शेयर कर्जामा कुन बैंकको ब्याजदर कति ? कृषि विकास बैंक सबैभन्दा सस्तो (सूचीसहित)

Jan 17, 2026 05:56 PM merolagani



नेपालका बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय शेयर धितो कर्जाको ब्याजदरमा प्रतिस्पर्धा गरिरहेका छन्। बैंक वित्तीय संस्थासँग अधिक तरलता थुप्रिएसँगै उनीहरूले कर्जाको  ब्याजमा प्रतिस्पर्धा गरिरहेका हुन्। 

 ब्याजमा प्रतिस्पर्धाले  लगानीकर्ताहरूका लागि सस्तो ब्याजदरमा ऋण प्राप्त गर्ने अवसर सिर्जना गरिरहेको छ। बैंक वित्तीय संस्थाले सार्वजनिक गरेको पछिल्लो शेयर कर्जाको ब्याजदरको विवरण अनुसार कृषि विकास बैंकले सबैभन्दा कम ब्याजदरमा शेयर कर्जा उपलब्ध गराइरहेको  छ। ब्याजदरको विवरण अनुसार कृषि विकास बैंकले न्यूनतम ५.३२ प्रतिशत देखि ७.८२ प्रतिशतसम्मको ब्याजदरमा 'मार्जिन लेन्डिङ लोन' उपलब्ध गराइरहेको छ। यो हाल बजारमा उपलब्ध शेयर कर्जाहरूमध्येकै सबैभन्दा न्यून दर हो।

कृषि विकास बैंकपछि सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंक सस्तो दरमा कर्जा दिने सूचीमा रहेका छन्। सिद्धार्थ बैंकले ५.७८ प्रतिशत देखि  ९.०३ प्रतिशतसम्म, नेपाल एसबिआई बैंक ५.७९ प्रतिशत देखि  ७.७९  प्रतिशतसम्म, एभरेस्ट बैंक ५.८० प्रतिशत देखि ७.८० प्रतिशतसम्म, सिटिजन्स बैंक ५.८१ प्रतिशत देखि ८.८१  प्रतिशतसम्म, प्राइम बैंक ५.९४ प्रतिशत देखि १०.९४  प्रतिशतसम्म, राष्ट्रिय वाणिज्य बैंक ५.९८ प्रतिशत देखि ६.४८  प्रतिशतसम्म शेयर ऋण दिइरहेका छन्। यी बैंकहरूले ६ प्रतिशतभन्दा कमको सुरुवाती ब्याजदरमा शेयर कर्जा प्रवाह गरिरहेका छन्।

धेरैजसो वाणिज्य बैंक र केही विकास बैंकहरूको ब्याजदर ६ प्रतिशतदेखि ८ प्रतिशतको बिचमा रहेको छ। नबिल बैंक (६.२३%), हिमालयन बैंक (६.२४%), र ग्लोबल आइएमई बैंक (६.२४%) ले करिब उस्तै दरमा कर्जा दिइरहेका छन्।

अर्कोतर्फ, फाइनान्स कम्पनीहरू र केही साना विकास बैंकहरूको ब्याजदर तुलनात्मक रूपमा उच्च देखिएको छ। रिलायन्स फाइनान्सको ब्याजदर ९.९१ प्रतिशत देखि १०.९१ प्रतिशतसम्म रहेको छ भने वेस्ट फाइनान्सले अधिकतम १४.४१ प्रतिशतसम्म ब्याज लिने गरेको देखिन्छ। सिन्धु विकास बैंकको ब्याजदर पनि अधिकतम १३.०५ प्रतिशतसम्म पुगेको छ।

शेयर बजारमा लगानी गर्न चाहनेहरूका लागि ब्याजदरमा आएको यो गिरावटले राहत दिएको छ। विशेषगरी सरकारी स्वामित्वको कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको न्यून ब्याजदरले लगानीकर्ताहरूलाई यी बैंकतर्फ आकर्षित गर्न सक्छ। यद्यपि, ऋण लिनुअघि ब्याजदरका साथै सेवा शुल्क, प्रक्रियागत सहजता र नवीकरण शुल्कका बारेमा पनि बुझ्न आवश्यक हुन्छ।

शेयर धितो कर्जा के हो ?

