अध्यक्ष र कर्मचारी बीचको वार्ता सकारात्मक, धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन ४८ दिनपछि स्थगित हुँदै

Nov 06, 2025 01:39 PM merolagani



नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र आन्दोलनरत कर्मचारी बीच बिहीबार (आज)को वार्ता सकारात्मक भएको छ। आज भएको वार्ता अनुसार नै विषय अघि बढेमा कर्मचारीहरूको आन्दोलन ४८ दिनपछि अर्थात आइतबारदेखि  स्थगित हुने छ।

आज नेपाल धितोपत्र बोर्डका कर्मचारी र अध्यक्ष बीच वार्ता भएको थियो। उक्त वार्तामा अर्थ मन्त्रालयको निर्देशनविरुद्ध कानुनी उपचार जानु पर्ने कर्मचारीहरूले अडान दोहोर्‍याए। उक्त अडानबाट कर्मचारीहरू पछि नहटेपछि अध्यक्ष सोही बाटो अख्तियार गर्न सहमत भए।

सम्भवतः आजै अध्यक्षले सञ्चालक बोर्डबाट अदालत जाने अख्तियारी लिने छन्। उनले अख्तियारी लिएर आए लगत्तै कर्मचारीहरूले आफ्नो आन्दोलन फिर्ता लिएर काममा फर्किने सहमति गरेका छन्।

“आज अध्यक्षज्यू सँगको वार्ता सकारात्मक भयो। उहाँ कानुनी उपचारमा जान सहमत हुनु भएको छ। कानुनी उपचारमा जान अध्यक्षज्यूले सञ्चालक बोर्डको अख्तियारी आजै ल्याउँछु भन्नु भयो। हामीले अख्तियारी ल्याउने बित्तिकै आन्दोलन फिर्ता लिएर काममा फर्कने प्रतिबद्धता जनायौ,” धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुङ्गानाले मेरो लगानीसँग भने।

यस अघि अर्थ मन्त्रालयमा भएको बोर्ड बैठकले नै अध्यक्षले जे जसरी अघि बढ्ने हो त्यसमा सञ्चालकको सहमति हुने निर्णय भएको थियो। तर निर्णय माइनुट गर्नु भन्दा अघि कर्मचारीसँग वार्ता गर्न सञ्चालकहरूले आग्रह गरेका थिए। सोही आग्रह बमोजिम नै अध्यक्षले आज कर्मचारीहरूसित वार्ता गरेका हुन्।

अब सञ्चालक बोर्डले अध्यक्षलाई कानुनी उपचारमा जान अख्तियारी दिने छ। त्यसपछि सञ्चालक बोर्डको अख्तियारी लिएर अध्यक्षले अदालतमा रिट दायर गर्ने छन्। अदालतले नै उक्त विषयको निर्णय दिने छ। अदालतको निर्णय सबै पक्षले स्वीकार गर्ने छन्।

अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि,२०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न गत असोज २ गते निर्देशन दिएको थियो। अझै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्नु पर्ने समेत निर्देशनमा भनेको थियो। सोही निर्देशन विरुद्ध कर्मचारीले ४५ दिन देखि निरन्तर विरोध गरिरहेका हुन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।