अपि पावर कम्पनीले आफ्नै कर्पारेट कार्यालय निर्माण गर्ने

Nov 09, 2025 03:03 PM merolagani



अपि पावर कम्पनीले आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ । 

कम्पनीको २१ औं वार्षिक साधारण सभाको निर्णय अनुसार संस्थाको लागि महत्वपूर्ण सम्पत्ति आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्नको लागि नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरेर निर्माण प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले उक्त भवन अपि टावर नामाकरण गरी आफ्नै लगानीमा बनाउँदैछ । गत कात्तिक २१ गते यस कम्पनीका अध्यक्ष सिर्जना खड्काले कम्पनीका सम्पूर्ण सञ्चालकहरुको उपस्थितिमा केन्द्रिय कार्यालय भवनको सिलान्यास गरेकी हुन् । कम्पनीको केन्द्रिय कार्यालय भवनको निर्माण कार्य २ बर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपालमा निजी उर्जा उत्पादक कम्पनीहरुमध्ये थोरै मात्र कम्पनीहरुले आफ्नो लगानीमा केन्द्रिय कार्यालय निर्माण गरेका छन् ।

 

कार्यालय सिलन्यास गर्दै अपि पावर कम्पनीका कार्यकारी सञ्चालक संजिव न्यौपानेले सम्पूर्ण शेयरधनीको साझा सम्पत्तिका रुपमा कर्पोरेट कार्यालय निर्माण हुने बताए । ‘यस भवनमा अपि पावर कम्पनी लिमिटेड तथा यसका सहायक कम्पनीहरु रहने छन् । यो भवन अपि पावर कम्पनी र यसका सहायक कम्पनीहरुका शेयरधनीहरुको साझा सम्पत्ति हो र भविष्यमा यस्ता लगानीले शेयरधनीहरुको कम्पनी माथिको विश्वास अझै बलियो हुनेमा दुईमत छैन,’ अपि पावर कम्पनीका कार्यकारी सञ्चालक न्यौपानेले भने।