बजारमा देखिएको गतिविधिले लगानीकर्ताहरु आजित भएका छन् । अब बजार बढ्छ भनेर कुर्नेहरु निरास भएका छन् ।
बैंकको ब्याजदर घटेकाे छ । बैकिङ प्रणालीमा लगानीयाेग्य रकम फालाफाल छ । नीतिगत सुधार भएको छ । तर बजारले सकारात्मक गति समाउन सकिरहेको छैन । बजार सकारात्मक बनाउनको लागि बैंकलाई खुला रुपमा लगानी गर्न पाउने व्यवस्था गर्नुपर्ने लगानीकर्ता ललित ढुङ्गाना (रमेश)ले बताए । तीनै ढुङ्गानासँग सुधा देवकोटाले गरेको कुराकानीः
शेयर बजार २६ सय भन्दा माथिको विन्दुमा नै टिक्न सकिरहेको छैन । के कारणले शेयर बजारको अवस्था यस्तो भएको छ ?
बैंक तथा वित्तीय संस्थामा भएको तरलता, ब्याजदरको अवस्था र नियामक निकायले बजार सुधारका लागि चालेको कदमलाई हेर्दा शेयर बजार राम्रो गति सहित बढ्नु पर्ने हो । विगतदेखि हामीले यसै भन्दै आएको भएतापनि बजार बढ्न सकेको छैन । बजार बढ्न राम्रो आधार बनेको छ । नीतिगत सुधार हुँदापनि बजार बढ्न नसक्नुमा देशामा देखिएको राजनीतिक अस्थिरताले लगानीकर्ताहरु डराएको अवस्था छ । मुलकमा आन्दोलनको घोषणा हुनु र राजनीतिक अन्योल हुनुले माहोल विगारेको हो । अहिले संक्रमणकालिन अवस्थामा छ । यो राजनीतिक माहोलबाट विस्तारै उठ्ने क्रममा छ । अब राजनीति सुधार हुने क्रममा छ । यस्तै विन्दुबाट बजार सम्हालिदै आइतबारदेखि सकारात्मक रुपमा गति लिनेछ ।

अहिले सरकार र नियामक निकायले बजार सुधारको लागि आवश्यक लचिलाे नीतिगत व्यवस्था गरेको छ । तर पनि बजारमा लगानीकर्ताको मनोवल बढ्न नसक्नुमा के देख्नु भएको छ ?
नेपालमा स्थिर सरकार नहुनुको परिणाम शेयर बजार र अर्थतन्त्रले समस्या भोग्नु परेको छ । वर्षेनी सरकार परिवर्तन भएको छ । एक जनाले ल्याएको बजेट अर्कोले कार्यान्वयन गर्नु परेको छ । त्यसको प्रभाव धेरै कुरामा परेको हुन्छ । यस्तो गतिविधिले लगानीकर्ताको मनोभावनामा अदृष्य रुपमा प्रभाव पारेको हुन्छ । त्यसैको प्रतिकृया सूचकमा देखिने हो ।
शेयर बजारलाई जोडेर विगतको राजनीतिक अवस्थालाई हेर्दा चुनावी वर्षमा बजारले राम्रो गति लिएको देखिएको छ । अहिलेको परिस्थिती पनि त्यस्तै बन्दै छ । निर्वाचन हुदाँ बजारमा बजेटमा विनियाेजन भएको भन्दा धेरै खर्च भएको हुन्छ । त्यसले बजारलाई चलायमान गराउछ भन्ने विश्वासले बजार बढ्ने गरेको थियो ।
तर अहिलेको अवस्था फरक छ । अहिले बजारमा तरलता पर्याप्त भएको समय हो । भएको पैसा परिचालन गर्न सकेको अवस्था छैन । बैंकमा कर्जाको माग भएको छैन । कर्जा लिएर लगानी गर्ने उचित ठाँउ छैन । यी सबै कुराले बजार सकारात्मक गति लिनुपर्छ । यति सहज परिस्थितीमा निर्वाचन होला वा नहोला । निर्वाचन नभए फेरि अस्थिरता तर्फ मुलुक जाने डर आमनागरिकमा छ । यो सरकारले चुनाव गराउन सकेन भने त्यसपछिको अवस्था कस्तो हुने हो भन्नेमा लगानीकर्ता अल्मलिएकाे पाइन्छ ।
तर अब धेरै लगानीकर्ता सचेत छन् । लगानीकर्ताहरु बजारले दिएको सम्भावनालाई केलाएर लगानीको रणनीति बनाउने अवस्थामा छन् । त्यसैले अबको बजार बढ्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।
विगतमा हाम्रो कुरा १५ मिनेटको भारित औषत गणना विधिको सम्बन्धमा भएको थियो । सो समय बजारलाई यो १५ मिनेटको गणना विधिले मुस्किल पारेको उल्लेख गर्नुभएको थियो । अहिले सो व्यवस्था हट्यो तर बजार घट्ने क्रम रोकिएन किन ?
