भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पुँजी बजारको गतिविधिहरु पनि करिब १ हप्ता पछाडि धकेलिएको छ। यस वर्ष अधिकांश कम्पनीले बोनस शेयरमै जोड दिएका छन्। एकाध कम्पनीले नगद लाभांश घोषणा गरे पनि जेनजी आन्दोलन कारण साधारण सभा केही दिन स्थगन गरेपछि सो लाभांश समेत दशैं पछाडि मात्रै प्राप्त गर्न सक्ने भएको छ।
अहिलेसम्म दुई वटा बैंक, चार वटा हाइड्रोपावर, दुई वटा इन्भेष्टमेन्ट कम्पनी, दुई वटा विकास बैंक र एउटा उत्पादनमूलक क्षेत्रको कम्पनीले लाभांश घोषणा गरेका छन्। अहिलेसम्म लाभांश घोषणा कम्पनीहरुमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालले गत भदौ ३१ गते साधारण सभा सम्पन्न गरिसकेको छ भने माछापुच्छ्रे बैंकले भदौ २७ गते बुक क्लोज गरिसकेको छ। माछापुच्छ्रे बैंकले असोज १० गते साधारण सभा गर्दैछ। माछापुच्छ्रे बैंकले चाहने हो भने दशैंको फुलपाती अगाडि लगानीकर्ताका खातामा नगद लाभांश बापत्को रकम ट्रान्सफर गरिदिन सक्छ। कम्पनीले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको थियो।
कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनी लिमिटेडले असोज ८ गते बुक क्लोजको मिति तोकेको छ भने कामना सेवाले असोज २४ गते तथा युनिभर्सल पावरले असोज २३ गते साधारण सभा मिति तय गरेको छ। त्यस्तै नेपाल ल्युव आयल लिमिटेडले असोज ३१ गते साधारण सभा र असोज १२ गते बुक क्लोज मिति तय गरेको छ। हाथवे, माछापुच्छ्रे, कामना सेवा, नेपाल ल्युव आयल र युनिभर्सल पावर बाहेक अन्य कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति सार्वजनिक गरेको छैन।
लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये नेपाल ल्यूव आयलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीको १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनससहित कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सेबोनमा १ बराबर २ को अनुपातमा हकप्रद निष्काशन गर्ने आवेदन पेन्डिङ छ।
बैंकहरुमध्ये एभरेष्ट बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनससहित २० प्रतिशत लाभांश घोषणा गरेको छ। माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगदसहित ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ। यता विकास बैकमध्ये मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत लाांश घोषणा गरेको छ भने कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनशसहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।
हाइड्रोपावर समुहका सबै कम्पनीले बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनको लागि थोरै मात्रामो नगद लाभांश दिएको छ। सिक्लेस र मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र शून्य दशमलब ४२ प्रतिशत नगद कुल ८.४२१ प्रतिशत तथा युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र शून्य दशमलब ४७ प्रतिशत नगद गी ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ।
यता लगानी समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपालले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलब ६३ प्रतिशत नगद सहित १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेको छ। यता नेपालको एक मात्रै पूर्वाधार विकास बैंकले यसपटक लगानीकर्ताले ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले गत वर्ष लगानीकर्ताको हात खाली गरेको थियो।