‘पटके अपराधी ’का कारण जेनजी आन्दोलनमा आगजनी र लुटपाट भएको सरकारको निष्कर्ष, ५ हजार कैदी अझै फरार

Nov 07, 2025 02:03 PM mero lagani



७६ जनाको ज्यान जाने गरी भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडसहितका हिंसात्मक घटना हुनुमा पटके अपराधीहरुको हात रहेको निष्कर्ष गृहमन्त्रालयले निकालेको छ । 

अहिलेसम्म पक्राउ परेका ३७५ जनाको पृष्ठभूमी अध्ययन गर्दा आधाभन्दा धेरै पटके अपराधीहरु भेटिएको गृहमन्त्रालय प्रहरी स्रोतको भनाई छ । पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाबाट २१८ जना पक्राउ परेका छन भने सबैभन्दा थोरै कर्णाली प्रदेशबाट चार जना पक्राउ परेका छन् । त्यस्तै कोशी प्रदेशबाट ३० जना, मधेश प्रदेशबाट २१ तथा उपत्यकाबाहेक बागमतीका अन्य जिल्लाबाट ३३ जना, गण्डकीबाट ३२,लुम्बिनीबाट २९ र सुदूरपश्चिमबाट आठ जना पक्राउ परेका छन् । भारतीय नागरिकहरुसमेत पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तेह्र वर्षका नाबालकदेखि ६१ वर्षका प्रौढसम्म रहेका छन् । सबैभन्दा धेरै ‘जेनजी उमेर समुह’का रहेका छन् ।

पक्राउ पर्ने क्रम अहिले पनि चलिरहेको छ ।

हालसम्म पक्राउ परेका ३७५मध्ये १४१ जनामाथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजानाजस्ता कसुरमा मुद्दा चलाइएको जानकारी मन्त्रालयले दिएको छ ।
त्यसबाहेक उच्छृङ्खल समूहहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित विभिन्न सरकारी भवनका साथै निजी सम्पत्तिमा समेत तोडफोड, आगजनी र चोरी गरेका थिए । त्यसरी अपराधिक काममा संलग्न भएकाहरुको ‘ट्रयाक रेकर्ड’ अध्ययन गर्दा ६० प्रतिशतभन्दा धेरै विगतमा पनि विभिन्न अभियोगमा प्रहरीको थुनामा परेका वा कारवाहीमा रहेका व्यक्तिहरु रहेको बताइएको छ ।


आन्दोलनका क्रममा सुरक्षा निकायका हातहतियार हराएका र कारागारहरूबाट कैदीबन्दी भागेका विषयले समेत सुरक्षा चुनौती थपिरहेको सुरक्षा निकायका अधिकारीहरुले बताउंदै आएका छन् । गृहसचिव रामेश्वर दङ्गालले केही दिन अघि एक अन्तरवार्तामा अझै पनि ४००-५०० को सङ्ख्यामा हातहतियार र ५,००० जतिको सङ्ख्यामा कैदीबन्दी फरार रहेको र उनीहरुका कारण सुरक्षा चुनौती बढेको बताएका थिए ।