पुनः घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Nov 12, 2025 03:08 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, मंगलबार सामान्य अंक बढेर बन्द भएको थियो। तर, नेप्सेले सो गतिलाई निरन्तरता दिन नसक्दा यस दिन पुनः घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २०.५६ अंक घटेर २५४४.५९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ६२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ६६ हजार ८२४ पटकको कारोबारमा ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँबराबरको ८४ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ८.७२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन्। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने साहस उर्जाको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।