महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी, हिमाली तथा पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने महाशाखाको पूर्वानुमान छ।