उक्त स्क्याण्डलमा नाम जोडिएपछि अरब क्षेत्रकै सबैभन्दा प्रख्यात कम्पनी मानिने दुबईको डीपी वर्ल्डका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुल्तान बिन सुलेयामले राजिनामा दिएका छन् । राजिनामाले मात्रै नपुगेर उनीमाथि कारवाही हुनु पर्ने आवाज उठिरहेको छ ।
सार्वजनिक गरिएका इमेलहरूमा सुल्तान अहमद बिन सुलायेम र जेफरी एपस्टीनबीच धेरै पटक सुन्दर युवतीहरु र उनीहरुसँगको सेक्स सन्दर्भहरुको बारेमा उल्लेख गरिएको छ । साथै कतिपय इमेलमा त्यस्ता युवतीहरुको शारिरिक बनावटको चर्चा गर्दै उनीहरुलाई ‘व्यापक प्रशिक्षण कार्यक्रम’ को आवश्यकता रहेको उल्लेख छ । इमेलमा उल्लेखित ‘व्यापक प्रशिक्षण कार्यक्रम’ भनेको के हो भन्ने स्पष्ट नभए पनि त्यस्को अर्थ ती महिलाहरुसँग अधिकतम यौन सम्पर्क गरेर उनीहरुलाई त्यस्को लागि अभ्यस्त बनाउनु भन्ने रहेको विविसीले उल्लेख गरेको छ ।

सन् २०१५ को एक इमेलमा सुलेयमले एपस्टिनलाई भनेका थिए,रुस सबै सुन्दर महिलाको स्रोत हो । मलाई ती महिलाहरुको बीचमा रहन मन पर्छ । साथै उनले एपस्टिनलाई अश्लिल र नश्लवादी ‘जोक्सहरु’ पनि सुनाएका थिए ।
जबकी सुलेयम विवाहित थिए र दुई पत्नीहरूको साथै कैयौं सन्तानहरु जन्मिसकेका थिए ।
के हो एपस्टिन सेक्स स्क्यान्डल ?
जेफ्री एपस्टाइन एक अमेरिकी लगानीकर्ता तथा दोषी प्रमाणित यौन अपराधी थिए । उनीमाथि नाबालिग केटीहरूमाथि यौन शोषण, तस्करी र अन्य अपराधको आरोप लगाइएको थियो । उनी सन् २०१९ मा अमेरिकी जेलमा रहस्यमय ढंगले मृत भेटिएका थिए, जसलाई आत्महत्या भनिए पनि कतिपयले षड्यन्त्र ठानेका छन् ।
पछिल्लो पटक सार्वजनिक भएको यो काण्डको सुरुवात सन् २००५ बाट भएको थियो, जब फ्लोरिडाकी एक १४ वर्षीया बालिकाकी आमाले प्रहरीमा उजुरी दिइन् । एपस्टिनले आफ्नो बंगलामा ‘मसाज’ गर्ने बहानामा बालिकाहरूलाई बोलाउने र उनीहरूको यौन शोषण गर्ने गरेको खुलासा भयो । सार्वजनिक गरिएका नयाँ दस्ताबेजहरूमा ‘बेबी मसाज ट्रेनिङ’ सम्बन्धी निर्देशिकाहरू भेटिएका छन् । यसमा बालिकाहरूलाई कसरी ग्राहकहरूलाई मसाज गर्ने र कसरी यौन गतिविधिमा संलग्न गराउने भन्नेबारे निर्देशन दिइएको छ । एपस्टिनले आफ्ना कोठाहरूमा गोप्य क्यामेराहरू जडान गरेका थिए, जसको उद्देश्य सम्भवतः शक्तिशाली व्यक्तिहरूलाई ब्ल्याकमेल गर्नु थियो।
प्रहरी अनुसन्धान बढ्दै जाँदा यो कुनै एउटा घटना मात्र नभएर एउटा ठूलो सञ्जाल रहेको पाइयो । एपस्टिन र उनकी प्रेमिका घिसलिन म्याक्सवेलले गरिब र असहाय नाबालिग बालिकाहरूलाई मोडलिङ, सपिङ र फिल्मको लोभ देखाएर फसाउने गर्थे । उनले आफ्नो निजी विमान ‘लोलिता एक्सप्रेस’ मार्फत बालिकाहरूलाई आफ्नो निजी टापु ‘लिटिल सेन्ट जेम्स’ पुर्यारउँथे, जहाँ विश्वका प्रभावशाली व्यक्तिहरूको उपस्थितिमा यौन पार्टीहरू आयोजना गरिन्थ्यो ।
प्रहरीले अनुसन्धान गरेर पनि लामो समय गोप्य राखेको यो फाइल क्रमिकरुपमा केही समय अगाडिदेखि सार्वजनिक गर्न थालिएको छ । अहिलेसम्म यो फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन,बेलायती राजकुमार प्रिन्स एन्ड्रयू जस्ता प्रभावशाली व्यक्तिहरुको नाम मुछिएको छ । यही प्रकरणमा मुछिएपछि प्रिन्स एन्ड्रयूको शाही उपाधी खोसिएको छ र उनी छानबिनमा तानिएका छन् ।
त्यस्तै दिवंगत पप स्टार माइकल ज्याक्सन र चर्चित प्रस्तोता ओप्रा विन्फ्रे पनि एपस्टिनसँगका तस्बिरहरूमा देखिएका छन् ।
उद्यमी व्यवसायीहरुमा विश्वकै सर्वाधि धनी एलोन मस्कदेखि माइक्रोसफ्टका संस्थापक बिल गेट्स र गुगलका सर्गेई ब्रिन, फ्रान्सका व्यवसायी जीन लुक फेरे पनि यो काण्डमा तानिएका छन् भने पछिल्लो समय दुबईको डीपी वर्ल्डका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुल्तान बिन सुलेयामले पनि यही प्रकरणमा संलग्न रहेको पुष्टि भएपछि राजिनामा दिन वाध्य भएका छन् । उक्त प्रकरणका फाइलहरु खुल्ने क्रम जारी रहेकोले अरु उद्यमी व्यवसायीहरु पनि तानिन सक्ने सम्भावना रहेको बताइन्छ।