यसबीचमा सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्री शेख हसिना र खालिदा जिया पालैपालाे प्रधानमन्त्री भएका थिए । यी दुई महिला नेत्रीले पटक–पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पछि अहिलेकाे निर्वाचनमा पुरुष प्रधानमन्त्री हुने निश्चित भएकाे हाे ।
बङ्गलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ । हालै सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानको नेतृत्वमा पार्टीले भारी बहुमत प्राप्त गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ३ सय संसदीय सिटमध्ये बीएनपीले हालसम्म २०९ सिटमा विजय हासिल गरिसकेको छ ।

यस जितसँगै तारिक रहमान बङ्गलादेशको आगामी प्रधानमन्त्री बन्ने पक्का भएको छ । देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताहरूले बिहीवार उत्साहपूर्वक मतदान गरेका थिए । यो निर्वाचन केवल नयाँ सरकार छनोटका लागि मात्र नभई देशको भविष्य र संवैधानिक सुधारका लागि पनि महत्वपूर्ण मानिएको छ ।
निर्वाचनसँगै जुलाई राष्ट्रिय बडापत्र सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो । जसले देशमा व्यापक संवैधानिक परिवर्तनको संकेत गरेको छ । यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । यद्यपि लामो समयसम्म सत्तामा रहेको शेख हसिना नेतृत्वको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कारण यस ऐतिहासिक प्रतिष्पर्धामा उनीहरूको उपस्थिति रहेन । यस परिणामले बङ्गलादेशमा नयाँ राजनीतिक युगको शुरुवात गरेको विश्लेषण गरिएको छ ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तारिक रहमानलाई त्यहाँको संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)लाई ‘निर्णायक’ विजय दिलाएकामा बधाई ज्ञापन गरेका छन् ।
“यो विजयले बंगलादेशका जनतामा तपाईंको नेतृत्वप्रतिको विश्वास देखाउँछ,” मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, “भारत लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा निरन्तर उभिनेछ ।”
उनले अगाडि भनेका छन्, “हाम्रो बहुआयामिक सम्बन्धलाई मजबुत बनाउन र साझा विकास लक्ष्य अघि बढाउन तपाईंसँग काम गर्न उत्सुक छु ।”
बंगलादेशका निम्ति अमेरिकी राजदूत ब्रेन्ट क्रिस्टेन्सेनले बिहीबारको निर्वाचनमा विजय दाबी गरेकामा बीएनपीलाई बधाई दिएका छन् ।
“बंगलादेशका जनतालाई सफल निर्वाचनका निम्ति र बंगलादेश नेसनलिस्ट पार्टी तथा तारिक रहमानलाई तपाईंहरूको ऐतिहासिक विजयका लागि बधाई,” क्रिस्टेन्सेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, “अमेरिका हाम्रा दुवै देशका निम्ति समृद्धि र सुरक्षाजस्ता साझा लक्ष्य प्राप्त गर्न तपाईंसँग काम गर्न उत्सुक छ ।”
तारिक रहमान नेतृत्वको बीएनपीले बिहीबार भएको आमनिर्वाचनमा बहुमत सिट जितेको दाबी गरेको छ । बीएनपीले अब नयाँ सरकार गठन गर्ने जनाएको छ ।