कारोबार रकममा उत्साहजनक वृद्धि नहुनुले पनि लगानीकर्ताहरु डराएका छन्। तर बजारमा निरन्तर बढ्दैन र घट्दैन पनि। यो अवस्थामा धैर्य गरेर लगानीको रणनीति बनाउनेले राम्रो आम्दानी गर्न सक्ने अवसर बन्छ। बजारमा आएका हल्लालाई नकार्दै विश्वासिलो स्टकको खरिदमा जोड दिनुपर्छ। बजारले नयाँ उचाइ बनाउँदै बढ्ने लगानीकर्ता अच्युत सिग्देलको भनाइ छ। तीनै सिग्देलसँग सुधा देवकोटाले गरेको कुराकानीः
बढेको शेयर बजार ३ हजारको विन्दुमा पुग्यो। त्यसपछि बजार कमजोर भएको महसुस लगानीकर्ताले गर्न थालेका छन्। किन ३ हजारको विन्दु बढ्नका लागि अवरोध बन्यो ?
अहिलेको अवस्थालाई बजारले अझ बढ्नका लागि शक्ति संञ्चित गर्दै छ भन्ने कुरा बुझ्नु पर्छ। निरन्तर बढ्दा बजार दीगो हुँदैन। बजारले बढ्ने क्रममा बिभिन्न विन्दुहरुमा विश्राम गर्ने र शक्ति बनाउने गर्नु पर्छ। अर्को कुरा बजारमा अझै पूँजीको समस्या छ। बजारमा मनग्य पैसा आउन सकेको छैन्। २५८० विन्दुको आसपासबाट बढ्न सुरु गरेको बजारमा केही पैसा आएको हो। अब सो विन्दु भन्दा माथि जानको लागि थप पैसा आउन जरुरी छ। बजार तीन हजारको विन्दुमा पुगेपछि कारोबार रकम घट्न थालेको छ। बजारमा थप पैसा आएको छैन। यसको मतलब बजारमा पैसा छैन।
बजारमा किन पैसा छैन। पैसा किन छैन भन्दा बजारमा सबै लगानी हुने कुरा पनि भएन। बजारमा भएको पैसा विगतको ३२ सय वरपरको विन्दुमा लगानी भएको पैसा होल्ड भएको छ। त्यो मूल्यमा किनिएको शेयर बिक्री गर्न पाएका छैनन। ऋण गरेर लगानी गर्नेले नोक्सानीमा शेयर बिक्री गरी मिलान गरेको भएतापनि आफ्नो पैसा लगानी गर्नेको पुरानो पैसा अझै आएको छैन। केही पैसा सहकारी संस्थामा फसेको छ। अर्को सुनमा लगानी छ। घर जग्गामा गरिएको लगानी अचल छ। बजारमा आउन सकिएको छैन। भएको पैसा माटोमा अर्थात होल्ड हुँदा बजारमा प्रशस्त पैसा अझै आइसकेको छैन।
बैकिङ प्रणालीमा प्रसस्तै तरलता छ। लगानीको लागि माग नभएको बैंकहरुले बताउने गरेका छन्। सहज लगानी क्षेत्र बजारमा सो पूँजी किन आएको छैन वा चासो देखाइएको छैन् ?
सबै नागरिकले शेयरमा नै लगानी गर्नुपर्छ भन्ने छैन। धितोपत्र बजारमा लगानी गर्नका लागि झण्डै ६० लाख डिम्याट खाता छन्। जसमध्येमा ४० प्रतिशत डिम्याटमा शेयर छैन भन्ने कुरा आएको छ। त्यसको मतलब बजारमा लगानी गर्ने ६० लाख लगानीकर्ता भनिएकोमा वास्तविक होइन वा ती सकृय छैनन। भनेपछि यसले सबैले बजारमा लगानी गर्दैनन भन्ने बुझाउँछ। अहिले आएको कारोबार रकमको आकार र लगानीको प्रवृती हेर्दा बजारमा सकृय भएर लगानी गर्नेहरुसँग प्रसस्त पैसा छैन्। त्यसैले सूचक यो विन्दुमा पुग्दा सुस्ताएको छ। सूचक जति बढ्छ बजारमा नयाँ पैसा थप हुनुपर्छ। बजारमा नयाँ तरलता नभएको हो।

गतवर्ष ३ हजारको विन्दु पार गर्न ३० अर्बले सकेन। यसपटक २५ अर्बले पनि मुस्किल भयो बजार पुनः करेक्सनमा छ। यो विन्दु पार गर्न कति तरलता आवश्यक छ ?
