पोखरा र समृद्धि मर्जर भएर पोखरा फाइनान्स बन्ने, मर्जर पछिको वित्तीय अवस्था कस्तो ?

Jul 21, 2025 06:20 AM MeroLagani



वित्तीय समस्याले थिचिएको पोखरा फाइनान्स लिमिटेड अन्ततः मर्जर प्रक्रियामा जाने निर्णयमा पुगेको छ । कम्पनीले समृद्धि फाइनान्स लिमिटेडसँग मर्जर सम्झौता गरेको हो । मर्जरपछि पाेखरा फाइनान्सकै नाममा एकीकृत काराेबार हुनेछ ।

दुवै संस्थाबीच १ः१ को स्वाप रेसियोमा (एक शेयर बराबर एक शेयर) मर्जरको सहमति भएको हो। मर्जरपछिको संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममै रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौँमा सारिनेछ। मर्जरपछि बन्ने संयुक्त संस्थाको सञ्चालक समिति अध्यक्ष समृद्धि फाइनान्सबाट चयन हुनेछ। सञ्चालक समितिमा समृद्धिबाट अध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना रहने व्यवस्था मिलाइएको छ।

समृद्धि फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा दुवै कम्पनीका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।

दुई वित्तीय संस्था मर्जरपछि बन्ने पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार पुग्नेछ भने दुवै कम्पनीको सञ्चिति ऋणात्मक भएको हुँदा सञ्चित कोष ९३ करोड ४५ लाख १६ हजार रुपैयाँले ऋणात्मक हुनेछ ।

संयुक्त संस्थाको निक्षेप ९ अर्ब ४९ करोड ६४ लाख १४ हजार रुपैयाँ र ऋणको आकार ७ अर्ब ४६ करोड ८२ लाख ६० हजार पुग्नेछ । गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार समृद्धि फाइनान्सको प्रति शेयर आम्दानी ५ रुपैयाँ ८१ पैसाले ऋणात्मक रहेको छ भने पोखरा फाइनान्सको भने ८ रुपैयाँ ८५ पैसा रहेको छ ।

खराब कर्जाका मामलामा समृद्धिको १६ दशमलब ४२ प्रतिशत रहेको छ भने पोखरा फाइनान्सको ३१ दशमलब २५ प्रतिशत रहेको छ । समृद्धि फाइनान्सको नेटवर्थ ५३ रुपैयाँ ६३ पैसा रहेको छ भने पोखरा फाइनानसको ४८ रुपैयाँ ७५ पैसा रहेको छ ।

मर्जर पश्चात संयुक्त संस्था अझ सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने दाबी गरिएको छ। यस मर्जरले संस्थापक तथा सर्वसाधारण शेयरधनीको हित सुरक्षित गर्नुका साथै समग्र मुलुकको वित्तीय स्थायित्वमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई मर्जरका लागि अघि बढाएको नीतिगत व्यवस्था अनुसार यो कदमलाई सकारात्मक पहलको रूपमा हेरिएको छ।

यसअघि नै गम्भीर वित्तीय दबाबमा परेको पोखरा फाइनान्सले समयमै मर्जरको विकल्प रोजेर समस्या समाधानतर्फ अग्रसर भएको देखिएको छ। समृद्धि फाइनान्सको समेत पछिल्लो समय वित्तीय अवस्था कमजोर बन्दै गएको देखिन्छ । पूँजी, नाफा र गैर–प्रदर्शनकारी ऋण (एनपीए) लगायतका सूचकहरूमा समस्याहरू देखिन थालेपछि उसले पनि गाभिने बाटो रोजेको हो ।




हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।