एपमा शेयर मात्र होइन, सुन, चाँदी र कृषि उपज (कमोडिटी) को मूल्य पनि एकैसाथ देखिन्छ। तपाईँले बिहान शेयर किन्नुहुन्छ र नाफा देखिने बित्तिकै दिउँसो नै बेचिदिनुहुन्छ (इन्ट्राडे ट्रेडिङ)। तपाईँको पैसा र शेयरको हिसाब-किताब 'रियल टाइम' मा बैंक र सीडीएससीसँग अपडेट हुन्छ। यो कुनै सपना होइन, यदि २०८२ को नेप्से पुनर्संरचना प्रतिवेदन अक्षरशः पालना भयो भने आउने दुई वर्षभित्र नेपाली पूँजी बजारको तस्बिर यही हुनेछ।
अब कल्पना गरौँ, विसं २०८४ को कुनै एक सुन्दर बिहानी।
बाहिर झुल्के घामले काठमाडौँका डाँडाहरू छिचोल्दै गर्दा तपाईँ आफ्नो ओछ्यानमा कफीको सुर्की लिँदै हुनुहुन्छ। तपाईँको हातमा रहेको अत्याधुनिक स्मार्टफोनमा एउटा 'ह्याप्टिक' नोटिफिकेसन आउँछ। तपाईँले स्क्रिन अन गर्ने बित्तिकै 'नेप्से सुपर एप' खुल्छ। यो एप अब केवल एउटा साधारण ट्रेडिङ प्लेटफर्म मात्र रहेन। यो त तपाईँको वित्तीय साम्राज्यको ढुकढुकी बनेको छ। एपको गृहपृष्ठमा कुनै हलिउड फिल्मको 'कन्ट्रोल सेन्टर' मा झैँ हरिया र राता धर्साहरू नाचिरहेका छन्। त्यहाँ बैंकको शेयर मात्र छैन। चियाको बोटबाट भर्खरै टिपिएको इलामे चियाको 'कमोडिटी' मूल्य, हिजो राती न्यूयोर्कमा तय भएको सुनको भाउ र डोल्पाको बहुमूल्य जडीबुटीको भविष्यको बजार (फ्युचर रेट) समेत एकैसाथ झल्किरहेका छन्। बिहानको १० बज्दा नबज्दै तपाईँले केही शेयर किन्नुहुन्छ र ११ बज्दा मूल्य अलिकति बढ्ने बित्तिकै त्यसलाई बेचिदिनुहुन्छ। तपाईँको बैंक खातामा पैसा 'रियल टाइम' मा जम्मा हुन्छ। कुनै ढिलाइ छैन, कुनै 'T+2' को झन्झटिलो पर्खाइ छैन। यो एक यस्तो संसार हो जहाँ पूँजी र प्रविधिले मानिसको समयको गतिलाई पछ्याइरहेका छन्।

तर यो जादुई संसार कसरी सम्भव भयो ? एउटा यस्तो देश जहाँ कहिलेकाहीँ शेयर बजारको वेबसाइट खुल्न पनि महाभारत हुन्थ्यो। त्यहाँ यस्तो अभूतपूर्व रूपान्तरण कसरी आयो ? यसको पछाडि विसं २०८२ सालको त्यो ऐतिहासिक 'पुनर्संरचना प्रतिवेदन' थियो, जसलाई त्यस बेलाका सरोकारवालाहरूले एउटा पवित्र धार्मिक ग्रन्थ झैँ अक्षरशः पालना गरे।