आफूसँग भएको सूचीकृत कम्पनीको शेयरलाई बैंक वा वित्तीय संस्थामा धितो राखेर लिइने ऋणलाई नै शेयर धितो कर्जा वा 'मार्जिन लेन्डिङ' भनिन्छ। यो कर्जा विशेष गरी शेयर बजारमा लगानी गर्नेहरूका लागि थप पुँजी जुटाउन वा व्यक्तिगत गर्जो टार्नका लागि उपयोगी हुन्छ। तर, बजारमा सूचीकृत भएका सबै कम्पनीको शेयर धितो राखेर यस्तो कर्जा प्राप्त गर्न सकिँदैन। नेपाल राष्ट्र बैंकको नीति र बैंकहरूको आन्तरिक कार्यविधि अनुसार कम्तीमा पछिल्लो तीन वर्षदेखि नाफामा रहेका, नियमित रूपमा लाभांश वितरण गरेका, र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्तीमा १८० दिन कारोबार भएका कम्पनीको शेयरलाई मात्र धितोको रूपमा स्वीकार गरिन्छ। नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंक वित्तीय संस्थाले कुनै पनि कम्पनीको शेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्य जुन कम हुन्छ। त्यसको ७० प्रतिशतसम्म कर्जा दिने गरेका छन्। 
 
 साधरणतया 'क' वर्गका वाणिज्य बैंकहरू र राम्रो वित्तीय अवस्था भएका विकास बैंक वा फाइनान्स कम्पनीहरूको शेयरमा शेयर धितो ऋण सहजै पाइन्छ, तर रुग्ण वा समस्याग्रस्त घोषित कम्पनी, नेटवर्थ ऋणात्मक भएका कम्पनी र नयाँ सूचीकृत भई पर्याप्त कारोबार नभएका कम्पनीको शेयरमा ऋण पाइँदैन।

 

शेयर धितो कर्जाको मुख्य लाभ भनेको आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री नगरीकनै लगानीकर्ताले तत्काल नगद प्राप्त गर्न सक्नु हो। यसले गर्दा बजारमा राम्रो अवसर आउँदा शेयर नबेची थप लगानी गर्न वा घर खर्च र व्यापारिक प्रयोजनका लागि पुँजी जुटाउन मद्दत पुग्छ। साथै, शेयरको मूल्य बढेको खण्डमा लगानीकर्ताले दोहोरो फाइदा लिन सक्छन्-एकातिर शेयरको मूल्य वृद्धिबाट हुने नाफा र अर्कोतिर कर्जाको रकम परिचालनबाट हुने लाभ। 

तर, यो कर्जासँगै उत्तिकै गम्भीर जोखिमहरू पनि जोडिएका हुन्छन्। शेयर बजार उतारचढावपूर्ण हुने भएकाले धितो राखिएको शेयरको मूल्य घट्न थाल्यो भने बैंकले 'मार्जिन कल' गर्दछ। यस्तो अवस्थामा लगानीकर्ताले कि त थप नगद बुझाउनुपर्छ, कि त थप शेयर धितो राख्नुपर्छ। यदि लगानीकर्ताले समयमै मार्जिन कायम गर्न सकेन भने बैंकले आफैँ शेयर बिक्री गरेर आफ्नो साँवा र ब्याज असुल गर्छ, जसले गर्दा लगानीकर्ताले ठुलो घाटा व्यहोर्नुपर्ने हुन सक्छ। यसका साथै ब्याजदरमा हुने वृद्धिले पनि ऋणको भार बढाउने हुँदा बजारको अवस्था र आफ्नो तिर्न सक्ने क्षमतालाई राम्ररी विश्लेषण गरेर मात्र यस्तो कर्जा लिनु बुद्धिमानी हुन्छ।

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।