बजारको इन्धन भएको पैसा हो। हो पैसा बिना बजारले बलियो यात्रा तय गर्न सक्दैन। बजारमा विगतको ३१ सयको हाराहारीमा फसेका लगानीको सावाँ आउन ५ हजार माथिको विन्दुमा पुग्नु पर्छ। त्यसमा पुग्नको लागि बजारमा मनग्य पैसा आउनु पर्छ। पछिल्लो समय नीतिगत सहजता अपनाउन थालिएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा पूँजी चलायमान गराउनुका साथै बजारमा तरलता बढ्ने नीति लिएको छ।
यस्तो नीतिले बजारमा पैसा बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। अहिलेको बजारमा पैसा आउनको लागि न्यूनतम ५ हजारको विन्दुमा बजार पुग्नु पर्छ। सो विन्दुबाट बल्ल बजारमा फसेको पैसा चलायमान हुन सुरु हुन्छ। त्यसपछि बजारमा नयाँ पैसा लगानी गर्ने वातावरण बन्नेछ। बजारमा ठूलो पैसा लिएर संस्थागत आउनु पर्छ। म्यूचुअल फण्डहरुले लगानी बढाउनु पर्यो। संस्थागत लगानीको डिमाण्ड बढेन भने बजार विस्तारै माथिल्लो विन्दु उन्मुख हुन्छ ।
अहिले बजारको करेक्सन कहाँ र कहिलेसम्मको लागि होला ?
मैले सुरुमा नै भनेको छु। यो करेक्सन भनेको बजार बढ्नको लागि शक्ति संञ्चित गरेको हो। यसलाई नकारात्मक लिने र डराउनु पर्ने अवस्था छैन्। यो करेक्सनले लामो समय लिदैन र धेरै तल झर्ने अवस्था पनि कम छ। बुल भर्खर सुरु भएको छ। यसको यात्रा लामो छ। बजारले शक्ति संञ्चित गर्दैछ। यसले बजारमा पैसा ल्याउने तयारी गर्दैछ।
साथै सूचीकृत कम्पनीहरुको गत आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने समय नजिकिदैछ। त्यसले पनि बजारमा एक चरणको माहोल सिजर्ना गर्नेछ। साथै कम्पनीहरुले वितरण गर्ने प्रतिफलले पनि राम्रो गति दिने आंकलन गर्न सकिन्छ। म्यूचुअल फण्डहरुले प्रतिफल वितरण गर्न सुरु गरिसकेका छन्। राम्रो प्रतिफल वितरण भएको देखिएको छ। यसले पनि अबको समयमा बजारले राम्रो गति निर्धारण गर्नेछ भन्ने कुराको विश्वास गर्न सकिन्छ। त्यसैगरी, नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरण गर्न प्रोत्साहित गरेको छ। यसले पनि संस्थापक शेयरधनीहरुलाई बजारमा पैसा प्रवाह गर्नको लागि सहज हुने देखिन्छ। बजारले बढ्नको लागि राम्रो आधार बनाउँदै बढ्ने नै हो।
लघुवित्तले वितरण गर्ने प्रतिफलको सीमा पुनरावलोकन तत्काल नहुने भन्ने हल्लाले बजार घटेको छ। अहिलेकै व्यवस्था अनुसार १५ प्रतिशत लाभांश वितरण गर्न सक्छन। पुनरावलोकन ढिला हुने हल्लामै लगानीकर्ता किन डराएका छन् ?
शेयर बजारमा मौद्रिक नीतिले नै प्रभाव पारेको देखिन्छ। यस पटकको मौद्रिक नीतिले लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशको सीमा पुनरावलोक गर्ने विषयले बजारलाई चलायमान बनाउन खोजेको हो। धेरै लगानीकर्ताहरु यस व्यवस्थाकै कारण बजारमा लगानी गर्न आशावादी भएका छन्। वास्तवमा यस्तो हल्ला कसरी आएको छ भन्ने कुरा एकिन छैन। यस विषयको आधिकारीक जानकारी राष्ट्र बैंकले दिनुपर्ने हो। विषय मौद्रिक नीतिले उल्लेख गरेपछि पुनरावलोकन हुनेछ। गर्दैन भन्ने जस्ता भ्रामक हल्लाले पछिल्ला दुई कारोबार दिन लघुवित्त सेक्टरमा प्रभाव पर्यो। यस विषयमा राष्ट्र बैंकले पुर्नविचार गर्नेछ र छिट्टै पुनरावलोकन हुने विश्वास छ। यदि ढिला भयो भनेपनि १५ प्रतिशत लाभांश वितरण गर्न सक्ने व्यवस्था छँदैछ। त्यसमा लगानीकर्ताहरु डराउनु पर्दैन।
बाँकी भिडियोः