घोषणापत्रमा राखिएका शेयर बजारका एजेण्डाकाे कमाल,बङ्गलादेशमा निर्वाचनपछि 'बुलिश' ट्रेन्ड

Feb 17, 2026 04:41 PM merolagani



सुवास निरौला 

बङ्गलादेशमा हालै सम्पन्न १३औँ आम निर्वाचन (फेब्रुअरी २०२६) पछि त्यहाँको पूँजी बजारमा नाटकीय सुधार देखिएको छ।  उपलब्ध पछिल्लो तथ्याङ्क र चार्टलाई विश्लेषण गर्दा, त्यहाँको स्थानीय शेयर बजारले विगत ५ वर्षको ऋणात्मक ट्रेन्डलाई तोड्ने प्रयास गरिरहेको छ। 

पछिल्लो ३ महिनामा बङ्गलादेशको शेयर बजार १३.०९ प्रतिशतले बढेको छ। त्यस्तै, निर्वाचनको नतिजा सार्वजनिक भएपछिको १ महिनामा मात्रै बजारमा ८.८९ प्रतिशतको फराकिलो वृद्धि देखिएको छ। पछिल्लो कारोबार दिनमा मात्रै सूचक १.६६ प्रतिशत (८७.९९ अंक) ले बढेर ५,३९९.९४ बिन्दुमा पुगेको छ। यो तथ्याङ्कले के पुष्टि गर्छ भने, लगानीकर्ताहरूमा नयाँ सरकारप्रति ठुलो भरोसा गर्न थालेका छन्।

लामो समयदेखि शिथिल रहेको ढाका स्टक एक्सचेन्ज (डिएससि)मा आएको यो सुधार केवल एउटा संयोग मात्र नभई राजनीतिक परिवर्तन र आर्थिक सुधारको आशाको प्रतीकको रुपमा हेर्न थालिएको छ। रोचक कुरा के छ भने, बजार निर्वाचनपछि मात्र बढेको होइन, बरु निर्वाचन हुने निश्चित भएपछि र नयाँ सरकारको नीतिगत स्पष्टता देखिएसँगै निर्वाचन अघिदेखि नै बजारमा बिस्तारै सुधारका सङ्केतहरू देखिन थालेका थिए।

बजारमा यसरी उत्साह आउनुको मुख्य श्रेय बङ्गलादेश नेश्नलिष्ट पार्टी (बिएनपि) नेतृत्वको नयाँ सरकारले निर्वाचन अघि आफ्नो घोषणापत्रमा अघि सारेका शेयर बजार केन्द्रित एजेन्डाहरूलाई जाने त्यहाँ स्थानीय सञ्चार माध्यमले लेखेका छन्। नयाँ सरकारले शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा स्वीकार गर्दै यसको पुनर्संरचनाका लागि ठोस योजनाहरू अघि सारेको थियो। घोषणापत्रमा समावेश प्रमुख बुँदाहरूमध्ये 'फ्लोर प्राइस' को पूर्ण अन्त्य गर्नु एक थियो।  (जब बजारमा भारी गिरावट आउँछ र लगानीकर्ताहरू अत्तालिएर शेयर बेच्न थाल्छन् (प्यानिक सेलिङ), तब बजारलाई पूरै क्र्यास हुनबाट जोगाउन नियामकले 'फ्लोर प्राइस' तोक्छ।  'फ्लोर प्राइस' तोकिएको शेयर मूल्य त्यस भन्दा तल कारोबार गर्न पाइँदैन।  बङ्गलादेशमा कोभिड-१९ को समयमा र पछि रुस-युक्रेन युद्धका कारण बजार निकै घटेपछि लगानीकर्ताको सम्पत्ति जोगाउन यो व्यवस्था लागू गरिएको थियो)। तर विगतको सरकारले शेयरको मूल्य कृत्रिम रूपमा नियन्त्रण गर्न लगाएको फ्लोर प्राइसका कारण कारोबार भने ठप्प भएको थियो। नयाँ सरकारले यसलाई हटाएर बजारलाई माग र आपूर्तिको प्राकृतिक सिद्धान्तमा छाड्ने प्रतिबद्धता जनाएपछि विदेशी र संस्थागत लगानीकर्ताहरू पुनः बजारमा फर्किएका छन्।

