गभर्नरको के सहयोग चाहिन्छ ? भन्ने प्रश्नकाे जवाफ दिँदै व्यवसायीले भने-नचाहिँदो माग नराख्ने, बरु मिलेर 'रि बिल्ड’ गरौँ

Sep 16, 2025 03:06 PM merolagani



सुवास निरौला

जेनजी आन्दोलन भए लगत्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले गएको भदौ २९ गते बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग छलफल गरे।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्था सम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरिसकेका छन्। छलफलमा गभर्नरले व्यवसायीहरूलाई अहिलेको अवस्थामा के सहयोग गर्नु पर्छ ? भनेर सोधे। तत्कालै व्यवसायीले यही नै सहयोग गर्नु पर्छ भनेर उत्तर फर्काएनन्। नेपाल राष्ट्र बैंकको तर्फबाट पौडेलले व्यवसायीलाई मात्रै उक्त प्रश्न गरेका होइनन्। अर्थतन्त्रलाई अघि बढाउन आफ्नो र आफ्नो संस्थाको तर्फबाट गर्न सकिने सहयोग गर्न तयार रहेको जनाउ दिँदै आएका छन्।  अर्थमन्त्रीको पदभार ग्रहणपछिको पहिलो बैठकमा पनि गभर्नर पौडेलले अर्थतन्त्रलाई अघि बढाउन सरकारले खोजेको सहयोग गर्न आफू र राष्ट्र बैंक दुवै तयार रहेको अभिव्यक्ति दिए।

यता गभर्नरलाई भेटेर आएका व्यवसायीलाई अहिलेको अवस्थामा नेपाल राष्ट्र बैंक मार्फत कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ भनेर मेरो लगानीले सिएनआइका अध्यक्ष राजेश अग्रवालसँग प्रश्न गर्दा अग्रवालले के माग्ने भन्ने विषय नै निर्क्योल गर्न नसकेको देखियो।“ अहिलेको अवस्था बिलकुलै फरक छ। भूकम्प र कोभिडको जस्तो होइन। त्यस्तो भए नगदै अनुदान माग्ने हुने थियो होला। सस्तो ब्याजदरमा पैसा देऊ भन्ने अवस्था पनि छैन। अहिले आफै ब्याजदर सस्तो छ। खै के सहुलियत माग्ने ?” सिएनआइका अध्यक्ष राजेश अग्रवालले मेरो लगानीसँग भने।

केही नै सहयोग चाहिन्न त ? भन्ने मेरो लगानीको प्रतिप्रश्नमा अग्रवालले भने “अहिलेको अवस्थामा कसैको व्यवसायमा असर परेको छ भने ऋण तिर्नको लागि समय थपिदिने, कोही कालो सूचीमा पर्न लागेको भए त्यसमा सहुलियत गरिदिनेसम्म राष्ट्र बैंकले गरिदिए हुन्छ होला”।

अहिलेको अवस्थामा व्यवसायीले पहिलेजस्तो माग गर्न चाहिरहेका छैनन्। उनीहरू अहिलेको परिवर्तित अवस्थाको भविष्य प्रति नै बढी चिन्तित देखिन्छन्। अहिलेको बदलिँदो परिस्थिरले जन्माएको अवस्थाले सेफ ल्यण्डिङ गरोस् भन्ने नै बढी अपेक्षा उनीहरूको छ। “घटिसकेको घटनालाई हामी बदल्न सक्दैनौ तर त्यसले सिर्जित गरेको अवस्थाले तार्किक विकसित मुलुकमा रूपान्तरण गरोस्,” अग्रवालले भने।

पटक पटक दोहोरिएर आउने यस्ता समस्या सँग जुध्न व्यवसायी पनि अभ्यस्त भइसकेका छन्। जन आन्दोलन पछि पनि व्यवसायी उठेकै हुन्। भूकम्प पछि पनि सम्हालिएर अघि बढेकै हुन्। कोभिडको सामना पनि गरेकै हुन्। अहिलेको अवस्था पनि पार गर्छौ भन्नेमा नै व्यवसायी छन्। तर अहिलेको अवस्थामा भने अलिक फरक देखिएको उनीहरूको अनुभव छ। त्यो भनेको भौतिक रुपमा नै आक्रमण अनि ज्यान कै जोखिम। त्यसले भने व्यवसायीको थोरै मनोबल खस्किएको अवस्था भने छ। “यस पटक अलिक फरक नै देखियो। भौतिक आक्रमण र ज्यान कै जोखिम। त्यसले व्यवसायीको मनोबल खस्काएको छ,” अग्रवालले भने।

तर पनि अघि नै बढ्ने सङ्कल्प व्यवसायीहरूले गरिरहेका छन्। अब यस्तो अवस्थाबाट रिभाइभ हुनु पर्नेमा उनीहरूको जोड छ। अहिले रिभाइभ मात्रै हुने होइन, रि बिल्ड नै गर्नु पर्ने अवस्था भएकोले सरकार र सरोकारवाला निकायसँग हातेमालो गरेर अघि बढ्ने चाहना व्यवसायीले राखिरहेका छन्। “ अहिले नयाँ सरकार आएको छ। सरकारमा आउने पनि अनुभवी र बुझेका मानिस नै आउनु भएको छ। त्यस कारण अब रिभाइभ मात्रै भनेर पुग्दैन। सरकार र निजी क्षेत्र दुवै मिलेर रिभाइभ सँगै रिबिल्ड पनि गर्नु पर्ने हुन्छ। हामी सरकारलाई गर्नु पर्ने सहयोग गर्न तयार छौ। सरकार र निजी क्षेत्रको जोइन्ट भेन्चरमा काम हुनु आजको प्रमुख आवश्यकता हो,” अग्रवालले भने।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।