यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।
सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन ।
शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति मानिन्छन्। शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । महाशिवरात्रीको दिन विधिपुर्वक शिवजीको पूजा गर्दा विभिन्न फल प्राप्त हुने विश्वांस गरिन्छ ।
भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय् गाँजा, भाङ, धतुरो घोट्टा आदिको सेवन गर्ने चलन छ । यो खाएपछी शिव खुशी हुन्छन् भन्ने मान्यता रहेको छ ।
शिवरात्री धार्मिक कारणले मात्र नभई नेपालको आर्थिक क्रियाकलापलाई चलायमान बनाउने महत्वपूर्ण पर्व पनि हो।
महाशिवरात्रिको अवसरमा देश–विदेशबाट हजारौँ श्रद्धालुहरू नेपालका पशुपतिनाथलगायतका प्रमुख शिव मन्दिरहरूमा दर्शन गर्न आउँछन्। विशेष गरी भारतबाट ठूलो संख्यामा पर्यटकहरु आउने गर्छन् । विदेशी पर्यटक तथा साधुसन्तहरूको आगमनले पर्यटन उद्योगलाई प्रत्यक्ष फाइदा पुर्याख्उँछ।यस्ले गर्दा नेपालको यातायात, होटल तथा रेष्टुराँलगायतका व्यवसायलाई आर्थिकरुपमा निकै ठूलो फाइदा हुने गरेको छ । नेपालमा शिवरात्रीमा कति पर्यटक आउने गर्छन्, त्यसको यकिन तथ्याँक नभए पनि त्यो झण्डै एकलाखभन्दा धेरै संख्यामा हुने र त्यसबाट करोडौंको व्यवसाय हुने गरेको सरोकारवालाहरु बताउंछन् ।
यो पर्वका दिन सार्वजनिक तथा निजी यातायात सेवा बढी सञ्चालन हुन्छन् । ट्याक्सी, बस, राइड–सेयर सेवा, होटल तथा लजहरू पूर्ण क्षमतामा चल्ने गर्दछन्। यसले सेवा क्षेत्रको आम्दानी उल्लेखनीय रूपमा बढाउँछ।
अर्काेतर्फ शिवरात्रिको समयमा फूल, बेलपत्र, धूप, दियो, फलफूल, दूध, मिठाइ, कपडा आदि सामग्रीको माग अत्यधिक बढ्छ। यसले साना व्यवसायी, किसान र खुद्रा व्यापारीलाई आम्दानी बढाउने अवसर प्रदान गर्छ। अस्थायी पसलहरू, सडक व्यापार र मेला व्यवस्थापनले स्थानीय रोजगारी सिर्जना गर्दछ।
महाशिवरात्रिले धार्मिक आस्था सुदृढ बनाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक संरक्षण र सामुदायिक सहकार्यलाई पनि बढावा दिन्छ। यसरी, यो पर्व केवल आध्यात्मिक पक्षमा सीमित नभई आर्थिक विकासको एउटा महत्वपूर्ण आधारसमेत बनेको छ।