म्युचुएल फन्डको बन्दमुखी योजना नेप्सेमा सुचीकृत हुन्छ र यसको निश्चित अवधि हुन्छ भने खुलामु्खी योजनाको कुनै निश्चित समयवाधि हुँदैन । यद्यपि निश्चित रकमको पुँजी उठाउन बोर्डबाट स्वीकृति लिनुपर्ने हुन्छ । स्वीकृत लिए बराबरको रकम सर्वसाधारणबाट संकलन भएपछि थप रकम संकलन गर्न म्युचुयल फन्डको आकार विस्तारै बढाउँदै जानुपर्ने हुन्छ । पछिल्लो समय खुलामुखी योजना सञ्चालन गरिरहेका म्युचुएल फन्डलाई समस्या उत्पन्न भएको हो । धितोपत्र बोर्डले स्वीकृत गरेको फन्ड बराबरको रकम संकलन भइसकेको तर फन्डको आकार बढाउने निवेदन धितोपत्र बोर्डमा पेश गरे पनि आन्दोलन कारणका कारण फन्डको आकार बढाउने आवेदन स्वीकृत नहुँदा खुलामुखी योजनाका सञ्चालक समस्यामा परेका हुन । बोर्डबाट स्वीकृति प्राप्त गरे बराबरको रकम संकलन गरिसकेका कारण थप रकम संकलन गर्न नियामकीय कठिनाई उत्पन्न भएको हो ।
म्युचुएल फन्डको खुलामुखी योजनामा लगानीकर्ताले आवधिक रुपमा रकम जम्मा गर्ने गर्दछन् । व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान, एसआईपी) अन्तर्गत लगानीकर्ताबाट क्यापिटलले रकम प्राप्त गरे पनि सो बापतकाे म्युचुएल फन्डको कित्ता भने लगानीकर्ताको खातामा पठाउन नसकिएको क्यापिटलले जनाएको छ ।
सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम एसएसआईएसले नेपाल धितोपत्र बोर्डबाट २ अर्ब रुपैयाँ आकारको योजना सञ्चालन गर्न अनुमति प्राप्त गरेको थियो । २ अर्ब रुपैयाँ बराबरको फन्ड गत असोज २७ गते नै सिद्धार्थ क्यापिटलले जम्मा गरिसकेको छ र सो बापत् म्युचुएल फन्डको कित्ता समेत लगानीकर्ताको खातामा डिपोजिट गरिसकेको छ तर त्यसपछि एसआईपी अन्तर्गत लगानीकर्ताले डिपोजिट गरेको रकमको कुनै पनि इकाई क्यापिटले लगानीकर्ताको खातामा डिपोजिट गरिसकेको छैन ।
सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले अप्रत्यासित रुपमा आएको जेनजी आन्दोलन र त्यसपश्चात धितोपत्र बोर्डमा शुरु भएको आन्दोलनको कारण क्यापिटलले दिएको फन्डको आकार वृद्धि सम्बन्धि आवेदन स्वीकृत हुन नसक्दा लगानीकर्ताले खरिद गरेको म्युचुएल फन्डको इकाई ‘होल्ड’ भएको बताए । धितोपत्र बोर्डबाट फन्डको आकार वृद्धि गर्ने आवेदन स्वीकृत हुनासाथ लगानीकर्ताको खातामा जुन जुन मितिमा रकम प्राप्त भएको हो, सोही दिनको न्याभको आधारमा म्युचुएल फन्डका इकाईहरु लगानीकर्ताको डिम्याट खातामा जम्मा हुने उनले बताए । खुलामुखी योजनाको कोषको आकार वृद्धि गर्नु धितोपत्र बोर्डको सामान्य प्रक्रिया मात्रै रहेको र बोर्डका कर्मचारीहरु काममा फर्किनासाथै क्यापिटलको आवेदन स्वीकृत हुने उनले जानकारी दिए ।