यस संस्करणमा हालसम्म सर्वाधिक रन बनाएका रवि बोपार रहेको चितवन राइनोज ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ। तीन खेल खेलिसकेको चितवनले दुई खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो। त्यस्तै, ४ खेलमा ४ अंक बटुलेर तेस्रो स्थानमा रहेको काठमान्डु गोर्खाजले हालसम्म दुई खेलमा जितेको छ भने दुई खेल हारेको छ। काठमान्डु गोर्खाजका कप्तान करण केही सर्वाधिक विकेट लिनेहरुको सूचीमा तेस्रो स्थानमा छन्। उनले हालसम्म ७ विकेट लिएका छन्। यी दुई टोलीबीच आज मध्यान्ह ११ः४५ मा खेल सुरु हुनेछ।
त्यस्तै, अंकतालिकाको सातौँ स्थानमा रहेको कर्णाली याक्सले भने आज साँझ ४ बजे हुने खेलमा दोस्रो स्थानमा रहेको विराटनगर किंग्सको सामना गर्नेछ। तीन खेल खेलेको कर्णालीको २ अंक छ भने ४ खेलमध्ये ३ खेलमा जित हासिल गरेको विराटनगर किंग्सको ६ अंक छ। ४ खेलमा ९ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका सन्दिप लामिछाने विराटनगरका कप्तान हुन् भने कर्णालीका मार्क वाट सर्वाधिक रन बनाएकाको सूचीमा दोस्रो स्थानमा छन्।