जेनजी आन्दोलनले थप बढायो वाणिज्य बैंकको खराब कर्जा, साढे ५ प्रतिशतले ब्याज आम्दानी बढे पनि १८ प्रतिशले घट्याे नाफा

Nov 07, 2025 05:52 PM Merolagani



विगत केही वर्षदेखि शिथिल रहेको अर्थतन्त्रमा जेनजी आन्दोलनले वाणिज्य बैकहरुको खराब कर्जा बढाउन उल्लेख्य भूमिका खेलेको छ । तग्रिन खोजेको अर्थतन्त्रमा जेनजी आन्दोलनले कर्जा असुलीमा समस्या आउँदा खराब कर्जा झनै बढ्न गएको हो ।

चालु आवको प्रथम त्रैमासमा अघिल्लो आवको प्रथम त्रैमासको तुलनामा २० प्रतिशतभन्दा बढीले खराब कर्जा बढेको छ । गत आवको पहिलो त्रैमासमा औसतमा ४.०४ प्रतिशत रहेको खराब कर्जा चालु आवको पहिलो त्रैमाससम्म पुग्दा ४.८६ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज बैंकको मात्रै खराब कर्जा ५ प्रतिशत नाघेको चालु आवको प्रथम त्रैमासमा खराब कर्जा ५ प्रतिशत नाघ्ने बैंकको संख्या ९ पुगेको छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम खराब कर्जा भएको बैंकलाई तुलनात्मक रुपमा सुरक्षित मान्ने गरेको छ । राष्ट्र बैंककै मापदण्ड अनुसार धेरै वाणिज्य बैंकहरु आफ्नो खराब कर्जालाई ५ प्रतिशतभन्दा मुनि नै राख्ने कोसिसमा लागेका हुन्छन । बैंकको प्रयासका बाबजुद पनि प्रतिकुल अवस्थाले गर्दा अहिले ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएको बैंकको संख्या बढ्न पुगेको हो ।

वाणिज्य बैंकहरुको चालु आवको प्रथम त्रैमासिक तथ्यांक अनुसार हिमालयन बैंकको खराब कर्जा सबैभन्दा धेरै ७.३९ प्रतिशत रहेको छ । सिभिल बैंकलाई आफूमा गाभेपछि हिमालयन बैंकले राम्रो ब्यालेन्स सिट प्रकाशित गर्न सकेको छैन । त्यसैगरी एनआईसी एसिया बैंकको खराब कर्जा ६.९९ प्रतिशत र कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशत रहेको छ । विगतमा ऋण विस्तारमा एकदमै आक्रामक रहेको एनआईसी एसिया पछिल्लो समय खराब कर्जा बढ्दै जाँदा खराब कर्जाबापत् प्रोभिजन बढ्दा ऋण विस्तारमा समेत समस्या उत्पन्न भएको थियो । गत वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश नदिएको बैंकहरुले गत वर्षको नाफाबाट यस वर्ष पनि केही लाभांश दिने छैनन् । कुमारी बैक पनि विगत २ वर्षदेखि लगानीकर्तालाई शुन्य लाभांश दिने बैंकमा रहेको छ ।

त्यस्तै सरकारी लगानीको नेपाल बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तथा लक्ष्मी सनराइज बैंकको समेत खराब कर्जा ५ प्रतिशतमाथि छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले जेनजी आन्दोलनसँगै अविरल वर्षाले ल्याएको प्राकृतिक विपत्तिले धेरैको व्यवसाय चौपट भएर ऋणको किस्ता र ब्याज तिर्न सकेनन । ऋणको किस्ता र ब्याज तिर्न नसक्दा बैंकको खराब कर्जा बढ्यो । खराब कर्जा बढ्दा बैंकले उल्टो खराब कर्जाको लागि प्रोभिजन समेत छुट्याउनु पर्दा बैंकको नाफामा कमी आएको उनले बताए ।
तथ्यांकअनुसार बैंकहरुको निक्षेप संकलन ६.१६ प्रतिशतले बढ्दा ऋण विस्तार १४ दशमलब १९ प्रतिशतले भएको छ । चालु आवको पहिलो त्रैमासमा एनआईसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप संकलन गत आवको सोही अवधिको तुलनामा घटेको छ भने ऋण विस्तारमा भने हिमालयन बैंक ऋणात्मक देखिएको छ ।

तथ्यांक अनुसार वाणिज्य बैंकको खुद ब्याज आम्दानी ५ दशमलब ६४ प्रतिशतले बढेको देखिएको छ । औसतमा बैंकको खुद ब्याज आम्दानी बढेको देखिए पनि एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको छ ।

C7#