निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्याे

Sep 04, 2025 03:21 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ६.५५ अंक घटेर २७१९.७७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ७२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ६९ हजार २४ पटकको कारोबारमा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँबराबरको १ करोड २७ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३२ रुपैयाँ ३० पैसा बढेर ३५५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमन्ट कम्पनी र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ३५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमन्ट कम्पनीको १९ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स र यूनियन हाइड्राेपावरको कारोबार रकम साढे १७ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.५८ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१३ बढेको हो।