पार्टी संस्थापन पक्षले अवरोध गरिरहेको र विगतमा संस्थापन पक्षमा रहेका कैयौं महाधिवेशन प्रतिनिधिहरु अन्तिम समयमा कित्ता परिवर्तन गर्दै महामन्त्रीहरुको पक्षमा खुल्ने क्रम चलिरहेकोले महाधिवेशनमा कति सहभागि हुनेछन् भन्ने बारेमा आयोजकहरु स्वंयले यकिनरुपमा भन्न सकेका छैनन् ।
तर गत असोजमै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै निवेदन दिएको र पछिल्लो समयमा यही कित्तामा उभिनेहरुको संख्या बढिरहेकोले झण्डै २ तिहाई महाधिवेशन प्रतिनिधि सहभागि हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवालाई हटाएर नयाँ नेतृत्व स्थापित गर्नको लागि दवाव दिइरहेका महामन्त्रीहरुको माग बमोजिम यही मंसिर भित्र हुनु पर्ने महाधिवेशन नगरि नेतृत्वको कार्यकाल केही महिना थपिएको थियो । त्यसबाट आक्रोसित भएका महामन्त्रीहरु सहितका इतर पक्षका नेताहरुले विशेष महाधिवेशनको आव्हान गरेका हुन् । विशेष महाधिवेशनबाट नेपाली कांग्रेस विभाजन हुन सक्ने आशंका भैरहेका बेला दुवै महामन्त्रीहरुले आफूहरुले ‘विष पिएर भए पनि पार्टी विभाजन हुन नदिने’ दावी गर्दै आइरहेका छन् ।
साथै उनीहरुले विशेष महाधिवेशनबाट पार्टीलाई वृहतरुपमा रुपान्तरण गर्ने एजेण्डा पारित गर्ने र त्यसबाट पार्टी एकता झन सुदृढ हुने दावि गरिरहेका छन् । त्यसको अर्थ महाधिवेशनबाट नेतृत्व चयन नगर्ने उनीहरुको मनसाय देखिन्छ । जब पार्टीमा सुधारको लागि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष नै जिम्मेवार हो भने विशेष महाधिवेशनबाट त्यस्तो नेतृत्वलाई नहटाई कसरी पार्टी भित्रका समस्या समाधान हुन सक्छ ? अनि महाधिवेशनका बहुसंख्यक प्रतिनिधिहरुले नयाँ नेतृत्व छनौट गर्नु पर्ने अडान लिए भने गगन विश्वले के गर्छन् ? महाधिवेशन प्रतिनिधिहरुको माग अनुसार नयाँ नेतृत्व चयन भएपछि पार्टी विभाजन हुँदैन ?

यी प्रश्नहरु नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले मात्र होइन, अन्य पार्टीका नेता कार्यकर्ताहरुले पनि गरिरहेका छन्, जस्को चित्तबुझ्दो जवाफ गगन विश्वले दिन सकिरहेका छैनन् । त्यसैले पनि यो विशेष महाधिवेशन कांग्रेस विभाजनको कारक बन्दैन भनेर कसैले पनि भन्न सकेको छैन ।
विशेष महाधिवेशनबाटै कांग्रेस विभाजन हुन सक्ने आशंका गरिनु पछाडि धेरै कारणहरु छन् । मुख्य कारण पार्टीको संस्थापन पक्ष अर्थात देउवा पक्ष महामन्त्रीहरुसँग सहमती गर्नको लागि तयार नहुनु बरु भिड्न तयार हुनु हो । विशेष महाधिवेशनको उद्घाटनकै दिन युवा विद्यार्थीहरुको भेला राख्नु, देउवा पक्षमा रहेका प्रदेश र जिल्ला समितिहरुले महाधिबेशनमा सहभागि नहुन आव्हान गर्नुले गर्दै सहभागि हुन खोज्नेहरुलाई अवरोध गर्ने प्रयास गर्नुले संस्थापन पक्ष सहमतीको लागि होइन, भिड्नकै लागि तयार छ भन्ने स्पष्ट गर्छ ।
त्यस्तै देउवा इतर खेमामा रहेका नेपाली कांग्रेसका अधिकांश चर्चित नेताहरुले यही महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नु पर्ने आवाज उठाइरहेका छन् भने कांग्रेस निकट वुद्धिजिवी र कानुन विद्हरुले पनि निरन्तर त्यस्तै दावी गरिरहेका छन् । त्यहीअनुसार यदि महाधिवेशन प्रतिनिधिहरुले नेतृत्व चयनका लागि दवाव दिए भने महामन्त्री गगन—विश्वले भन्दै आएको ‘विष पुगेर पनि पार्टी एकता जोगाउने’ अठोटमा कसरी कायम रहलान् ? यो पेचिलो प्रश्न बनेको छ ।
यद्धपि अझै पनि पार्टीमा एकताको लागि मध्ममार्गी धारका केही नेताहरुले प्रयास गरिरहेका छन् । स्वंय देउवा खेमाकै नेताहरुले पनि पार्टी विभाजन हुन नदिनको लागि विशेष पहल गर्न अनुरोध गरिरहेका छन् । त्यसैले आइतबार बिहानसम्म नेपाली कांग्रेसमा अर्काे कुनै ‘खिचडी’ पाकेर सहमती महामन्त्रीहरु र संस्थापन पक्षबीच सहमती भई विशेष महाधिवेशनलाई पार्टी सुधारको लागि ‘संकल्प महाधिवेशन’ मा परिणत गरियो भने आश्चर्य मान्नु नपर्ने विश्लेषकहरुको तर्क छ ।