यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२५ अंक बढेको छ।
नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ९३ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३९.४२ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ४१.७७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३३.९० प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.४८ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २१ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत बढेको छ। गत साता १२ हजार ६०१.६१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २३५.७० अंक बढेर १२ हजार ८३७.३१ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको छ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ। गत साता ३७४०.८९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १००.४४ अंक घटेर ३६४०.४५ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

यस साता ३ कम्पनीको ८० लाख ५८ हजार ६१५.७९ कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता गुराँस लघुवित्त वित्तीय संस्था, सिटिजन्स बैंक इन्टरनेशनल र बरुण हाइड्रोपावर कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता सालपा विकास बैंकको शेयरमूल्य सर्वाधिक ६१.०२ प्रतिशत बढेको छ। गत साता ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता ५८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब ५७ प्रतिशत बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ। यस साता बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १०.९० प्रतिशत घटेको छ। त्यसैगरी, यस साता रिडी पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता स्ट्याण्डर्ड चार्टर्ड बैंक, सालपा विकास बैंक, मेगा म्युचुअल फण्ड १ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने विशाल बजार कम्पनी, नाडेप लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

