नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन गरिने भएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय तथा सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिनेछ। निर्वाचनका सिलसिलामा सेनाले चारैवटा सुरक्षा निकाय र जिल्ला प्रशासनसँगको समन्वय, सहयोग तथा सहकार्यमा तल्लो तहसम्म निर्वाचनसम्बन्धी एकीकृत तालिम र अभ्यास सञ्चालन गर्नेछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले उक्त तालिम र अभ्यास सञ्चालन गरिनेछ।
मतदानका समयमा निर्वाचन स्थल तथा केन्द्रमा खटिँदा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ।
विगतमा जस्तै आगामी निर्वाचनलाई लक्षित गर्दै सेनाले देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गर्ने तयारी गरेको छ। फागुन २१ गते मतदान सम्पन्न भएसँगै मतपेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षालगायतका जिम्मेवारी पनि सेनाले लिनेछ।
तोकिएको मितिमा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने क्रममा हाल प्रदेशस्तरमा समेत सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन्। गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउनेछ।
सबै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा जनप्रतिनिधिबीचको समन्वय र सहकार्यमा राज्यको प्राथमिक कार्यभारका रूपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न आफूहरू तयार रहेको नेपाली सेनाले जनाएको छ।