गरिमा क्यापिटलले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने

Feb 23, 2026 09:00 AM Merolagani



गरिमा क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले गरिमा सुवर्ण योजना निष्काशनमा ल्याउन लागेको हो।

सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ। यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँबराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

यो एक खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई यस पश्चात सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिद बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ।

सो योजनाको इकाईका लागि फागुन २८ गतेदेखि आवेदन दिन सकिनेछ। उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा चैत १२ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।