बजारमा त्यो मात्रै समस्या होइन । तर त्यो मुख्य समस्या थियो । हाम्रो नियामक निकायले छिट्फुट रुपमा भएका कमजोरीलाई मध्यनजर गरेर समग्र बजारलाई असर पार्ने गरी व्यवस्था गरिनु दुर्भाग्य हो । एउटा व्यक्ति विषेशलाई आधार बनाएर नीतिगत व्यवस्था गरिदा बजारमा धेरै ठूलो समस्या सिर्जना भएका छन् ।
नियामकले अन्तराष्ट्रिय बजारको तुलना गर्दै नेपालको बजारमा नीतिगत व्यवस्था गरिनु हुँदैन । १५ मिनेटको गणना विधि लागु गर्नु हुदैन थियो । त्यसलाई पूर्ण रुपमा नै खारेज गर्नुपर्ने हुन्छ । असहज परिस्थिती भएको बेलामा भयो । हाम्रो सरकारले सहज अवस्थामा गरिएका व्यवस्थाहरु अहिलेसम्म परिमार्जन गरिएका छैनन । विषम परिस्थिती, लगानीकर्ता सबै लिलामी जाने बेला मुलुक लगानीकर्ता पलायन हुने अवस्थामा दबाब थेग्न नसकेर मात्रै नीतिगत सुधार गरिएको छ । अझै पनि यसलाई अल्पकालिन भनेर उल्लेख गरिएको हुन्छ । यस्तो नीतिले नेपालको बजारलाई राम्रो गर्दैन ।
शेयर बजार बढ्नु मात्र पर्छ भन्न खोजिएको होइन । हालको नेपालको बजारका लागि व्यवहारिक छैन । बजार प्रभावित पारेर चलखेल भएको छ भने त्यसलाई कारवाही गर्नु पर्छ । कानुनको दायरामा सबैलाई ल्याउनु पर्छ । तर अनावश्यक रुपमा व्यवस्था गरेर बजारलाई प्रभावित पार्नु हुदैन ।
अबको यो बजारमा सुधार गर्नु पर्ने कुराहरु के कस्ता छन् ?
पछिल्लो समय शेयर बजार सुधारको लागि अर्थमन्त्रीले जुन पहल गर्नु भएको छ । यस प्रति शेयर बजारका लगानीकर्ताहरु धेरै आभारी छन । मुलुक संकटको अवस्थामा भएता पनि शेयर बजार बचाउनको लागि पहल कदमी गर्नु भएको छ । यसले तत्काल बजारमा सकारात्मक प्रतिकृया लिन नसकेता पनि दीर्घकालको लागि धेरै राम्रो गर्न सक्ने अवस्था दखिन्छ ।
त्यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर पनि पूँजी बजारलाई राम्रोसँग बुझ्नु भएको छ । उहाँले पनि विगतका अप्ठ्यरा नीतिहरु परिमार्जन गरेर बजार सुधारमा योगदान पुर्याउनु भएको छ । शेयर बजारका लगानीकर्ताको माहोललाई सकारात्मक रुपमा बढाएको छ । तर अब गर्ने के भन्दा, नेपालको बजार संस्थागत लगानीकर्ताको संख्या अत्यान्त कम छ ।
केही म्युचुअल फण्डहरु छन् । त्यसले मात्रै बजारलाई प्रर्याप्त भएको छैन । हाम्रो बजारको लागि ठूलो फण्ड लगानी गर्ने संस्थाको आवश्यक छ । त्यो भनेको बैंक तथा वित्तीय संस्थाहरु नै हुन । अहिले बैंकको पैसा अन्य क्षेत्रमा कर्जा जान सकेको छैन । भएको निक्षेपको ब्याज तिर्दा झनै खर्च बढेको छ । यस्तो अवस्थामा उनीहरुलाई मार्केट मेकरको रुपमा बजारमा लगानी गर्ने वातावरण बनाउनु पर्ने हुन्छ । बजारमा माग बढाउन बैंकको कारोबारले ठूलो भुमिका गरेको हुन्छ । अहिले बैंकले सकृय रुपमा कारोबार गर्न नपाउदा शेयर बजार मियो विनाको भएको छ । बैंकको कारोबारमा केही सहज भएको छ । तर अझै पनि बजारमा यो ६ महिनाको सीमा हटाउनु पर्छ र सहज रुपमा कारोबार गर्न खुला गरिनु पर्छ ।