तपाईँ सम्झिनुहुन्छ, २०८२ सालको अन्त्यतिर नेप्से एउटा 'सरकारी अड्डा' झैँ लाग्थ्यो। सिंहदरबारको एउटा शाखा जस्तो, जहाँ हरेक साना निर्णयका लागि मन्त्रालयको फाइल घुम्नुपर्थ्यो। नेप्सेको ५८ प्रतिशतभन्दा बढी स्वामित्व सरकारको हातमा थियो। सरकारी कर्मचारीहरूको बाहुल्यता रहेको बोर्डले व्यावसायिकता भन्दा बढी प्रक्रियाको कुरा गर्थ्यो। तर प्रतिवेदनले एउटा कडा 'डेडललाइन' तोकिदियो— 'दुई वर्षभित्र नेप्सेको मुहार फेर्नै पर्छ।' र, त्यो यात्रा सुरु भयो 'तत्काल' गर्नुपर्ने सुधारबाट। सबैभन्दा पहिला नेप्सेको सञ्चालक समितिमा रहेका सरकारी कर्मचारीहरूको कुर्सी हटाइयो र त्यहाँ चार्टर्ड एकाउन्टेन्ट, प्राविधिक विज्ञ र बजारका धुरन्धर अर्थशास्त्रीहरूलाई नियुक्त गरियो। यो कुनै साधारण हेरफेर थिएन, यो त नेप्सेको डिएनए बदल्ने पहिलो शल्यक्रिया थियो।
प्रतिवेदनले भनेको तीन महिनाभित्रै एउटा ठुलो साङ्गठनिक सर्वेक्षण भयो। तपाईँले २०८४ को नेप्सेमा काम गर्ने कर्मचारीहरूलाई देख्नुभयो भने छक्क पर्नुहुनेछ। त्यहाँ अब फाइल बोकेर हिँड्ने पियनहरू छैनन्। बरु कम्प्युटरका स्क्रिनमा 'डाटा साइन्स' का सूत्रहरू चलाइरहेका सफ्टवेयर इन्जिनियरहरू छन्। प्रतिवेदनले ६ महिनाभित्र कानुनी ढोकाहरू खोल्न निर्देशन दिएको थियो। परिणामस्वरूप, 'इन्ट्राडे ट्रेडिङ' र 'शर्ट सेलिङ' जस्ता शब्दहरू केवल भाषणमा मात्र सीमित रहेनन्। लगानीकर्ताले बजार बढ्दा मात्र होइन, घट्दा पनि पैसा कमाउन सक्ने औजारहरू हातमा पाए। त्यो ६ महिनाको समय यस्तो थियो जब नेपालको शेयर बजारको 'कंकाल' मा नयाँ मासु र रगत भरिँदै थियो।
त्यो दुई वर्षको यात्रामा सबैभन्दा रोमाञ्चक मोड तब आयो, जब नेप्सेले 'वर्ल्ड फेडरेसन अफ एक्सचेन्जे' (WFE) को पूर्ण सदस्यता प्राप्त गर्यो। एक वर्ष पुग्दा नपुग्दै नेप्सेको प्रविधि यति बलियो भयो कि यसले विश्वका ठुला स्टक एक्सचेन्जहरूसँग आँखा जुधाएर कुरा गर्न थाल्यो। प्रतिवेदनले भनेको 'डिजायर' अनुसार नेप्सेले आफ्नो डिजास्टर रिकभरी साइटलाई यति आधुनिक बनायो कि ठुलै महाभूकम्प आए पनि शेयर बजार एक सेकेन्डका लागि पनि बन्द नहुने गरी 'अभियन्त्रण' गरियो। लगानीकर्ताहरूमा एउटा भरोसा जाग्यो—"मेरो पैसा र शेयर अब पूर्ण सुरक्षित छ।"
२०८४ को यो आधुनिक नेप्सेमा आइपुग्दा अर्को एउटा ठुलो 'मिरेकल' भएको छ—रणनीतिक साझेदारको प्रवेश। प्रतिवेदनले भनेको थियो कि नेप्सेको १५ देखि २५ प्रतिशत शेयर विश्वको कुनै एउटा ठुलो स्टक एक्सचेन्जलाई दिनुपर्छ। आज नास्डक वा टोकियो स्टक एक्सचेन्ज जस्ता संस्थाको प्रविधि र अनुभव नेप्सेको नसा-नसामा बगिरहेको छ। नेप्से अब सरकारी नियन्त्रणबाट मुक्त छ। सरकारको हिस्सा खुम्चिएर २५ प्रतिशतमा झरेको छ। र, सबैभन्दा गर्वको कुरा, नेप्से आफैँले आफ्नो शेयर सर्वसाधारणका लागि निष्कासन (IPO) गरेको छ। आज तपाईँ केवल अरू कम्पनीको शेयर मात्र किन्नुहुन्न। तपाईँले नेप्सेकै शेयर पनि आफ्नो पोर्टफोलियोमा राख्नुभएको छ। तपाईँ नेप्सेको लगानीकर्ता मात्र होइन, अब यसको मालिक पनि हुनुहुन्छ।
