शेयर धितो कर्जा १ खर्ब ४८ अर्ब नाघ्यो, ठूला लगानीकर्ताकै वर्चस्व

Jan 09, 2026 03:51 PM merolagani



नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको वित्तीय प्रतिवेदन  आज सार्वजनिक गरेको  छ। राष्ट्र बैंकको विवरण अनुसार धितोपत्र बजारमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा (शेयर धितो कर्जा) मा उल्लेख्य वृद्धि भएको छ।  कुल कर्जा १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ विवरणमा छ।

राष्ट्र बैंकको यो तथ्याङ्कले नेपाली शेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी उच्च गतिमा बढिरहेको देखाउँछ। विशेष गरी पछिल्लो डेढ वर्षको अवधिमा शेयर धितो कर्जाको आकारमा ठूलो फड्को मारेको देखिएको छ। गत वर्ष साउनमा  ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको यस्तो कर्जा चालु वर्षको मङ्सिरसम्म आइपुग्दा करिब ६४ प्रतिशतले वृद्धि भएको छ।

तथ्याङ्कलाई विश्लेषण गर्दा शेयर बजारमा ठूला लगानीकर्ताहरूको पकड अझै बलियो देखिएको छ। कुल प्रवाहित १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कर्जामध्ये १ करोड रुपैयाँ भन्दा माथिको कर्जाको हिस्सा मात्रै १ खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ रहेको छ। यो कुल शेयर धितो कर्जाको करिब ७० प्रतिशत हुन आउँछ। पछिल्लो पाँच महिनाको अवधिमा मात्रै १ करोडभन्दा माथिको कर्जा ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँले थपिएको छ। यसले के सङ्केत गर्छ भने बजारको उतारचढावमा ठुला लगानीकर्ताहरूले बैंकको कर्जालाई मुख्य हतियार बनाइरहेका छन्।

तथ्याङ्क अनुसार मध्यम वर्गीय र साना लगानीकर्ताको ऋण लिने प्रवृत्ति पनि क्रमिक रूपमा बढ्दो छ। ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ। रोचक कुरा के छ भने, यो समूहको कर्जा पछिल्लो पाँच महिनामा सबैभन्दा उच्च ११.७ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११.३ प्रतिशत थियो।

त्यसै गरी,२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १८ अर्ब २८ करोड १९ लाख रुपैयाँ प्रवाह भएको छ। यस समूहमा पाँच महिनाको अवधिमा ७१ करोड ५८ लाख रुपैयाँ कर्जा थपिएको छ।सबैभन्दा साना लगानीकर्ता, जसले २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा लिएका छन्, उनीहरूको कुल कर्जा मौज्दात ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। यो समूहमा ६.७ प्रतिशतको वृद्धि देखिएको छ, जुन अघिल्लो वर्षको ४.६ प्रतिशतको तुलनामा केही बढी हो।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै कुल ८ अर्ब ८ करोड ६० लाख रुपैयाँले शेयर धितो कर्जा बढेको छ। यो समग्रमा ५.७ प्रतिशतको वृद्धि हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो कर्जा १९.८ प्रतिशत अर्थात् १७ अर्ब ८५ करोड २० लाख रुपैयाँले बढेको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष वृद्धिदर केही सुस्त देखिए पनि कुल आकार भने ऐतिहासिक उचाइमा पुगेको छ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा (क्याप) मा गरेको परिमार्जन र बैंकहरूमा रहेको पर्याप्त तरलताका कारण ब्याजदर सस्तिएकाले लगानीकर्ताहरू कर्जातर्फ आकर्षित भएका हुन्। बैंक तथा वित्तीय संस्थाहरूले पनि व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई लक्षित गरी विभिन्न अफरहरू ल्याउँदा कर्जाको माग बढेको देखिन्छ।

 




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।