यसका साथै, शेयर बजारको नियामक बङ्गलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनलाई राजनीतिक हस्तक्षेपमुक्त र पूर्ण स्वायत्त बनाउने, राम्रा र नाफामा रहेका सरकारी कम्पनीहरूको थप शेयर (आइपिओ) निष्कासन गरी बजारको पूँजीकरण बढाउने र साना लगानीकर्ताको सुरक्षाका लागि कडा नियमनकारी व्यवस्था लागू गर्ने जस्ता एजेन्डाहरूले लगानीकर्तालाई आकर्षित गरेको सञ्चार माध्यमहरूले लेखेका छन्। यी नीतिगत प्रतिबद्धताहरूले बजारमा विश्वासको वातावरण सिर्जना गर्‍यो। जसका कारण दैनिक कारोबार रकम (टर्न ओभर)मा पनि भारी उछाल आएको छ। निर्वाचन अघि दैनिक ४००–५०० करोड टाकामा खुम्चिएको कारोबार रकम निर्वाचन लगत्तै १,२७५ करोड टाका नाघ्यो। जुन पछिल्लो ५ महिनाकै उच्च हो।

बजारको यो बढोत्तरीमा अर्को एउटा महत्त्वपूर्ण पाटो 'राजनीतिक प्रभाव' पनि देखिएको छ। निर्वाचनमा विजयी भएका र नयाँ मन्त्रीमण्डलमा शक्तिशाली भूमिका पाउने निश्चित भएका नेताहरूसँग सम्बन्धित व्यावसायिक घरानाका कम्पनीहरूको शेयर मूल्यमा 'अप्पर सर्किट' लाग्ने गरी वृद्धि भइरहेको छ। विशेष गरी, नयाँ सत्ता समीकरणसँग निकट मानिने सामिट ग्रुप, युनाइटेड ग्रुप र ब्यासिन्को जस्ता ठुला व्यावसायिक समूहका शेयरहरूमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। यद्यपि ब्यासिन्को विगतको सत्तासँग नजिक भए पनि, यसका ठुला परियोजना र उद्योगहरूको निरन्तरताको सुनिश्चितता खोज्दै बजारले यसलाई सकारात्मक प्रतिक्रिया दिएको छ। त्यसै गरी, नयाँ सरकारका प्रभावशाली नेताहरूको प्रत्यक्ष संलग्नता रहेका बैंक र वित्तीय संस्थाहरूको शेयर मूल्यमा पनि १० प्रतिशतसम्मको वृद्धि देखिएको छ।

बङ्गलादेशको शेयर बजारमा देखिएको यो 'रिलिफ र्‍याली'ले लगानीकर्तामा लामो समयपछिको खुसीयाली त ल्याएको छ। तर यसको दिगोपन नयाँ सरकारको कार्यसम्पादनमा निर्भर रहनेछ। चार्टले देखाएको १३ प्रतिशतको ३ महिने वृद्धि एउटा सकारात्मक प्रस्थान बिन्दु हो। यदि नयाँ सरकारले आफ्नो घोषणापत्रमा उल्लेख गरे अनुसार 'फ्लोर प्राइस' को अन्त्यपछिको तरलता व्यवस्थापन र नियामक निकायको सुधारलाई इमानदारीपूर्वक कार्यान्वयन गर्‍यो भने, बजारले चाँडै नै ६,००० अंकको ऐतिहासिक बिन्दुलाई पछ्याउने सम्भावना देखिन्छ। 




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।