साउन यता ह्वात ह्वाती घट्दै आएको दैनिक कारोबार रकम बढ्न थाल्यो, यसले के सङ्केत गर्छ ?

Nov 09, 2025 08:15 AM merolagani



सुवास निरौला

बिहीवार १ करोड ८ लाख ६८ हजार कित्ता शेयर ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भए। यो रकम बुधवारको तुलनामा बढी हो। बुधवार ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

बुधवारको तुलनामा बिहीवार मात्रै दैनिक कारोबार रकम बढेको होइन,गएको साउनदेखि असोजसम्म लगातार घट्दै आइरहेको दैनिक औसत कारोबार रकम कात्तिक लागे यता भने बढ्न थालेको छ। कारोबार रकमको हिसाबले गएको तीन महिना शेयर बजारको लागि राम्रो थिएन। तर कात्तिक लागे यता भने एका एक दोस्रो बजारमा कारोबार रकम बिस्तारै बढ्दो क्रममा देखिन थालेको छ। तर साउनकै अवस्थामा कारोबार रकम पुगिसकेको अवस्था भने छैन।

गत साउनमा दैनिक कारोबार रकम १४ अर्ब ४७ करोड रुपैयाँ थियो। साउनको तुलनामा कात्तिकको दैनिक औसत कारोबार रकम एक तिहाइ मात्रै हो। किनकि कात्तिक लागे यता बिहीवारसम्मको दैनिक औसत कारोबार रकम पाँच अर्ब ३५ करोड रुपैयाँ मात्रै छ।

दैनिक कारोबार रकम घट्ने क्रम साउन यता सुरु भएको हो। जुन निरन्तर असोजसम्म घट्यो। साउनको तुलनामा भदौमा कारोबार रकम ६०.५३ प्रतिशतले घटेको थियो। भदौको दैनिक औसत कारोबार रकम पाँच अर्ब ७१ करोडमा खुम्चियो। भदौको तुलनामा असोजमा थप कारोबार रकम २१.७५ प्रतिशतले खुम्चियो। असोजमा दैनिक औसत कारोबार रकम ४ अर्ब ४७ करोड थियो। तर कात्तिक सकिन अझै केही दिन बाँकी हुँदै असोज महिना भन्दा बढी दैनिक कारोबार रकम उक्लि सकेको अवस्था छ।

असोजमा दैनिक कारोबार घट्नुमा कारोबार दिनले पनि फरक पारेको देखिन्छ। किनकि असोज महिनामा जम्मा १४ दिन मात्रै शेयर कारोबार भएको थियो। कारोबार दिन नै कम भएका कारण कारोबार रकम घटेको हो। दैनिक कारोबार रकम घट्नुमा धेरै फ्याक्टरले काम गरेको बताइएको छ।

भदौमा जेनजी आन्दोलन हुनु, आन्दोलनपछि केही दिन कारोबार नै बन्द हुनु, त्यसपछि आउने दिन के होला भन्ने अनिश्चितता छाउनु,भदौदेखि छाएको अनिश्चितता असोज सम्मै रहनु, अर्कोतर्फ असोज पछि चाडबाड सुरु हुनुलगायतका कारणले कारोबार रकम घट्न पुगेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए।

गएको दुई महिनादेखि कारोबार रकम घट्दै जानुमा धेरै फ्याक्टरले काम गरेको भएपनि यही दुई महिनाका बीचमा शेयर बजारका लागि निक्कै धेरै नीतिगत सुधारका काम भएका छन्। नेपाल राष्ट्र बैंकले २५ करोडको सीमा खारेज गरिदिएको छ। उता बैंक वित्तीय संस्थाले गर्ने शेयर कारोबारलाई एक वर्षबाट घटाएर ६ महिनामा झारिदिएको छ।

यता बैंकको ब्याजदर निक्कै तल आएको छ। संस्थागत निक्षेपको औसत ब्याजदर २.७५ प्रतिशतमा झरेको छ। उता कर्जाको औसत ब्याजदर ७.७६ प्रतिशतमा झरेको छ। तरलता फालाफालको स्थिति छ। तरलता बढी भएकै कारण राष्ट्र बैंकले ८ खर्ब भन्दा बढी रकम बजारबाट खिचिसकेको छ। बैंकहरुले कर्जा नगएका कारण संस्थागत निक्षेप लिन आनाकानी गर्न थालेका छन्। तैपनि शेयर बजार तर्फको कारोबार बढ्न सकेको छैन। जबकि ब्याजदर घट्दा शेयर बजार उकालो लाग्ने र बढ्दा ओरालो लाग्ने मान्यता स्थापित थियो। उक्त स्थापित विषयलाई यस पटक बजारले रिजेक्ट गरिदिएको छ।  

सबैतिरबाट सहजता भएपनि सबैभन्दा ठूलो कुरा लगानीकर्तामा कन्फिडेन्स नआएका कारण कारोबार बढ्न नसकेको ठम्याइ ढकालको छ। तर कात्तिक लागे यता बढ्दै गएको कारोबार रकमले भने दोस्रो बजारमा बिस्तारै कन्फिडेन्स बढ्दै गएको सङ्केत गरिरहेको ढकालको भनाइ छ। बढ्दै जान थालेको कारोबार रकमले आउने दिनमा बजारलाई माथि लैजान सहयोग गर्ने ढकालको प्रक्षेपण छ।