अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा अर्थ मन्त्रालयका प्रतिनिधि उत्तर कुमार खत्रीले आज आन्दोलनरत कर्मचारीसित वार्ता गरेका थिए। उक्त वार्तामा खत्रीले अर्थ मन्त्रालयको निर्देशनका सम्बन्धमा एक कमिटी गठन गर्ने उक्त कमिटीले दिएको रिपोर्ट अनुसार अघि बढ्ने प्रस्ताव गरेका थिए। त्यसका अतिरिक्त कर्मचारीले पाउँदै आएको सेवा सुबोधमा कटौती नहुने गरेर नियमावली संशोधन गरिदिने समेत बचन दिएका थिए। खत्रीले कार्तिक मसान्तसम्ममा निकास दिने बचन दिएका थिए। त्यस पछि कर्मचारी आफ्नो आन्दोलन फिर्ता लिएर काममा पर्किन सहमत भएको धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुङ्गानाले बताए।
आज बेलुकी बस्ने बोर्ड बैठकले सेबोनका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने छ। जसमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र दुई जना सेबोनका कर्मचारी सदस्य रहने छन् । उनीहरूलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन म्यान्डेट दिइने छ।
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि,२०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न गत असोज २ गते निर्देशन दिएको थियो। अझै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्नु पर्ने समेत निर्देशनमा भनेको थियो। सोही निर्देशन विरुद्ध कर्मचारीले ४८ दिन देखि निरन्तर विरोध गरिरहेका थिए।