चुनावमा देखिएको रमिता, उम्मेद्वार नै अर्काे पार्टी प्रवेश गर्ने होडवाजीको पछाडिका दुई रहस्य

Feb 18, 2026 11:06 AM mero lagani



केही दिन पछि हुन लागेको चुनाव प्रचारले गति लिइरहेको बेला एउटा पार्टीका उम्मेद्वारले अर्काे पार्टीलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी निष्क्रिय पार्ने क्रम बढेको छ ।

निर्वाचन आयोगले उम्मेद्वारी फिर्ताको समयमा फिर्ता नलिएका र निर्वाचनको प्रकृया अगाडि बढेपछि उम्मेद्वारी फिर्ताको घोषणा गरेकाहरुको उम्मेद्वारी कानुनीरुपमा कायम रहन्छ । मतपत्रमा पनि उनीहरुको चुनाव चिन्ह रहन्छ र उनीहरुको चिन्हमा परेको मत बदर मत हुँदैन । तर, सम्वन्धित उम्मेद्वारले नै ‘म उम्मेद्वार होइन, फलनालाई भोट दिनुस’ भन्दै मतदातासंग मत माग्ने भएकोले त्यस्तो चुनाव चिन्हमा मत पर्ने सम्भावना भने निकै कम हुन्छ । उम्मेद्वारी फिर्ताको समयपछि सम्वन्धित उम्मेद्वारले नै ‘म उम्मेद्वार होइन है’ भन्दै घोषणा गर्नुलाई उम्मेद्वारी निस्क्रिय रहेको मानिन्छ ।


पछिल्लो पटक पश्चिम नवलपरासी क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार विनोद रेग्मीले उम्मेदवारी त्याग्दै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनले जारी गरेको प्रेस विज्ञप्तिमा रेग्मीले आफू चुनावी मैदानबाट अलग्गिएको जानकारी दिँदै फागुन २१ को आम निर्वाचनमा कांग्रेसको पक्षमा उभिने निर्णय गरेको उल्लेख गरेका छन् ।

यस अघि डोल्पा, अछाम, रुपन्देही, धनुषामा पनि यसै गरि एउटा पार्टीबाट उम्मेद्वार भएर प्रचार प्रसार गरिरहेका उम्मेद्वारले हठातरुपमा आफ्नो उम्मेद्वारी निष्क्रिय पारेको घोषणा गर्दै अर्काे पार्टीका उम्मेद्वारलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

केही दिन अघि डोल्पामा मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेकी जुनु भण्डारी कांग्रेस प्रवेश गरेकी  छन् । डोल्पाबाटै उज्यालो नेपाल पार्टीका उम्मेदवार दिलबहादुर विष्ट पनि कांग्रेस प्रवेश गरेका छन् ।

त्यस्तै सोमबार रुपन्देही क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार श्रीनिवास यादवले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा एमालेमा समाहित भएको घोषणा गरेका थिए । जसपा नेपालको केन्द्रिय सदस्यसमेत रहेका उनले ‘देश, जनता र राष्ट्रप्रति बफादार बन्दै’ आफ्नो उम्मेद्वारी निष्क्रिय पारेर एमाले प्रवेश गरि एमाले उम्मेद्वार बासुदेव घिमिरेलाई विजयी गराउने अभियानमा सहभागि भएको घोषणा गरेका हुन् ।

यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न आह्वान गरेका छन्।

उता, अछाम क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

त्यस्तै राष्ट्रिय मुक्ति, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको साझा उम्मेदवारको रूपमा धनुषा क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका राजिव झा आफ्नो उम्मेद्वारी निस्क्रिय पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । उनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष थिए ।

चुनावको बेला नेता कार्यकर्ताहरुले एउटा पार्टी छोडेर अर्काे पार्टी प्रवेश गर्नु सामान्य हो । यस्तो घटना नेपालमा मात्र होइन, हरेक लोकतान्त्रिक देशमा हुन्छ ।

