चालु आर्थिक वर्ष दोस्रो बजारबाट ६१ अर्ब पूँजी सङ्कलन, सबैभन्दा बढी सामूहिक लगानी कोषलाई निष्कासन अनुमति

Jul 15, 2025 06:18 PM merolagani



सुवास निरौला

चालु आर्थिक वर्ष नेपाल धितोपत्र बोर्डको निष्कासन अनुमति लिएर विभिन्न कम्पनीले प्राथमिक बजारबाट ६१ अर्ब रुपैयाँ भन्दा बढी रकम सङ्कलन गरेका छन्।

नेपाल धितोपत्र बोर्डको तथ्याङ्क अनुसार चालु वर्ष १४ कम्पनीले प्राथमिक निष्कासन अनुमति पाए। उनीहरूले एक सय रुपैयाँ दरका तीन करोड ८३ लाख २१ हजार ८१९ कित्ता शेयर कुल तीन अर्ब ८३ करोड २१ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्न अनुमति पाएका हुन्।

यस वर्ष एफपिओ मार्फत पनि ५ कम्पनीले प्राथमिक बजारबाट रकम सङ्कलन गरे। ५ कम्पनीले कुल एक अर्ब ५५ करोड ९६ लाख ६५ हजार ५२३ रुपैयाँ बराबरको शेयर निष्कासन गरेर पूँजी सङ्कलन गर्ने अनुमति पाए।

चालु वर्ष विद्यमान सूचीकृत कम्पनीहरूले आफ्नै शेयरधनीलाई पुनः हकप्रद शेयर निष्कासन गरे थप पूँजी सङ्कलन गर्ने अनुमति पाए। यस वर्ष १७ कम्पनीले हकप्रद मार्फत रकम सङ्कलन गर्ने अनुमति पाएका हुन्। कुल १७ कम्पनीले १५ अर्ब ४१ करोड रुपैयाँ बराबरको एक करोड ५४ लाख कित्ता हकप्रद शेयर जारी गर्दै उक्त रकम प्राथमिक बजारबाट सङ्कलन गरेका हुन्।

बैंक वित्तीय संस्था आफै निक्षेप सङ्कलन कर्ता हुन्। तर उनीहरूले पनि थप पूँजी सङ्कलनको लागि क्यापिटल मार्केटको सहयोग लिए। यस वर्ष विभिन्न ९ बैंक वित्तीय संस्थाले डिबेन्चर मार्फत प्राथमिक बजारबाट रकम सङ्कलन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाए। यस वर्ष मात्रै मात्रै उनीहरूले २५ अर्ब ३० करोड रुपैयाँ बराबरको डिबेन्चर जारी गर्दै प्राथमिक बजारबाट पूँजी सङ्कलनको अनुमति पाएका हुन्।

यस वर्ष सबैभन्दा बढी सामूहिक लगानी कोषले निष्कासन अनुमति पाए। चालु वर्ष विभिन्न २० कोषहरूले सामूहिक लगानी कोषका इकाई निष्कासन अनुमति पाएका छन्। २० फण्डले कुल १५ अर्ब २० करोड रुपैयाँ प्राथमिक बजारबाट सङ्कलनको लागि अनुमति पाए।

सबैले गरेर यस वर्ष प्राथमिक बजारबाट कुल ६१ अर्ब ३० करोड २६ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलनको अनुमति पाएका छन्।

सैद्धान्तिक रुपमा हेर्दा फाइनान्सिएल सिस्टम एउटा बैंक बेस हुन्छ  भने अर्को मार्केट बेस हुन्छ। बैंक बेसमा बैंक डिपेन्डेण्ट हुन्छ।  मार्केट बेस बैंकको अल्टरनेटिभ हुन्छ। पूँजी बजार भनेको मार्केट बेस हो।

दोस्रो बजारका लगानीकर्ताले लामो समय देखि राख्दै आएको माग भनेको व्यक्तिगत लगानीकर्तालाई शेयर धितो कर्जामा लगाइएको सीमा खारेज हुनु पर्छ भन्ने छ। लगानीकर्ताले शेयरमा लगानी गर्ने सबैभन्दा ठुलो पूँजीको स्रोत बैंक वित्तीय संस्थालाई मान्दै आएका छन्। तर  बैंक वित्तीय संस्था भने पूँजीको स्रोत अभाव कम गर्न क्यापिटल मार्केट आउने क्रम बढ्दै गइरहेको छ। यस वर्ष पनि बैंक वित्तीय संस्थाले क्यापिटल मार्केटको सदुपयोग गर्दै प्राथमिक बजारमा डिबेन्चर मार्फत २५ अर्ब भन्दा बढी सङ्कलन गरे।

यसरी हेर्दा बिस्तारै क्यापिटल मार्केट नेपालमा पूँजी सङ्कलनको लागि दरिलो बजार बन्दै गइरहेको छ। तर यस वर्ष अघिल्ला वर्ष भन्दा बढी पूँजी प्राथमिक बजारबाट सङ्कलन हुने अपेक्षा थियो। तर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण धेरै लामो समय निष्कासन अनुमति अवरुद्ध हुन पुग्यो। जसले गर्दा यस वर्ष अघिल्ला बर्सहरूको जस्तो पूँजी सङ्कलनको क्रम भने बढ्न सकेन।

अर्को सार्वजनिक लेखा समितिले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीहरूलाई प्राथमिक बजारबाट पूँजी सङ्कलनको अनुमति नदिनु भन्ने निर्देशनका कारण पनि धितोपत्र बोर्डले निष्कासन अनुमति दिन कन्जुस्याइँ गर्‍यो। जसले गर्दा पनि चालु वर्ष कम पूँजी सङ्कलन भएको हो। यद्यपि पछिल्लो समय निष्कासन अनुमति दिने क्रम बढेको छ। जसले गर्दा आउने वर्ष पूँजी सङ्कलन थप बढ्न सक्ने अनुमान गर्न सकिन्छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।