एक सातामा साढे १२ हजार बढ्यो सुनको मूल्य, ३ लाख भन्दा माथि नै रहला कि तल?

Feb 14, 2026 11:27 AM merolagani



पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले बढेको छ । 

गत माघ २३ गते शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य एक हप्तापछि अर्थात फागुन १ गतेसम्म आइपुग्दा प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एक हप्तामा सुनको मूल्य निरन्तर बढेको देखिन्छ । माघ २५ गते आइपुग्दा एकैदिन सुनको मूल्य ९ हजार ५०० रुपैयाँले बढेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, माघ २६ गते पुनः ३ हजार एक सय रुपैयाँले बढेर बजारमा सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, माघ २७ गते सुन प्रतितोला ३ लाख ५ हजार ५००, माघ २८ गते ३ लाख ६ हजार ६०० रुपैयाँ र माघ २९ गते ३ लाख ६ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।

यो हप्ता कुनै दिन एकैचोटी बढ्ने र घट्दै सुनको भाऊमा निरन्तर उतारचढाव आएको सुन व्यवसायी बताउँछन् । अन्तराष्ट्रिय रुपमा ठूला देशबीचको युद्ध र टकराब, विभिन्न मुलुकले सुनको सञ्चिति गर्ने र सुनमा लगानी गर्न थालेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली सुन बजारमा परेको महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार, आगामी दिनमा पनि सुनको मूल्यमा उतारचढाव आउनेछ ।