लगानीकर्ता निर्धक्क भएर लगानी गर्न डराएका छन् । आईतबार नकारात्मक भएको सूचक कारोबारको पछिल्लो आधा घण्टामा सकारात्मक भएको हो । यसदिन बजार ५.१९ अंकले सकारात्मक भएर बन्द भएको हो । करिव तीन महिनादेखि निरन्तर घटेको बजार पछिल्ला दुई कारोबार दिन सूचक सामान्य सकारात्मक भएको हो । यद्यपि कारोबारमा लगानीकर्ताहरुको सक्रियता न्यून देखिएको छ । लगानीकर्ताको विश्वास कम भएकै करणले गर्दा बजारमा खरिद चाप बढ्न नसकेको छैन । मुलुकमा अस्थीरता बढ्ने आशंकाले शेयर बजार प्रभावित भएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।
शेयर बजार बढ्नका लागि आधारहरु बलियो बनेका छन । तर राजनीतिमा देखिएको अस्थीरताले लगानीकर्ता डराएकाे देखिन्छन् । आर्थिक तथा नीतिगत सुधार सकारात्मक देखिएता पनि बजारमा चार्म आउन नसक्नुकाे कारण राजनीति नै हाे ।सबै राजनीतिक दलहरु बिचमा सहमति भएर राजनीति अस्थिरता अन्त्य गर्ने निचोडमा नपुगेसम्म बजार पर्ख र हेरकै अवस्थामा रहने ढकालको बुझाई छ ।
जेनजी अर्थात युवा पुस्ताको आन्दोलन पछि मुलुकको राजनीतिक संरचना परिवर्तन भएको छ । आन्दोलनकाे क्रममा तोडफोड भएपछि पाँचतारे होटल ह्यात रिजेन्सी र चन्द्रागिरी केबलकारको सेवा बन्द भएको छ । यसले लगानीकर्ताको मनोभावना खल्बलाएको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेको भनाई छ ।
त्यसैगरी, दोस्रो बजारमा सूचिकृत भएर शेयर कारोबार हुँदै आएका सिमेन्ट कम्पनीको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल विवादमा सरकारले लाइन काटेको छ । दोस्रो बजारमा सूचिकृत भएका शिवम सिमेन्ट् र घोराही सिमेट्ससहित ६ वटा उद्योगको लाइन काटिएको हो । बजारमा प्रवेशको तयारीमा रहेका जगदम्बा स्टिल,रिलायन्स स्पेनिङ मिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटिएको छ । दोस्रो बजार त्यसले पनि प्रभावित पारेको छ। सरकार र उद्योगी विचमा भएको मतान्तरले लगानीकर्ताहरु डराएका पाण्डेको बुझाई छ । यसले गर्दा अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने देखिन्छ । आईतबारको बजारमा तारागाउँ रिजेन्सीको शेयर मूल्य सर्वाधिक घटेको छ भने डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल विवादमा रहेका कम्पनीहरुको मूल्य पनि प्रभावित भएको देखिन्छ ।
मुलुकमा देखिएको राजनीतिक किचलोका कारण सरकारले आर्थिक वृद्धिदरमा चासो दिन सकेको छैन । निरन्तर रुपमा घट्दो ब्याजदर अनुसार कर्जाको माग भएको छैन । बैंक प्रणालीमा भएको तरलता राष्ट्र बैंकमा न्यून दरमा थुप्रेको छ । लगानीको माहाैल बनाउनको लागि केही नीतिगत परिमार्जन भएता पनि विश्वासको वातावरण बन्न सकको छैन । नीतिगत सहजताले बजारमा कुनै प्रतिकृया जनाएको छैन।
राजनीतिक र आर्थिक स्थिरताका लागि सरकारले तत्कालै चासो दिनुपर्ने जानकारहरुको जोड छ । शेयर बजारसँग सरोकार राख्ने नीतिहरुको ब्यापक लचकता अपनाउँदा पनि बजारले प्रतिकृया नजनाउनुलाइ गम्भीर मानिएकाे छ । शेयर तरल सम्पत्ति भएकाले नै छिटो खरिद बिक्री भएको हो । अहिलको बजारमा बिक्री गर्नेहरु कसैले पनि नाफा नकमाएको पाण्डेको बुझाई छ । तर पनि दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले अल्पकालीन भन्दा दीर्घकालीन लगानी गर्ने हो भने शेयर बजारमा लगानी बढाउने राम्रो समय भएको लगानीकर्ता पाण्डेको धारणा छ ।