यसअघि सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनौट गर्न आवेदन खुलाइएको थियो । जहाँ, १० वटा कम्पनीको आवेदन परेको थियो ।
आवेदन दिनेहरुमध्ये अधिकांश चिनियाँ कम्पनी रहेका छन् । छनौटका लागि आवेदन दिएका १० मध्ये ६ वटा त चिनियाँ कम्पनी नै रहेको आयोजनाले जनाएको छ । आवेदन दिनेहरुमा ६ वटा चिनियाँ कम्पनी, ३ वटा भारतीय र एक वटा टर्किस कम्पनीले नेपाली कम्पनीसँग संयुक्त उपक्रम(जेभी) मा काम गर्ने गरी आवेदन दिएका हुन् ।
सुरुङमार्ग सञ्चालन, मर्मत र टोल दस्तुर उठाउने जिम्मेवारीसहित आयोजनाले एकवटा सेवाप्रदायक छान्नेछ । प्राविधिक र आर्थिक मुल्यांकनबाट योग्य ठहरिएको कम्पनीले सेवा प्रदायकका रुपमा काम गर्नेछ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार, सेवा प्रदायक छनौटमा अधिकांश चिनियाँ कम्पनीहरुको आवेदन परेको छ । आवेदन दिने कम्पनीहरुमध्येबाट प्राविधिक र आर्थिक प्रस्तावमा उत्कृष्ट हुने एक कम्पनी छनौट गरिने उनले बताए । आगामी फागुनसम्म आवेदन दिएकामध्येबाट आर्थिक प्रस्ताव मुल्यांकन गरेर सेवा प्रदायक छान्ने लक्ष्य रहेको उनले बताए ।
यी हुन आवेदन दिने कम्पनी
आयोजनाले २०८२ कात्तिक २ मा सेवाप्रदायक छनौट गर्न पहिलो पटक आवेदन खुला गरेको थियो । यसमा अनुभवी सेवा प्रदायक कम्पनीहरुले आवेदन बुझाउन सक्ने व्यवस्था गरिएको थियो । आवेदन बुझाउने म्याद सुरुमा १७ डिसेम्बर कायम थियो । पछि, म्याद पुनः विस्तार गरी २०२६ जनवरी १४ अर्थात २०८२ पुस ३० गतेसम्म पुर्याइएको थियो ।
उक्त अवधिमा विभिन्न १० वटा कम्पनी तथा संयुक्त उपक्रम(जेभी) बाट आवेदन परेको छ । आवेदन दिनेहरुमा काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि र गान्सु हेङतोङ रोड एन्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेडको जेभी(काष्ठमण्डप–गान्सु हेङतोङ), कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालिको (केएसएनएस–अल्टिनोक–बीसीपीएल जेभी), सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड र स्वच्छन्द निर्माण सेवा प्रालिको जेभी (सेग्मेन्टल–स्वच्छन्द) जेभी रहेका छन् ।
यस्तै, बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स संयुक्त उपक्रम (बावरी कन्स्ट्रक्सन प्रालि, एसएक्सआरबी–ब्राइट बुल जेभी (सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड र ब्राइट बुल निर्माण सेवा), जेटीसीजी–दान्फे जेभी (जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि)र टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड) तथा ईएमएसएल–पीएससीपीएल जेभीले पनि आवेदन दिएका छन ।
कहिले आउँला सञ्चालनमा
अहिले आयोजनाको तेस्रो पटक थपिएको म्याद गुज्रिएर चौथो पटक ६ महिनाका लागि थपिएको म्याद आगामी २०८३ असार मसान्तमा सकिँदैछ । सुरुङमार्ग आयोजनाको सम्पूर्ण काम आगामी बैशाखभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने योजनाअनुसार नै काम भइरहेको सिनियर डिभिजनल इन्जिनियर पन्थीले बताए ।
उनले सुरुङमार्गको पश्चिम खण्डमा पहिरो रोक्नेलगायतका काम सुरु भइसकेका छन् । ती सहित बाँकी फिनिसिङका काम २–३ महिनाभित्र सम्पन्न हुने उनको भनाइ छ ।
४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु भएको सुरुङमार्ग निर्माण भने विभिन्न कारण ढिलाइ भइरहेको छ । नेपाल सरकारको ६ अर्ब र जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा सुरुङमार्ग निर्माण गर्न थालिएको थियो । हालसम्म आयोजनाको ९७ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।