व्यापक मात्रामा डीप बोरिङ गाड्ने प्रयासले पनि समस्या समाधान गर्ने अवस्था नभएपछि ‘क्लाउड सीडिङ’ को बहस शुरु भएको छ । विकसित देशको लागि यो प्रविधि नयाँ नभए पनि नेपालमा पनि यस बारेमा गम्भिर रुपमा छलफल शुरु भएको सम्भवतः यो पहिलो घटना हो ।
विगतका वर्षहरूको तुलनामा यो बर्षातमा मधेशमा करिब ४६ प्रतिशत मात्रै वर्षा भएको छ । त्यसले गर्दा रोप्न ठिक्क गरिएको धानको बीउ समेत सुकिरहेको छ । इनार र बोरिङ पनि सुकेर खानेपानीको समेत हाहाकार भएको छ ।

जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठ वर्षा गराउने बादलमा हेरफेर गरेर कृत्रिम वर्षाका लागि प्रयोग हुने ‘क्लाउड सीडिङ’ प्रविधिबारे पनि अध्ययनको आवश्यकता अहिलेको खडेरीले उजागर गरेको बताउँछिन ।
नेपालले अहिले भोगिरहेको समस्या समाधानमा यो प्रविधि उपयुक्त विकल्प नभए पनि त्यसबारे अध्ययन आवश्यक देखिएको उनको भनाइ छ ।
स्मरण रहोस क्लाउड सीडिङ एउटा वैज्ञानिक विधि हो जसलाई कृत्रिम रूपमा वर्षा गराउन वा मौसमलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ। यस प्रक्रियामा, विमान वा रकेटको माध्यमबाट बादलमा विशेष रासायनिक पदार्थहरू (जस्तैः सिल्भर आयोडाइड, ठोस कार्बन डाइअक्साइड वा नुन) छर्किन्छ।
यी रासायनिक पदार्थहरूले बादलमा भएका पानीका साना कणहरूलाई एकसाथ जम्मा हुन मद्दत गर्छन्। यसले गर्दा, ती कणहरू ठूला र भारी बन्छन् र अन्ततः वर्षाको रूपमा तल झर्छन्। यो प्रविधि विशेष गरी सुख्खा मौसम, खडेरी वा वायु प्रदूषण कम गर्नका लागि प्रयोग गरिन्छ।
यो प्रविधि पहिलो पटक अमेरिकामा पत्ता लागेको हो। सन् १९४६ मा अमेरिकी रसायनशास्त्री भिन्सेन्ट जे.शेफर र उनका सहकर्मीहरूले जनरल इलेक्ट्रिक कम्पनीको प्रयोगशालामा यसको सिद्धान्त पत्ता लगाएका थिए। त्यसपछि, सन् १९४७ मा पहिलो क्लाउड सीडिङ प्रयोग गरिएको थियो।
केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा देखिएको खडेरीको सामना गर्न तत्काल ५०० ठाउँमा डीप बोरिङ जडान सुरु गरिएको बताएका थिए ।
जलाधार विज्ञहरु खडेरीको समस्याको अल्पकालीन समाधानका लागि डीप बोरिङ उपयुक्त विकल्प भएको तर दीर्घकालिन समाधान नभएको बताउँछन्। दीर्घकालीन समाधानका लागि पानीको सञ्चय र पुनर्भरणका योजना बनाइनु पर्ने उनीहरुको भनाइ छ ।
साउन मध्यसम्म आधा मात्रै रोपाइँ
समयमा वर्षा नभएकाले अन्नको भण्डार मधेश प्रदेशमा हालसम्म करिब ५१ प्रतिशत मात्र रोपाइँ भएको छ ।
मधेसको धान रोपाइँ हुने तीन लाख ७२ हजार हेक्टरमा अहिलेसम्म एक लाख ९२ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको हो । रोपाइँ गरिएको ठाउँमा पनि खडेरीका कारण धानका बोटहरु मर्न थालेका छन् । रोपाइँ नभएर खेत बाँझै रहँदा मधेसमा खाद्य संकटको जोखिम निम्तिन सक्ने विज्ञहरूले बताएका छन
स्मरणरहोस मधेसमा आर्थिक वर्ष २०८१/८२ मा करिब १५ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष अहिलेसम्म आधा मात्र रोपाइँ भएको छ । रोपेको खेत पनि धाँजा फाटेकाले उत्पादनमा धेरै गिरावट आउने निश्चित छ ।