यी दुवै कम्पनीको शेयर आगामी २०८२ फागुन ४ गते देखि दोस्रो बाजारमा कारोबारका लागि खुल्ने नेप्सेले जनाएको छ ।
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड
रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । यसमध्ये संस्थापक शेयरधनीहरूको ८९.८६ प्रतिशत (१ करोड ७० लाख ७३ हजार ४ सय कित्ता) र सर्वसाधारणको १०.१४ प्रतिशत (१९ लाख २६ हजार ६ सय कित्ता) शेयर रहेको छ । काठमाडौँको कमलादीमा प्रधान कार्यालय रहेको यस कम्पनीको शेयर निष्कासन ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत गरिएको थियो ।
सालपा विकास बैंक लिमिटेड
त्यसै गरी, नेप्सेमा सालपा विकास बैंकको १०० रुपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण शेयर सूचीकृत भएको छ। सूचीकरण सम्झौताअनुसार यसमा संस्थापक सेयर धनीहरूको ६७ प्रतिशत (३५ लाख कित्ता) र सर्वसाधारण लगानीकर्ताहरूको ३३ प्रतिशत (१७ लाख २३ हजार ८८० कित्ता) सेयर स्वामित्व रहेको छ। खोटाङको दिक्तेलमा प्रधान कार्यालय रहेको यस बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको थियो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यी दुवै कम्पनीको शेयर सूचीकरण गर्ने निर्णय माघ २९ गते गरेको थियो। नेप्सेले यस अघि सूचीकरणको क्रममा दिने ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। यस अघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिने गरेकोमा अहिले त्यसलाई परिमार्जन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको छ। नेप्सेका अनुसार अबदेखि पोजेटिभ नेटवर्थ भए फेस भ्यालुको तीन गुणा दिइनेछ। यदि नेगेटिभ नेटवर्थ भए जति नेटवर्थ छ त्यसको तीन गुणा दिइने छ। उदाहरणको लागि १२० रुपैयाँ नेटवर्थ भए फेस भ्यालु एक सय मानेर तीन सय दिइने छ। यदि ९० रुपैयाँ नेटवर्थ भए त्यसको तीन गुणा हुन आउने २७० मात्रै दिइने छ।
परिमार्जित रेन्जका कारण रिलायन्सका शेयर धनीले पहिलो कारोबारमा घाटामा शेयर बिक्री गर्नु पर्ने छ। सालपाको हकमा भने घाटा हुने छैन। अब लगानीकर्ताहरूले आगामी फागुन ४ गते साेमबारदेखि यी दुवै कम्पनीको शेयर दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन्।