यो नयाँ युगमा सिमानाहरू मेटिएका छन्। तपाईँको एउटा आफन्त न्यूयोर्कको टाइम्स स्क्वायरमा बसेर कफी पिउँदै गर्दा तपाईँकै एप प्रयोग गरेर नेपालको जलविद्युत कम्पनीको शेयर किनिरहेको हुन्छ। प्रतिवेदनले गैर-आवासीय नेपालीहरूका लागि जुन 'डिजिटल डलर खाता' र लगानी सहजीकरणको मार्गचित्र कोरेको थियो। त्यसले नेपालमा विदेशी मुद्राको बाढी नै ल्याइदियो। डलर ल्याउन र लैजान कुनै बैंकको ढोका ढकढकाउनु पर्दैन। सबै कुरा अटोमेसनमा चल्छ। यो सब त्यही २०८२ सालको प्रतिवेदनको 'अक्षरशः पालन' को फल हो।
२०८४ को यो फेन्टासी संसारमा 'इन्साइडर ट्रेडिङ' र 'कर्नरिङ' भन्ने कुरा इतिहासका पानामा मात्र सीमित छन्। नेप्सेको मुटुमा एउटा यस्तो 'आर्टिफिसियल इन्टेलिजेन्स' (AI) लुकेको छ। जसले कुनै पनि शङ्कास्पद कारोबार हुने बित्तिकै सेकेन्डभरमै कारबाही प्रक्रिया सुरु गर्छ। कसैले बजार चलखेल गर्ने आँट गर्दैन। सानो भन्दा सानो लगानीकर्ताले पनि महसुस गर्छ कि यो बजार ठुला टाठा बाठाहरूका लागि मात्र होइन, मेरो जस्तो सानो बचतकर्ताका लागि पनि उत्तिकै न्यायपूर्ण छ।
साँझ पर्दै गर्दा तपाईँ आफ्नो एपमा 'कमोडिटी सेक्सन' मा जानुहुन्छ। तपाईँले देख्नुहुन्छ कि मुस्ताङको स्याउको माग खाडी मुलुकमा बढेकाले यसको 'फ्युचर कन्ट्रयाक्ट' को मूल्य उकालो लागेको छ। तपाईँले भर्चुअल रूपमै स्याउको भविष्यमा लगानी गर्नुहुन्छ। शेयर बजार अब केवल कागजको खोस्टोमा सीमित छैन। यसले देशको वास्तविक उत्पादन र अर्थतन्त्रलाई प्रत्यक्ष जोडेको छ। प्रतिवेदनले कोरेको त्यो 'सुपर मार्केट' को सपना आज २०८४ मा आएर बिपना भएको छ।
यसरी, एउटा प्रतिवेदनले कसरी एउटा संस्था, एउटा बजार र समग्र देशकै भविष्य बदल्न सक्छ भन्ने उदाहरण बनेको छ २०८४ को नेप्से। यो कुनै संयोग थिएन, यो त २०८२ सालमा सुरु भएको त्यो सुधारको यात्राको एउटा सुन्दर गन्तव्य थियो। तपाईँ मुस्कुराउनुहुन्छ र मोबाइल बन्द गर्नुहुन्छ। तपाईँलाई थाहा छ। अबको नेपालमा पूँजी बजार केवल जुवा घर होइन, यो त समृद्धिको सबैभन्दा बलियो इन्जिन हो। २०८४ को यो सुनौलो बिहानीमा तपाईँले लिनुभएको यो कफीको सुर्की केवल कफीको स्वाद मात्र होइन, यो त एउटा आधुनिक र आत्मनिर्भर नेपालको आत्मविश्वासको स्वाद हो।