तर, अहिले जसरी उम्मेद्वारी दर्ता भएर चुनाव प्रचार प्रसार पनि उत्कर्षमा पुगिरहेको बेला उम्मेद्वारले नै पार्टी परित्याग गर्ने, अर्काे पार्टीका उम्मेद्वारलाई समर्थन गर्ने लहर भने यस अगाडि देखिएको थिएन । नेपालमा मात्र होइन, अन्य देशहरुमा पनि यस्ता घटना विरलै हुने गर्छन् ।

वास्तवमा उम्मेद्वारहरु नै आफ्नो उम्मेद्वारी निष्क्रिय पारेर यसरी अर्काे पार्टीलाई किन समर्थन गर्छन् ? त्यसको पछाडि मुख्य २ वटा कारण रहेको विश्लेषकहरु बताउंछन् । पहिलो कारण शुरुमा हौसियर उम्मेद्वारी दिने तर प्रचार प्रसार शुरु भएपछि आफ्नो पक्षमा माहौल नदेखेपछि हार्नु भन्दा आफू नजिकको कुनै उम्मेद्वारलाई समर्थन गर्नु ठीक भन्ने सोंचेर पनि कतिपय अवस्थामा उम्मेद्वारी फिर्ता लिइन्छ ।

तर, त्यो भन्दा पनि महत्वपूर्ण कारण भने आर्थिक र पदिय चलखेल हो । कतिपय उम्मेद्वारहरुले आफ्नो पक्षमा यति भोट रहेको भन्दै अर्काे पार्टीको उम्मेद्वारसंग वार्गेनिङ गरेर उम्मेद्वारी फिर्ता लिने शर्तमा रकम असुल्ने वा अर्काे कुनै महत्वपूर्ण पदमा नियुक्तिको लागि सम्झौता गर्ने गरेको हुन सक्ने विश्लेषकहरु बताउंछन् ।

अहिले उम्मेद्वारी फिर्ता लिएर अर्काे पार्टीलाई समर्थन गर्ने धेरै जनाको कार्यशैली र पृष्ठभूमी हेर्दा पनि त्यो कुरा पुष्टि हुने देखिन्छ । जस्तो कि उज्यालो नेपालबाट उम्मेदवारी दर्ता गरेका दिलबहादुर विष्ट उम्मेद्वारी निस्क्रिय पार्दै कांग्रेस प्रवेश गरे । विष्ट तिनै व्यक्ति हुन् जो २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिएको भन्दै तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए । अहिले पनि माओवादीबाटै टिकटको आस गरेका उनलो टिकट पाउने सम्भावना नदेखेपछि उज्यालो नेपाली पार्टी प्रवेश गरेर उम्मेद्वार बनेका थिए । तर, प्रचार प्रसार शुरु गरेकै समयमा अचानक उनी कांग्रेस प्रवेश गरेका छन् ।

त्यस्तै रुपन्देही ३ मा जसपा नेपालको उम्मेद्वारी निष्क्रिय पारेर एमाले प्रवेश गरेका यादव यसअघि २०७४ सालको निर्वाचनमा क्षेत्र नं. ४ बाटै नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा पराजित भएका थिए । यसपटक भने नेपाली कांग्रेसले टिकट नदिएपछि उनी जसपा नेपाल प्रवेश गरेर उम्मेदवार बनेका थिए । तर निर्वाचन नजिकिँदै जाँदा उनी उम्मेदवारी नै रद्द गरेर एमाले प्रवेश गरेका हुन् । उनी एमालेमा पनि कति समय रहन्छन् भन्नेमा एमालेका जिल्ला नेताहरु नै आश्वस्त छैनन् । तर, चुनावको मुखमा क्षेत्रको राजनीतिमा प्रभाव पार्ने कुनै उम्मेद्वारले ‘म पछि हटेर तपाईहरुलाई समर्थन गर्छु, पार्टी प्रवेश गर्छु’ भन्दा अस्वीकार गर्ने कुरै भएन । उनको भर छैन, तर उनको साथले चुनाव जित्न सहयोग पुग्ने अवस्था छ’ एमाले रुपन्देहीका एक नेताले मेरो लगानीसंग भने ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।