रीको पद खोसियो, सांसदलाई कारवाही भएन
केही समय अघि नागरिक उन्मुक्ति पार्टीका नेता तथा सूदुरपश्चिम प्रदेश सरकारका तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी र एमालेका पोलिटब्युरो सदस्य नारदमुनि रानाबिच घुस लिने विषयमा छलफल भएको अडियो सार्वजनिक भयो ।
सुदूरपश्चिममा दिगो वन व्यवस्थापन योजनामा ठेकेदारबाट ३० लाख रकम आउने र सो रकम मुख्यमन्त्री, मन्त्री, नागरिक उन्मुक्ति पार्टीका संरक्षक र अध्यक्ष बीच बाँडफाँट गर्ने योजना बनाइएको अडियोमा उल्लेख छ। रानाले उक्त रकम एमालेसँग मिलाएर बाँड्ने पनि बताएका छन्।
अडियो बाहिरिएपछि मन्त्री चौधरीले मुख्यमन्त्रीको निर्देशनमा राजीनामा दिए तर राना माथि भने कुनै कारवाही भएन । उनले कहिल्यै घुस खान खोजेको कुरा अहिलेसम्म स्वीकार गरेका छैनन् ।
उता केही समय पहिले सुदूरपश्चिम प्रदेशसभाकी सांसद जानकी ऐर बमले नेपाल आर्मीमा भर्ती गराइदिने भन्दै रकम मागेको अडियो सार्वजनिक भयो । तर, उनी माथि अहिलेसम्म कारवाही भएको छैन । बरु अहिले त्यो अडियो नै सामाजिक संजाल र युटयुवबाट हटाइएको छ । माओवादीबाट २०७४ मा पुरर्चौडी नगरपालिकाको उपप्रमुख भएर कार्यकाल सकेलगत्तै एमालेमा प्रवेस गरेकी हुन् ।
प्रेम आलेको ५० लाखको अडियो काण्ड
गत आम निर्वाचन अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका प्रेम आलेसंग ओलीले भारतको मुम्बई बस्दै आएका अछामका जगत ओलीले ५० लाख रुपैया माग्दै फोन गरेको अडियो सार्वजनिक भयो । त्यस क्रममा आले र ओलीबीच उच्चारण गर्नै नसकिने अश्लील शब्दसहितको आरोप प्रत्यारोपको अडियो काण्ड सार्वजनिक भएको थियो ।