नेपालको डिजिटल भुक्तानीमा सिद्धार्थ बैंकको भूमिका

Nov 07, 2025 11:59 AM Merolagani



नेपालमा डिजिटल भुक्तानी तिब्र गतिमा विकास भइरहेको छ र विगत केही वर्षयता यस क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ। वित्तीय कारोबारको शैलीमा परिवर्तन ल्याउने डिजिटल भुक्तानी प्रणालीमा बैंकहरूले महत्वपूर्ण लगानी गर्दै आएका छन्।

यसका कारण बैंक शाखा कार्यालयमा लाइन बसेर कारोबार गर्ने संख्या घट्दो क्रममा छ। नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा सिद्धार्थ बैंक (SBL) सकारात्मक र अग्रगामी भूमिका खेल्दै आएको छ। डिजिटल उपकरण जस्तै एटिएम मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकिङमा बैंकले विशेष प्राथमिकता दिएका छन्। यही निरन्तर प्रयास र ध्यानका कारण बैंकको डिजिटल भुक्तानी सेवामा प्राप्त उपलब्धि प्रभावशाली रहेको छ।

एटिएममार्फत कारोबार

नेपालभर हाल ५ हजार २६३ वटा एटिएम सञ्चालनमा रहेका छन् जसमा सिद्धार्थ बैंकको एटिएम संख्या २२९ छ, जुन कुल संख्याको करिब ४ प्रतिशत हो। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, गत आर्थिक वर्षको अवधिमा देशभरका एटिएममार्फत १० खर्ब ८८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। सोही अवधिमा सिद्धार्थ बैंकका एटिएममार्फत ७३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ७ प्रतिशत हिस्सा रहेको छ।

एटिएम संख्यामा ४ प्रतिशतको हिस्सा हुँदाहुँदै पनि कारोबारको रकममा ७ प्रतिशतको हिस्सा हासिल गर्न सफल हुनु बैंकको प्रभावकारी सेवा र निरन्तर अनुगमन प्रणालीको परिणाम हो। बैंकले एटिएम सेवा सहज र भरपर्दो बनाउनका लागि एक छुट्टै इकाइमार्फत एटिएम सञ्चालन र प्रदर्शनको नियमित निगरानी गर्दै आएको छ।

यसरी निरन्तर निगरानी, तत्परता र प्रभावकारी समन्वयका कारण सिद्धार्थ बैंकका एटिएमहरूले आफ्ना ग्राहकहरूका साथै अन्य बैंकका ग्राहकहरूलाई पनि सहज र विश्वासिलो सेवा प्रदान गर्दै आएका छन्।

मोबाइल बैंकिङ

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या हाल करिब २ करोड ७७ लाख पुगेको छ। एउटै व्यक्तिले विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने भएकाले यो संख्या समग्र प्रयोग प्रवृत्तिलाई झल्काउँछ। सिद्धार्थ बैंकका मोबाइल बैंकिङ ग्राहक संख्या ११ लाख ५९ हजार पुगेका छन् जुन कुल प्रयोगकर्ताको करिब ४ प्रतिशत हिस्सा रहेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, समीक्षा अवधिमा सम्पूर्ण बैंकहरूको मोबाइल बैंकिङ कारोबार ५० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा सिद्धार्थ बैंकका मोबाइल बैंकिङमार्फत ३ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा बैंकको बजार हिस्सा ७ प्रतिशत रहेको छ।

ग्राहक संख्यामा ४ प्रतिशत हिस्सा भए पनि कारोबार रकममा ७ प्रतिशतको योगदान रहनु बैंकका ग्राहकहरूको मोबाइल बैंकिङ प्रयोगमा सक्रियता र विश्वासको प्रतीक हो। बैंकले मोबाइल बैंकिङलाई सहज, सुरक्षित र प्रयोगमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ। यसका लागि बैंकले प्रविधिमा उल्लेख्य लगानी गरेको छ र मोबाइल बैंकिङ प्रणालीको कार्यक्षमता बढाउन नियमित सुधार र परिमार्जन गर्दै आएको छ।

