यस दिन नेप्से घटेसँगै २७०० विन्दुमुनि झरेको छ। नेप्से परिसूचक २ महिनापछि २७०० विन्दुमुनि झरेको हो। यस अघि गत असार २४ गते नेप्से २७०० विन्दुमुनि बन्द भएको थियो। सो दिन नेप्से २६८३.८६ विन्दुमा बन्द भएको थियो। सोपश्चात आज नै नेप्से २७०० विन्दुभन्दा तल झरेको हो।
सोमबार नेप्से परिसूचक ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ४० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ५९ हजार ७०४ पटकको कारोबारमा ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड १७ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
हिम स्टार उर्जा कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३९ रुपैयाँ १० पैसा बढेर ४३० रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। अरु स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य यस दिन सबैभन्दा बढी ५.२८ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ६८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको २४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने यूनिभर्सल पावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।