घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैन-प्रधानमन्त्री कार्की

Nov 08, 2025 05:30 PM merolagani



प्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो चेतावनी दिएकी हुन् ।

उनले लोकतन्त्रका नाममा अब लुटतन्त्र सह्य नहुने बताइन् । इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था नरहने पनि उनले स्पष्ट पारिन् ।

उनले ‘जेनजी’ आन्दोलनको पृष्ठभूमिमा केही उच्छृंखल समूहले राज्यविहीनताको फाइदा उठाउँदै व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नभएको बताइन् । उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवालाई झैँ तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले गएको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई एक नवीन ‘म्यान्डेट’ दिएको बताइन् । नेपाल अब एक पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने उनले उल्लेख गरिन् । उनले अब आमयुवा, नेपालीले अग्रगामी दिशामा देशलाई लिएर जानुबाहेकको विकल्प नभएको बताइन् ।

'भर्खरैको भदौको जेनजी आन्दोलनले देशलाई के सह्य छ र के असह्य छ भन्ने एउटा खुला लक्ष्मणरेखा स्थापित गरेको छ । घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य छैन । लोकतन्त्रको नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन । इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहनु हुँदैन । यो आन्दोलनको पृष्ठभूमिमा केही उच्छृंल समूहहरूले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग, व्यापारिक क्षेत्रमा गरेको क्षति हामीलाई अस्वीकार्य छ । उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी राख्ने छैन भन्ने म पुनः विश्वास दिलाउन चाहन्छु,' उनले भनिन् ।