साथै, सिद्धार्थ बैंकले मोबाइल बैंकिङ सेवालाई डिजिटल रूपान्तरणको मुख्य माध्यमका रूपमा विकास गरिरहेको छ। ग्राहकहरूलाई सहज रूपमा डिजिटल कारोबारमा सहभागी गराउन बैंकले निरन्तर प्राविधिक सुदृढीकरण र सेवा विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ। यसले बैंकको डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै देशको डिजिटल वित्तीय प्रवाहमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। प्ले स्टोरमा सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप BankSmart XP को रेटिङ ४.२ बाट सुधार भएर ४.६ स्टारमा पुगेको छ। त्यस्तै, एप स्टोरमा पनि रेटिङ २.९ बाट बढेर ४.६ स्टारमा पुगेको छ। यी उल्लेखनीय सुधारका परिणामस्वरूप, BankSmart XP नेपालका २० वाणिज्य बैंकहरूमध्ये औसत रेटिङका आधारमा नम्बर १ रेटेड बैंकिङ एप बन्न सफल भएको छ।

डेबिट कार्ड

हालसम्म देशभरका बैंकहरूले कुल १ करोड ३६ लाख डेबिट कार्ड जारी गरेका छन्। तीमध्ये सिद्धार्थ बैंकले मात्र ९ लाख १८ हजार डेबिट कार्ड वितरण गरेको छ, जसले कुल बजारको करिब ७ प्रतिशत हिस्सा ओगटेको छ। गत असार मसान्तसम्ममा डेबिट कार्डमार्फत ११ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा, सिद्धार्थ बैंकको कारोबार ७४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको बजार हिस्सालाई ७ प्रतिशतमा स्थापित गरेको छ।

क्रेडिट कार्ड

हालसम्म बैंकहरूले कुल ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरेका छन् जसमा सिद्धार्थ बैंकको हिस्सा ६० हजार रहेको छ। यस आधारमा सिद्धार्थ बैंकको बजार हिस्सा १९ प्रतिशत रहेको देखिन्छ । जारी संख्यामा मात्र होइन, कारोबारको हिसाबले पनि बैंकले १५ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकका क्रेडिट कार्डमार्फत ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकले क्रेडिट कार्ड क्षेत्रमा आफ्नो उपस्थिति सुदृढ बनाउन निरन्तर प्रयास गर्दै आएको छ। यसका लागि लक्षित ग्राहक वर्गलाई ध्यानमा राखी उपयुक्त योजनाहरूको साथ कार्ड वितरण गरिँदै आएको छ। साथै, बैंकले विभिन्न संस्थाहरूसँग सहकार्य गरेर ग्राहकहरूलाई विविध छुट र सुविधाहरू उपलब्ध गराइरहेको छ। बैंकको Siddhartha Rewards Platform मार्फत प्रत्येक खर्चमा तुरुन्तै अंक प्राप्त हुने र ती अंक विभिन्न साझेदार ब्रान्डहरूमा छुटका रूपमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ, जसले कार्ड प्रयोगलाई जीवनशैली–अनुकूल बनाएको छ।

सिद्धार्थ बैंकले क्रेडिट कार्ड सेवामा सहजता र पहुँचलाई प्राथमिकतामा राख्दै सेवा प्रक्रियालाई सरल र प्रयोगमैत्री बनाएको छ। यसले ग्राहकहरूलाई सहज भुक्तानी अनुभव प्रदान गर्दै, डिजिटल कारोबार संस्कृतिलाई थप सशक्त बनाउन योगदान पुर्याइरहेको छ।

