काठमाण्डौ केरुङ रेलमार्गको काम ‘शुरु गरिहाल्न’ चीनको ताकेता, ९ वर्षमा निर्माण हुने रेल मार्गको लागि ३ खर्ब लाग्ने

Oct 26, 2025 11:34 AM mero lagani



चीनले प्रस्तावित काठमाण्डौ केरुङ रेलमार्गको काम जतिसक्दो छिटो शुरु गर्न नेपाल सरकारसंग ताकेता गरेको छ । भौगोलिक सर्भेक्षण पछि केही समय अघि हेलिकोप्टरबाट समेत सर्भे गरेपछि चीनले त्यस्तो त्यस्तो ताकेता गरेको हो ।

तर, नेपाल सरकारले निर्णय नगरेको कारण कहिलेबाट निर्माणको काम शुरु हुन्छ भन्ने बारेमा भने यकिन हुन सकेको छैन ।

पूर्वसम्भाव्यता अध्ययनले उक्त रेलमार्गको सुरु बिन्दु केरुङ र अन्तिम बिन्दु टोखा हुने देखाएको छ। त्यसमध्ये रसुवागढी, स्याफ्रुबेशी, विदुर र काठमाण्डौ गरी चारवटा स्टेशन हुने यस अगाडि नै सार्वजनिक गरिएको थियो।

प्रस्तावित रेलमार्ग चिनियाँ भूगोलतर्फ त्यहाँको चोमोलोङ्मा आरक्ष र नेपालतर्फको लाङटाङ र शिवपुरी संरक्षित क्षेत्र हुँदै अघि बढ्ने भएकाले त्यसले पार्न सक्ने वातावरणीय प्रभावको बारेमा वातावरणविद्हरुसंग दुवै देशका अधिकारीहरुले छलफल गरेपछि थप निर्णय लिइने सम्भावना रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

रेलसम्बन्धी डिजाइनका क्षेत्रमा काम गर्ने चिनियाँ सरकारी निकाय फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिट्यूट ग्रुपले नेपालको रेल विभागसंगको सहकार्यमा सर्भेक्षण गरेको र अब त्यहीअनुसार निर्माणको काम अगाडि बढाइने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपालको भ्रमण गर्दा दुई देशबीच काठमाण्डौ-केरुङ रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने र त्यसलगत्तै निर्माण शुरु गर्ने सम्झौता भएको थियो । त्यही अनुसार चीनले आफ्नै खर्चमा सर्भेक्षणको काम सम्पन्न गरेको छ र अब अर्काे वर्ष अर्थात् सन् २०२६ को मध्यतिरबाट निर्माणको काम शुरु गर्ने प्रस्ताव नेपाल सरकारसंग गरेको छ । चीनको प्रस्ताव अनुसार काम अगाडि बढे आउंदो जुन जुलाईतिरबाट औपचारिकरुपमा रेल मार्ग निर्माणको काम शुरु हुन सक्ने बताइएको छ । उक्त रेल मार्ग निर्माणको लागि साढे २ खर्ब देखि ३ खर्ब रुपैंयासम्म लाग्ने अनुमान गरिएको छ । निर्माण शुरु भएको मितिले नौ वर्ष भित्र उक्त रेलमार्ग संचालनमा आउन सक्ने बताइएको छ ।

पूर्व सम्भाव्यता अध्ययनले नेपाल तर्फको रेलमार्गको खण्डमध्ये ९५ प्रतिशतभन्दा बढी जमिनमुनि हुने देखाएको बताइएको छ । त्योअनुसार नेपालतर्फ ७२ किलोमिटर रेलमार्ग हुने, त्यसमध्ये ६८.६ किलोमिटर दूरी सातवटा सुरुङ र २.६ किलोमिटर दूरी नौवटा पुलले ओगट्ने देखाएको छ।

उक्त रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययनमा सहभागी नेपाली रेल इन्जिनियर परिवेश पराजुलीले यसअघि दिएको एक अन्तरवार्तामा पहाडको टुप्पोबाट २,३०० मिटर मुन्तिरसम्म सुरुङ बनाउनुपर्ने, पहाड फोडेर सुरुङ र पुलहरू बनाउनुपर्ने शिवपुरीबाट बाहिर निस्किसकेपछि रेल पूर्ण रूपमा जमिन बाहिर गुड्ने बताएका थिए ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।