कफीको अन्तिम सुस्कीसँगै मोबाइल बन्द गरिरहँदा एउटा प्रश्न मनमा उब्जिन्छ—यो सबै कसरी सम्भव भयो ? २०८४ को यो आधुनिक वित्तीय संसार कुनै चमत्कारिक रूपमा रातारात ठडिएको होइन। यसको बलियो जग त विसं २०८२ सालको त्यो माघ महिनामा कोरिएको थियो, जब नेपालको अर्थतन्त्रले एउटा नयाँ दिशा लिने अठोट गरेको थियो। आज हामीले उपभोग गरिरहेको यो प्रविधि, यो सुरक्षा र यो विश्वव्यापी पहुँचका खास 'आर्किटेक्ट' वा वास्तुकारहरू ती व्यक्ति हुन्, जसले कोठाभित्र बसेर महिनौँको अध्ययनपछि त्यो ऐतिहासिक पुनर्संरचना प्रतिवेदन तयार पारे।
त्यसैले, २०८४ को यो उज्यालो बिहानीबाट हामीले समयको पाङ्ग्रालाई थोरै पछाडि फर्काएर ती दूर द्रष्टा व्यक्तित्वहरूलाई सम्झिनै पर्छ। तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल, जसले नेप्सेलाई सरकारी नियन्त्रणबाट मुक्त गरी विश्व स्तरीय बनाउने साहसी निर्णय लिए र यो समितिलाई पूर्ण कार्यादेश दिए। उनको त्यो अडान र राजनीतिक अभिभावकत्व बिना यो परिवर्तन सम्भव थिएन।
त्यस्तै, यो विशाल मार्गचित्र तयार पार्ने समितिका संयोजक प्रकाश जङ्ग थापा, जसको नेतृत्वमा नेपाली पूँजी बजारको इतिहासमै सबैभन्दा विस्तृत र कार्यान्वयनयोग्य प्रतिवेदन तयार भयो। थापा र उहाँको विज्ञ टोलीले बुनेको त्यही 'ब्लुप्रिन्ट' आज बिपनामा परिणत भएको छ। यो महान् यात्रामा काँधमा काँध मिलाउने समितिका सदस्यहरू—पूँजी बजार विज्ञ नीरज गिरी, नेपाल धितोपत्र बोर्डका रूपेश केसी, नेपाल राष्ट्र बैंकका सुभाषचन्द्र घिमिरे, नेप्सेका मुराहरि पराजुली र सदस्य-सचिवको रूपमा महत्त्वपूर्ण भूमिका खेल्ने अर्थ मन्त्रालयका शरद निरौला— प्रति सिङ्गो लगानीकर्ता जगत् ऋणी छ।
उनीहरूले केवल प्रतिवेदन लेखेनन्, उनीहरूले त आगामी पुस्ताका लागि एउटा समृद्ध र सुरक्षित वित्तीय भविष्य लेखेका थिए। उनीहरूको त्यो विज्ञता, मेहनत र देशप्रतिको जिम्मेवारी बोधले नै आज २०८४ सालमा आइपुग्दा नेपाली पूँजी बजार विश्वको नजरमा एउटा 'उदीयमान तारा' बन्न सफल भएको छ। आजको यो डिजिटल र ग्लोबल नेप्से ती सात सारथिहरूको त्यही दूर दृष्टिको एउटा जीवन्त स्मारक हो।
धन्यवाद ती दुरद्रष्टाहरूलाई, जसले सपना देख्ने र त्यसलाई बिपनामा बदल्ने आँट गरे !
अब कल्पनाबाट बाहिर निस्कनुहोस् र नेप्सेको एप वा वेबसाइट खोल्नुहोस्। अहिलेको यथार्थ अवस्था चाहिँ यो हो।