प्रिपेड कार्ड

हालसम्म बैंकहरूले जम्मा २ लाख ५० हजार प्रिपेड कार्ड जारी गरिसकेका छन् तीमध्ये सिद्धार्थ बैंकको हिस्सा १४ प्रतिशत अर्थात् ३४,२२४ कार्ड रहेको छ। कारोबार रकमका हिसाबले बैंकको हिस्सा करिब ८ प्रतिशत छ।

सिद्धार्थ बैंक प्रिपेड कार्ड सेवालाई सहज, भरपर्दाे र ग्राहकमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ। बैंकले कार्डको दुरुपयोग रोकथाम, तत्काल समस्या समाधान र नियमित अनुगमनको माध्यमबाट सेवा स्तर उच्च राख्ने काम गर्दै आएको छ। यसले ग्राहकहरूले आवश्यकता अनुसार सहजै कारोबार गर्न सक्ने वातावरण तयार गरेको छ। साथै, बैंकले नयाँ सुविधाहरू र अपडेटहरू समयमै उपलब्ध गराउँदै, ग्राहक अनुभव अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिँदै आएको छ।

भर्चुअल ई–कम तथा क्रेडिट कार्ड

ग्राहकको सुविधालाई ध्यानमा राख्दै सिद्धार्थ बैंकले हालै भर्चुअल ई–कम कार्ड सार्वजनिक गरेको छ, जसलाई मोबाइल बैंकिङको ईजीबैंक सेवा मार्फत प्रयोग गर्न सकिन्छ। यस कार्डको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न झन्झटमुक्त र सजिलो भएको छ।

त्यति मात्र होइन, बैंकले चाँडै सिद्धार्थ फोनपे क्रेडिट कार्ड सुरु गर्न लागेको छ, जसबाट ग्राहकहरूले QR स्क्यान गरी सिधै व्यापारीलाई भुक्तानी गर्न सक्नेछन्। यी डिजिटल सेवाहरूले ग्राहकहरूलाई समय र स्थानको कुनै सीमा बिना सहज रूपमा कारोबार गर्न मद्दत पुर्याउनेछन् । बैंकको लक्ष्य सबै सेवाहरूलाई अझ डिजिटल, सुरक्षित र प्रयोगमैत्री बनाउने रहेको छ।

वृद्धिदर

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरूले ७० वटा नयाँ एटिएम सञ्चालनमा ल्याउँदा सिद्धार्थ बैंकले पनि २ वटा थपेर आफ्नो सेवा पहुँच विस्तार गरेको छ। बैंकले गत वर्ष डेबिट कार्डमा ६ प्रतिशत वृद्धि गर्दा, सिद्धार्थ बैंकले १४ प्रतिशतले वृद्धि गर्दै आफ्नो कार्ड सेवाको पहुँचलाई अझ सशक्त बनाएको छ। क्रेडिट कार्ड क्षेत्रमा पनि बैंकले समीक्षा अवधिमा ९,९१० कार्ड जारी गर्दै १९ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ। प्रिपेड कार्ड प्रणालीमा बैंकको वृद्धिदर ३६ प्रतिशत पुगेको छ, जबकि मोबाइल बैंकिङमा १५ प्रतिशत वृद्धिदर कायम भएको छ।

सिद्धार्थ बैंकले डिजिटल भुक्तानीमा निरन्तर योगदान पुर्याउँदै आएको छ। बैंकले प्रयोगकर्तामैत्री भुक्तानी प्रणालीको विकास र नियमित अद्यावधिकमा जोड दिँदै आएको छ। ग्राहकहरूले सहज रूपमा डिजिटल सेवा प्रयोग गर्न सकून् भनेर बैंकले प्रशिक्षण, जानकारी र सिकाइका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। यसरी बैंकले डिजिटल भुक्तानीका प्रत्येक चरणमा ग्राहकहरूलाई बुझाउने र सिकाउने प्रयासले सेवा अनुभवलाई प्रभावकारी बनाइरहेको छ र डिजिटल बैंकिङ प्रविधिको प्रयोगलाई अझ सुदृढ बनाइरहेको छ।