शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने अवधि लम्बियो

Feb 03, 2026 07:05 AM Merolagani



शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीको आईपीओमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ।

यद्यपि, मागभन्दा बढी आवेदन परेमा सो अगावै जुनसुकै समयमा पनि निष्काशन तथा बिक्री बन्द गरिने कम्पनीले बताएको छ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाटको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २९.०८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहेको छ। सो आयोजनाबाट २०८१ फागुन २५ देखि व्यवसायिक उत्पादन भइरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ प्रति दरखास्त शुल्क बुझाउनु पर्नेछ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।