अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष (आ.व.) को ६ महिनाको अवधिमै १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व व्यहोर्न छुट्याएको थियो, जसमध्ये ४५ दशमलव ५३ प्रतिशत बजेट खर्च भइसकेको छ।
अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा आन्तरिक ऋणतर्फ साँवा १ खर्ब २६ अर्ब ७६ करोड र ब्याज २८ अर्ब ३७ करोड गरी जम्मा १ खर्ब ५५ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ।
बाह्य ऋणतर्फ साँवा २६ अर्ब १३ करोड र ब्याज ५ अर्ब ८५ करोड गरी जम्मा ३१ अर्ब ९९ करोड रुपैयाँ भुक्तानी गरिएको छ।
पछिल्लो एक दशकमा सार्वजनिक ऋण करिब छ गुणाले बढेको छ। एक दशकअघि ५ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ पुगेको थियो। त्यसयता पनि सार्वजनिक ऋण निरन्तर बढ्दो क्रममा छ।
आर्थिक वर्ष २०८१/८२ मा साँवा र ब्याज गरी कुल ३ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको थियो। उक्त खर्चमध्ये ऋणको साँवा भुक्तानीमा मात्रै २ खर्ब ९१ अर्ब १९ करोड र ब्याज भुक्तानीमा ७० अर्ब ४४ करोड रुपैयाँ खर्च भएको थियो।
सोमध्ये आन्तरिक ऋणको साँवा भुक्तानी २ खर्ब ४३ अर्ब ५१ करोड र वैदेशिक ऋणतर्फ ४७ अर्ब २८ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ। कुल ब्याज भुक्तानीमध्ये आन्तरिक ऋणको ब्याज ६० अर्ब २७ करोड र वैदेशिक ऋणको ब्याज १० अर्ब १६ करोड रुपैयाँ रहेको छ।