राष्ट्रिय सभा निर्वाचनमा सहजरुपमा तालमेल भएपछि कांग्रेस र एमालेबीच फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमासमेत तालमेल गर्ने सम्भावना बढेको नेताहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार अहिले तालमेलको लागि मुख्य तीनवटा ‘मोडल’ अघि सारिएको छ । ती ‘मोडल’हरु हुन्ः
कुल सिट संख्याको आधा आधा मिलाएर भागवण्डा गर्ने
२०७९ को निर्वाचनमा आफूहरु दुईवटा मध्ये जुन पार्टीले जितेको हो त्यो निर्वाचन क्षेत्रमा त्यही पार्टीलाई सघाएर बाँकी रहेका सिटहरुमा पनि मत प्रतिप्रतिशतको आधारमा भागवण्डा गर्ने । र,आफूहरु दुई पार्टी प्रतिस्पर्धामा आउन सक्ने क्षेत्रमा ‘स्वस्थ्य प्रतिस्पर्धा’ गरेर अन्य पार्टीले जित्न सक्ने क्षेत्रमा मात्र तालमेल गर्ने ।

स्रोतकाअनुसार दुवै पार्टीले १६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको बारेमा आन्तरिकरुपमा गहन अध्ययन गरिसकेका छन् । त्यहीअनुसार अहिले ती पार्टीहरुले निर्वाचनमा कुन पार्टीले कुन क्षेत्रमा कति मत ल्याउछ भन्ने आंकलन गरिरहेका छन् । त्यो आधारमा दुवै पार्टीले करिब एकसय वटा निर्वाचन क्षेत्रमा कांग्रेस एमालेबीच नै प्रतिस्पर्धा हुन सक्ने र बाँकी ६५ वटा निर्वाचन क्षेत्रमा भने नेकपा, रास्वपालगायतका पार्टीहरु प्रतिस्पर्धामा आउन सक्ने आंकलन गरेका छन् ।
‘सबै निर्वाचन क्षेत्रमा तालमेल नभए पनि अरु पार्टीहरु प्रतिस्पर्धामा आउने र जित्न सक्ने सम्भावना रहेका ती ६५ वटा क्षेत्रहरुमा तालमेल गर्नै पर्छ भन्नेमा दुवै पार्टीका नेताहरु सहमत हुनुहुन्छ,’ नेकपा एमालेका एक नेताले मेरो लगानीसँग भने ।
उनका अनुसार शहरी क्षेत्रमा रास्वपा, तराई–मधेसमा जसपा र कर्णालीसहित सुदूरपश्चिममा नेकपा तथा पूर्वमा हर्क साप्पाङको श्रम संस्कृति पार्टीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ ।
जस्तो की एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापा २ नम्बर क्षेत्रबाहेक अरू क्षेत्रमा कांग्रेस एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने ती पार्टीहरुको विश्लेषण छ । उक्त क्षेत्रबाट ०७९ को चुनावमा सभामुख देवराज घिमिरे निर्वाचित भएका थिए । तर, उनलाई स्वतन्त्र उठेका राजावादी अधिवक्ता स्वागत नेपालले कडा चुनौति दिएका थिए । त्यसैले त्यो क्षेत्र घिमिरेको लागि सुरक्षित राख्न नेकपा एमालेलाई कांग्रेसले सघाउने र त्यसको सट्टा मोरङ वा सुनसरीको कुनै क्षेत्रमा नेकपा एमालेले नेपाली कांग्रेसलाई सघाउने गरि कुराकानी अगाडि बढेको बताइएको छ । त्यस्तै ओलीको गृह क्षेत्र झापा क्षेत्र नं ५ मा नेपाली कांग्रेसले सघाउने र कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्र डडेल्धुरामा नेकपा एमालेले उम्मेदवार नउठाई उनलाई सहयोग गर्ने तयारी भएको छ ।
काठमाडौँ उपत्यकाको हकमा यहाँ १५ वटा निर्वाचन क्षेत्रमध्ये १४ वटामा रास्वपाले ‘धक्का’ दिन सक्ने र भक्तपुर १ मा भने कुनै पनि हालतमा नेपाल मजदुर किसान पार्टीको गढ भत्काउन नसक्ने नेताहरुको बुझाई छ । त्यहीअनुसार सबै क्षेत्रमा तालमेल गर्ने तयारी भएको छ ।